Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

को छ समाजवादी, को छ सर्वहारावादी ?

राजन कार्की

०४ मंगलबार , बैशाख २०८१७ महिना अगाडि

को छ समाजवादी, को छ सर्वहारावादी ?

कांग्रेस, एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्रपार्टी लगायतका राष्ट्रिय पार्टीहरू आफूलाई समाजवादी, सर्वहारावादी, प्रजातन्त्रवादी भन्छन् । के साच्चै यी पार्टीहरू समाजवाद, सर्वहारावाद, प्रजातन्त्रवादमा उभिएका छन् त ?
खरा बिश्लेषकहरू भन्छन्– नेपालमा कुनै नेता सिद्धान्तनिष्ठ छैनन् । माओवादी कांग्रेसको कोठामा भातभान्छा गरिरहेको देखिन्छ, कांग्रेस सर्वहारावादीलाई काँध थापेर हिडेको देखिन्छ । सिद्धान्त, नीति र निष्ठामा कोही पनि बसेका छैनन् ।
भन्नैपर्छ, सबै अवसरवादी छन् ।
भन्नैपर्छ, सबै सत्तावादी छन् ।
भन्नैपर्छ, सत्ता, शक्ति र सम्पत्तिका लागि नेपाली नेताहरू जुनसुकै बेला जता पनि फर्कन सक्छन्, जोसँग पनि मिल्न सक्छन्, स्वार्थमा आँच आउनासाथ जसलाई पनि सत्तोसराप गर्न सक्छन् ।
अर्थात्, नेपालमा राजनीति कम, अवसरवादिता बढी । अहिले टुसाएका रवि लामिछानेजस्ता एकाध नेता छाड्ने हो भने १७ वर्षदेखि नेपालको राजनीति प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधवकुमार नेपाल, यी चार नेताको वरिपरि चक्कर काटिरहेको छ ।
प्रचण्ड महान नेता, तर उनले महानता जोगाउन सकेनन् । सन २००५ सेप्टेम्बरको टाइम्स अफ इण्डिया १४५ अंकमा जनयुद्धका नायक प्रचण्डको अन्तर्वाता छापिएको थियो र त्यसमा प्रचण्डले भनेका थिए– हामीले नेपालको सामन्तवादको ढाड भाँचिसकेका छौं । ग्रामिण क्षेत्रलाई स्वतन्त्र पारिसक्यौं ।
आज नेपाल र नेपाली राजनीतिको स्थिति संकटापन्न छ । अस्तित्व मटियामेट हुने खतरामा छ । नारायणमान बिजुक्छे भन्छन्– जो जुनसुकै बेला जुनसुकै ठाउँमा मारिन सक्छन् । निश्चिन्त भएर निदाउन सक्ने अवस्था छैन ।
जनयुद्धका नायक प्रचण्ड ३ पल्ट प्रधानमन्त्री भइसके । वर्षको ३ पल्ट विश्वासको मत पनि पाएका छन् । तर नेपाली जनताको विश्वास आर्जन गर्न सकेनन् । कांग्रेसका देउवा अथवा एमालेका ओली अथवा ओलीसँग टुक्रिएका माधवकुमार नेपाल, यी दुबैको अवस्था पनि भिन्न छैन । आमनागरिकले घृणा गर्ने नेता हुन् यी चारैजना । निरंकूशता र राजनीतिको अपराधिकरण बढ्दो छ । स्वभाविक प्रश्न उठ्छ, लोकतन्त्र कता छ ? देश स्वतन्त्र छ कि छैन ?
सत्य हो, सतित्व र अस्तित्व गुमेपछि फिर्ता हुन्न । जन्तरमन्तरमा फूमन्तरले न नेता बलिया भइरहनछन्,न यिनको शासन र आसन नै सदाका लागि रहन्छ । दिल्लीले सिंहासनमै बसालेको होइन र लेण्डुपलाई ? स्वार्थ पूरा हुनासाथ खँगारिदियो त । नोरियगा हुन् कि ओसामावीन लादेन, मार्कोस हुन् कि सद्दाम हुसेन, सबै विदेशीले तैयार पारेका हतियार थिए । हतियारको काम मालिकले भनेजसरी काट्नु र मालिक फालेपछि खिला लागेर झर्नु, मर्नु र माटो हुनु हो ।
