Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

गाउ रित्तियो, सहर पनि रित्तिदैछ

बैकुण्ठ भण्डारी

१९ बुधबार , बैशाख २०८१२ महिना अगाडि

गाउ रित्तियो, सहर पनि रित्तिदैछ

“बोल्ने कोही छैन, गाउँमा बोल्ने छैन, पाहुना आउँदा, घरकोढोका खोल्ने कोही छैन”
यो गीत र नेपालीको घर–समाज उस्तै छ । क्या कालजयी गीत ।
कवि अर्जुन पराजुलीका शब्दमा शिशिर योगीले मर्मस्पर्शी ढंगले गाएको गीत सुनेर मुग्लाङ भाँसिएको अनागरिक मट्याङ्ग्रोको आँखाभरी आँशु भरिएको छ । देशमा लोकतन्त्र ल्याउनका लागि सडक संघर्षमा उत्रिएको मट्याङ्ग्रोले २०६२ बैशाख ११ गते लोकतन्त्र स्थापना गरिरहँदा निकै नै उत्साहित थियो । अव त मज्जाले युवाहरूले देशमै काम पाइन्छ । तानाशाह, चाकडी, चाप्लुसीले धोका खाने छ, कर्मशील, इमान्दारको दिन लोकतन्त्रल फिराउने छ भन्ने थियो । 
तर उसको सपनाले नै धोका खायो । आँखामा आँसु टिलपिलाउँदै मुग्लाङ्मा भेंडा चराउँदै गरेको मट्याङ्ग्रो जव वैशाख ११ आउँछ तव आफ्नो गाउँ सम्झन्छ । राजनीतिक परिवर्तन गर्दै जनताको मुहार फेर्न हिंडेको फूर्ति गर्ने मट्याङ्ग्रो आफ्नै हालत देखेर दुःखित भएको छ । पीडित भएको छ ।
अहिले मट्याङ्ग्रोले समुद्रपारी बालुवाको रापमा आँशु चुहाउँदै गाउँ सम्झिएको छ । लोकतन्त्र गणतन्त्रलाई स्मरण गर्दै छ । भव्य रूपमा लोकतन्त्र दिवस मनाए होलान् भन्ने आशामा पनि छ । तर सत्तामा बस्नेहरूले लोकतन्त्र दिवस मनाउन पनि निकै कञ्जुस्याँई गरेका छन् । दिवस मनाउने भनेको सार्वजनिक विदा दिनु होइन । दिवसलाई स्मरण गर्न सक्थे तर त्यो पनि भएन । 
आधुनिक प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जाल नियाल्दै गरेको मट्याङ्ग्रोले कहिं कतैपनि लोकतन्त्रको कुरा देखेन । बरू केही बज्रस्वाँठहरूको हावादारी गफले शहर चर्कारहेको भिडियो भाईरल बनिरहेको देख्यो । आफैले आफैलाई धिक्कार्दै थियो । पाटी, राजनीति, देश परिवर्तन त केवल सपना मात्र रहेछ । गाउँ छाडेर शहर छिरेको छोरो, शहरबाट पनि पलायन भएर अनागरिक बनिरहेको छ । कस्तो दुर्भाग्य आयो नि ।
प्रजातन्त्र प्राप्त गरेको सत्तरीको दशकसम्म पनि नागरिकहरूको मुहारमा उज्यालो छैन । खुशी छैनन् नेपाली जनता । लाखौं मट्याङ्ग्रोहरू समुद्रपारी निर्यात भईरहेका छन् । गाउँ रित्तिएको छ । भएका बुढापाकाहरूसँग पनि बोल्ने मान्छे छैन । छोराहरू खाडी भाँसिए, छोरी वुहारी नर्सिङ्ग कि तर्सिङ्ग भन्दै अष्ट्रेलिया, इजरायल लगायत मान्छे स्यहार्न लम्किए । कति त गाउँको उजाडलाई हेर्न नसकेर शहरमा रेमिट्यान्सले छोरा छोरी पढाउने भन्दै उतै वन्द कोठामा मस्त देखिए । 
तर गाउँ गाउँ नै छ । हराभरा खेती हुने, लटरम्म फलफूल झुल्ने डाँडा पाखा उजाड देखिए । तीन तहको सरकार छ भन्थे खै कहाँ छ कसैले देखेन । बरू त्यही सामाजिक सञ्जालमा शहरमा भएका अभद्र कुराहरू मात्र देखिए । परिवारको विखण्डन । सामाजिक मूल्य र मान्यतामाथि खै के के बज्रिए । 