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनलाई महायज्ञ नै सम्झेका थिए नेपालीले । नेताहरूले समुद्र मन्थन गरेझैं नेपाली घरघर, मनमन मन्थन गरेकै हुन् । अमृत र विष दुबै निस्क्यो । नेताहरूले अमृत घट घट पिइरहेका छन्, विषको प्याला जनताको भागमा परेको छ, पिइरहेछन्, मरिरहेछन् । अन्ततोगत्वा राष्ट्रियता त्यही विषको असरले बिस्तारै बिस्तारै मर्न थालेको छ । नेताको आशन र यिनको शासनमा विष फैलिएको छ । खुशी कोही छैनन् ।
सम्प्रभूता बनाइदिएको, बचाइदिएको पुर्षाले हो । माटोप्रतिको मायाँ भयो भने सम्प्रभूता बाँच्ने पाठ पनि पुर्षाले पढाएर गएका हुन् । वर्तमान राजनीति त भष्मासूर बनेको छ, हामी नै सम्प्रभूता हौं भनेर संविधान लेखे, चुनाव गरे, आफैले जिते, जित्दै आएका छन् तर सम्प्रभूताका मामिलामा छानो बालेर खरानी बेचिरहेछन्, मुनाफा कमाइरहेछन् । सम्प्रभूता बेचेर सत्ता कमाउने यो कस्तो सम्प्रभूता हो ? शासन र सम्प्रभूता त मदारीले देखाउने बाँदरनाच जस्तो भयो ।
लोकतन्त्रमा ७ सय ६१ सरकार छन्, ३५ हजार ९ सय २४ जना जनताबाट चुनिएर जनप्रतिनिधि बनेका छन् । ती देश र जनताका लागि सेवा गर्छु भनेर आएका प्रतिनिधि हुन् । जनता कूशासन र राष्ट्रघात भयो भनेर कोलाहल गरिरहेका छन्, विदेशीले ७७ ठाउँमा सीमा अतिक्रमण गरेर ६० हजार हेक्टरभन्दा बढी नेपाली सीमा मिचिसक्यो । लिपुलेक, लिम्पियाधुरा, कालापानीको ३ सय ८७ बर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा पारिसक्यो । देशको ह्याकुल्ला काटेर विदेशी रमाइरहदा, यी कस्ता जनप्रतिनिधि हुन्, जो जिब्रो तालुमा टाँसेर बसेका छन् ।
यस्ता घातक नेता रनेतृत्व लोकपद्धतिकासराप हुन् कि बरदान ?
राजधानीको सिंहदरवार र गाउँगाउँ पुगेको सिंहदरवार त हनुमान चौतारी बन्यो, जहाँ बाँदरहरू जुम्रा मारेर घाम तापिरहेका छन् । उनीहरूलाई देश भर्सेलै परोस् केही मतलव छैन । भ्रष्टाचारको भाङ खाएर मातिनु भनेको राजनीतिक प्राणीको मृत्यु होइन र ?
यस्तो राजनीति र यस्ता जनप्रतिनिधिहरूलाई विश्वले आधुनिक राज्यको सार्वभौम सिद्धान्त स्वीकार गरेको र एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्थापित मान्यता पढाउने, सम्झाउने कसले ?
यस्ता राष्ट्रघातीहरूलाई देशभक्ति त मर्दैन चुत्थै देश भए पनि...भन्ने कविता सुनाउने को छ खोई विवेकीहरू ?
    वर्षौ पालेको बाख्रो बेचेर पठाए पनि मालिक देखेपछि कराउँछ । जनताले साथ दिएका र जनमत पाएका नेताहरू जनताप्रति पुलुक्क पनि हेर्दैनन्, आफ्नै सुख सुविधा, तलव भत्ता र भ्रष्टाचारमा चुर्लुम्मै डबुल्की मारेर पौडी खेलिरहेकाछन् । नयाँ नेपाल बनाउँछु भन्ने नेपाली राजनीतिमा यतिसम्मको बेइमानी पनि देखियो ? जनताप्रति गरेको यो अपराध जनताले कहिले माफी दिनेछैनन् ।
बुद्धको देशमा बुद्धु नेता, राजनीतिलाई व्यवसाय पो बनाइरहेछन् । मुनाफाका लागि देश बेच्ने, जनता बेच्ने अदानन खसोगीजस्ता । सुपारी लिएर मान्छे मार्ने माफिया दाउद इब्राहिमजस्ता । जो माटो भनिरहेका छन्, तिनीहरू प्रतिगामी, जो देश विक्री गरिरहेछन्, ती अग्रगामी । तिनले चलाएको लोकतन्त्र ? भाषणमा यति मीठो बोल्छन्, देश बनाउने कालिगड यिनै हुन्जस्तो लाग्छ । जब व्यवहार देखिन्छ, यिनीहरूभन्दा कमसल त विश्वमै कोही छैनन् जस्तो लाग्छ । राजनीतिमा निष्ठा, प्रशासनमा आचारसंहिता र नेतामा नैतिकता नरहेपछि जे हुन्छ, त्यो वर्तमान नेपालको राजनीतिको कुरूप तस्वीर हो । 