गाउँबाट शहर अनि शहरबाट समुद्रपारी । देशमा बस्छु भन्ने नै कोही छैन । जनताको सेवा गर्छु भन्दै राजनीतिमा हामफालेकाहरू त्यसलाई नै व्यापार बनाईदिए । राजनीति विना लगानीको व्यापार बन्यो । त्यसैले पनि गाउँको विकास हुन सक्दैसकेन । सत्तरी वर्षको प्रजातन्त्रमा जनताको नफेरिएको मुहार अहिले फेरिने त कुरै छैन । १८ वर्षे लक्का जवान भएका छोराछोरी बाह्र कक्षा सकिन नपाउँदै विदेश चिहाईरहेका छन् । बाबु आमा भने सारा सम्पत्ति बेचेर उतै पठाईरहेका छन् । आँखामा आँशु लिएर मन्द मुस्कान देखाएर छोराछोरी विदेश पलायन गरिरहेका छन् । 
त्यही भएरै होला आजकल गाउँमा कोही भेटिँदैन । भेटिएकाले पनि कसैलाई चिन्दै चिन्दैन । किनकि युवा छैनन् । सायद मट्याङ्ग्रो अव गाउँ फर्कदा उसले आफ्नो गाउँ पाउने छैन । गाउँ त खण्डहर बनाइदिइसके । सत्ताको स्वाद लिन पल्केकाहरूले गाउँलाई ध्वस्त बनाईदिईसके । सायद पुर्खाले जसरी सुम्पेका थिए त्यो सुम्पने मान्छे पनि छैन । हराउँदै गएको मनमा विदेशी इशारामा राजनीति गर्नेहरू कै कारण आज प्रत्येक घर रित्तो भएको छ । छानो भत्किएको छ । खेतबारी बाँझो छ भनि भकारी रित्तिएर अन्तैबाट अन्न ल्याउनु परेको छ भीख मागेर । 
०७ सालको परिवर्तनका लागि लडेका मट्याङ्ग्रोहरूले के के गुमाए के के पाए थाहा छैन । तर १७ वर्ष अघि लोकतन्त्र ल्याउनेहरूले भने धेरै पाए । मात्र आफ्ना युवा पुस्ता गुमाए । अस्तित्व गुमाए अनि विचार, सिद्धान्तलाई बलि चढाए । सायद १७ बर्षे लोकतन्त्रलाई विर्षिएका कांग्रेस, एमाले र माओवादीहरूले अर्को १७ वर्षपछि आफ्नो इतिहास नै गुमाई सक्ने छन् । विदेशीको गुलाम गर्न खेदेका युवा पुस्ता कै कारण यिनीहरू ढिलोचाँडो खेदिने छन् । अहिले सत्ता मात्र सम्झिरहेकाहरूलाई यो देशले नै भुलिदिने छ । 
यहाँ छ फिरङ्गीहरूले राज गर्ने छन् । जसरी देशको नीति बनाउने राजनीतिमा २००७ सालमा प्रजा परिषद्ले योगदान गरेको थियो र विर्षियो देशलाई । त्यस्तै हविगतमा एमाले कांग्रेस माओवादी पुग्ने छन् । युवा पुस्ताबाट खेदिन शुरू गरेका दिन देश विगार्ने ठेकेदारहरूलाई राजनीतिक विचौलियाले नै ठेगान लगाउने छन् । लगाईरहने छन् । 
अहिले नै हेर्ने हो र लोकतन्त्र दिवस अनि उपनिर्वाचनलाई मूल्यांकन गर्ने  पुराना पुस्तालाई स्वीकार गर्न तत्पर छैन नयाँ पुस्ता । नयाँ पुस्तोका भावनामाथि खेलवाड गरिरहेका र चल्दै जान्छ भन्ने भिखारी सोच लिएकाहरूले आफ्ना सन्तानहरूका लागि त गरे निकै गरे होलान् तर जनता र देशलाई पनि पाइला पाईलामा धोका दिईरहेका छन् । उनीहरू सोचिरहेका छन्– हामीले त धोका दिएकै हो । आफ्नो स्वार्थ पूरा गरेकै हो । त्यो धोका र स्वार्थले पुस्ता बिग्रिएको, मुटु चुँडिरहेको यिनलाई पत्तै छैन । 
अहिले जसरी गाउँमा कोही भेटिँदैन, त्यसैगरी विस्तारै सदरमुकार र शहरमा पनि नेपाली युवा भेटिन मुश्किल पर्ने छ । यहाँ तिनै ठेकेदारले बाँडेका नागरिकताधारीहरूले नै रजगज गर्ने छन् । अनि शहर कसैको गुलाम बन्ने छ । त्यसबेला न त कांग्रेससँग शक्तिशाली कार्यकर्ता हुने छ न त एमाले वा माओवादीसँग नै । विगतमा जसरी एउटा वाद र विचार वोकेर राष्ट्रियता र देशको मुहार परिवर्तन गर्न खोज्ने युवा पुस्ता राज्यले गुमाईसकेको हुनेछ । 
मट्याङ्ग्रोहरू अनागरिक कै रूपमा भएपनि त्यही समुद्रपारी बसेर गाउँमा ताल्चा मारिएको घर, बुढा बा आमा सम्झने र अहिलेका दलहरूलाई लोकतन्त्रकै नामम धिक्कार्ने वाहेक केही गर्न सक्ने छैनन् । त्यसैले मट्याङ्ग्राहरूको आँखामा आँशु होइन हाँसो र खुशी ल्याउन राज्य चलाउनेहरूले ध्यान दिऊन् ।