‘इम्परर न्यूक्लोथ’का बादशाहजस्ता छन् नेताहरू । दिल्लीले चलाउँछ, दिल्लीले सुमसुम्याउँछ र दिल्लीले हकार्छ । नेपालको राजनीतिक भविष्यको १२ बुँदे खाका दिल्लीमै गरिन्छ । नेपाल त्यही दिल्लीको सम्झौताको गाँड बोकेर गाँडलाई लोकतन्त्र भनिरहेको छ । गाँडतन्त्र लोकतन्त्र हुनसक्ने थिएन, त्यसैले देशका भूभाग गुम्दासमेत गाँड बोकेर नेता पल्टेकाहरू बोल्न सक्दैनन् । बोल्न त स्वाभिमान चाहियो । स्वाभिमान बन्दकीमा राखेपछि कसरी बोल्ने ? हाम्रा नेताहरूले कृष्णलालको मकैको खेती कहिले पढे ? रूस्दीको सटानिक भर्सेसभन्दा कम छैन मकैको खेती । कम्तिमा डम्बरशमशेर थापाले श्री ३ पद्मशमशेरलाई लेखेको प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर लेखेको पत्र पढिदिए यिनको बुद्धिबंगारो पलाउन सक्थ्यो । यिनमा साहस र अस्तित्ववोध हुनेथियो ।
माओवादी, कांग्रेस र नेकपाका नेताहरूलाई के भ्रम छ भने हामी नै लोकतन्त्र हौं, हामी नै देश हौं, हामीले जे गरे पनि जनताले मान्नुपर्छ । यिनलाई ज्ञात होस्– पहिलो डन कन्र्योलको नालीमा टाउको जोतेर मरे । बाहुबलीतन्त्रले जनताको मन जित्दैन, झन बढी घृणा फैलाउँछ । चुनाव त हुन्छ, बिकल्प नभएपछि जित्ने यिनै दुई पार्टीले हो । चुनाव जित्दैमा लोकतन्त्र आउने होइन, चुनाव जित्नेहरू नरसंहारकर्ता बनेका दर्जनौं तथ्याङ्क छन् ।
शासन गर्ने अधिकार पाएकाहरूलाई देशमाथि घात गर्ने र जनतालाई शासना दिने अधिकार हुन्न । देश र जनताका लागि काम गर्ने सपथ खाएर गलत काम गर्नु भनेको राजनीतिलाई अपराधिकरण गर्नु हो । यही भइरहेको छ ।
के हुन्छ नाम नेत्रबहादुर भएर, विवेकी आँखा देख्दैन भने । चुनाव चिन्ह सूर्य भएर के भो, अन्धकार हटेन । रूख भएर के भो छहारी मिलेन । हसिया हथौडा भएर के भो, किसान मजदुर सर्वहारा दुःखित छन् । गाई, घण्ट अथवा अरू चुनाव चिन्ह भए पनि परिवर्तनको अनुभूति गर्न पाइएन । न हिमाल हाँसेको देख्न पाइयो, न पहाडमा गुराँस फुलेझैं सामाजिक जीवन फुल्यो, न त तराईमा सहलेश फक्रेजस्तो रमाइलो नै छ । सिंगो मुलुक शोकमा देखिन्छ, लोकतान्त्तिक शोकमा । संविधान छ, संविधानले संवैधानिक शासनको प्रत्याभूति गर्दैन भने, देश र जनता जोखिममा पर्छन । परेका छन् । व्यवस्था होइन, व्यवस्था हाँक्ने नेतृत्व जिम्मेवार र जवाफदेही हुनुपर्ने रहेछ । सबै गैरजिम्मेवारको झुण्ड राजनीतिमा छ । राजतन्त्रलाई किनारा लगाउने शक्ति यिनै हुन् । फेरि पनि जनताले राजतन्त्र सम्झनु पर्ने, गुहार्नु पनि दिन आयो । यिनीहरू नवराजा, बास्सा बनेकाले यिनलाई डम्बर शमशेरले श्री ३ राणा शासनको अन्त्यका लागि डमरू बजाएझैं जनताले डमरू बजाउन थालिसकेका छन् । चेतना छ भने यिनले आफूलाई सुधारून् । अन्यथा श्रीलंकामा जे देखियो, नेताहरू जसरी ज्यान जोगाएर भाग्न बाध्य भएका थिए, त्यो घटना नेपालमा पनि दोहोरिन सक्छ । समयमै चेतना रहोस् ।