सुरेशकुमार पाण्डे - - -
पञ्चायती व्यस्थाको अन्तिम–अन्तिमतिररको कुरा हो । हामी हाम्रै घरको बाहिर बसेर रूढीवाद र कुसंस्कारको बारेमा छलफल चलाउँदै थियौँ । ‘होइन यो कुसंस्कार र जातिय बिभेदले गरिखाने वर्गलाई एकता हुनैदिएन । जतिसक्यो उत्ती छिट्टै यस कुरितिको बिरोध गर्नुपर्छ ।’ एकजना साथिले भने । त्यसताक धर्मकर्म, बोक्सी, झाँक्री, भूतप्रेत र छुवाछुतका बारे धेरै प्रश्नहरू आउने गर्थे ।
‘खै ! भनेर मात्र हुँदैन व्यवहारमा उतार्नुपर्छ नि ।’–मैले सटिकमा भनेको थिएँ । प्रायःजसो सबैले पुजा लगाउँछन्, चाड पर्व पनि मनाइन्छ । भान्सामा पकाउँदा पनि धोती फेरेर पकाउने प्रचलन थियो । समाजमा तमामखाले रूढिवादी जाल फैलिएको बेला त्यो कुरा अनौठो लाग्नु स्वभाविक हो । उनले ठट्यौलो पाराले फेरि भने– ‘मार्क्सले पनि धर्मलाई अफिम भनेका छन् । यसले हाम्रो मन मष्तिकमा घर नै जमाएको छ । सितिमिति हाम्रो पिछा कहाँ छोड्ला ।’ व्यवहारमा उतार्न अरूलाई भनेको जस्तो सजिलो कहाँ हुन्छ र । गर्दै आएका सामाजिक परमपरा छोड्न गारै छ– नजिकै बसेर धेरैवेर देखि हाम्रो गफ सुनिरहनु भएको हाम्रो आमाले भन्नुभयो । हजूर पनि! आमा कस्ता कुरा गर्नुहुन्छ । मैले गर्न नसकेको त कुरै गर्दैन नि । हजूरलाई त थाहा नै छ । अनि हजूरले कसरी भन्नुभयो यो कुरा ? –मैले प्याच्च भने ।
‘बाबु! थाहा हुन्छ समयमा । समयले परिक्षा लिन्छ सबैको’ आमाले भन्नुभयो ।’ आमा! त्यो समय कहिले आउँछ ?’– मैले मुस्कुराउँदै भने ।
‘जब म मर्छु नि त्यो वेला तैंलेपनि थाहा पाउँछस् ।’ –आमाले सटिक तर गम्भिर र चुनौतीको सगरमाथा जस्तो अग्लो प्रश्नात्मक उत्तर दिनु भएको थियो ।
अहिले आमा भौतिक रूपमा हाम्रो बिचमा नरहेको एक वर्ष पुगेको छ । म त्यही आमाले गरेको प्रश्नलाई व्यवहारिकता दिंन प्रयास गरेको छु । सायद् मैले त्यही दिन देखी यस्तै कयौँ चुनौतिहरूको सामना र सङ्घर्ष गरिरहनु परेको छ ।
सायद् दर्शन भन्नु एउटा दृष्टिकोण नै हो । यसले प्रष्ट पार्छ कि दर्शन बुझ्नु मात्र होइन बदल्नु हो । त्यही द्वन्दात्मक भौतिकवाद अर्थात् मार्क्सवादी दर्शन हो ।
धेरै मानिसहरू कम्युनिष्ट बिचारबाट पतन वा पलायन किन हुन्छन् । ? कम्युनिष्ट भन्नु मात्र होइन बन्नुपनि हो । आखिर कम्युनिष्टको दर्शन के हो ? कम्युनिष्ट भन्ने यस्तो दर्शन हो जसले तमाम रूढिवादी र अभौतिकवादी बिचारधाराको बिरूद्धमा भौतिकवादी दर्शनलाई आफ्नो दैनिकी व्यवहारमा ढाल्नुपर्छ भनेर मानव समुदायलाई निर्देशन् गर्छ । त्यसो गर्न नसक्ने कम्युनिष्ट हुनै सक्दैन् । कम्युनिष्टको घोषणापत्रमा दुइवटा अहेम बिचारलाई जोड दिएर उठाइएको छ । संसारभरिका मजदुर एक हौँ !, ‘इन्कलाव जिन्दावाद !’ यसै भित्र जातिय र वर्गीय मुक्ति छ । श्रमिकहरूको एकताको लागि जातिय र धार्मिक पर्खाल भत्काउनै पर्छ; यो पहिलो सर्त हो । दर्शन शास्त्रको नसिहत दिन, जातिय बिभेदको बिरोध गर्न सजिलो हुन्छ । व्यवहारमा ढाल्नुपर्दा दांँतबाट पसिना निस्किन्छ । दर्शन प्रकृति समाजसँग गरिने सङ्घर्ष हो । जनै नलगाउनु, श्राद्धा नगर्नु र काजकृया नगर्नु कम्युनिष्टहरूको भविष्यकै सबैभन्दा ठुलो र नगरि नहुंने सङ्घर्ष मध्यको एक हो ।
हाम्रो आमा पार्वतादेवी पाण्डे साहसी र संघर्षशील महिला हुनुहुन्थ्यो । आफ्नो कलिलै उमेरमा जोडाको निधनपछि पनि पाँच भाई बहिनाको एक्लैले पर्वरिश गर्नुभयो । हामीले हाम्रो आमा नै हाम्रो संसार र जन्मदाता र पालनहारा ठान्यौँ । रूढिवादी समाजमा तीन महिना खान नपुग्ने पाटोमा बसेर हुर्काउनु ठूलो जीवन सङ्घर्ष नै हो । २०७९ को माघको दुइ गते सांझ ७ बजे अस्पत्ताल मै हृदयघातको कारण उहाँको ८१ वर्ष पुगेर ८२ मा लगेको वेला हामीलाई छाडेर जानुभयो ।
पहिलो वर्षको श्राद्धमा हामीले आमाको सम्झनामा श्रद्धाञ्जली गर्नुको साथै उहाँको अक्षकोषबाट ३ जना विद्यार्थीलाई ‘पार्वता स्मृति पुरस्कार दिएका थियौँ ।
रूढिवादी र अनावस्यक संस्कारलाई फाल्न र नयाँ समाजको निर्माण गर्न हामीले काजकृया भन्दा जरूरत मन्द बिद्यार्थीको सहयोग गर्न उचित सम्झियौं ।
उनिहरूले व्यवहारमा उतार्छन् कि उतार्दैनन् त्यो हेर्नसक्ने क्षामता छैन् । किनभने आफुले केही गर्न गारो हुन्छ । हिंडिरहेको मूलबाटोमा हिंड्न सबैलाई सजिलो हुन्छ । त्यसकारणले कसैलेपनि नेताको भनाई र गराई लाई बुझ्न स्वयम आफ्नो बिचार र व्यवहारलाई नियाल्नु पर्ने हुन्छ ।
क्रान्ति भनेको परिवर्तन हो । त्यसलाई आफुले आफैबाट सुरू गर्नुपर्द छ ।
हाम्रो देशमा कम्युनिष्ट भनौंदाहरूलाई हेर्ने हो भने उनिहरू मध्य धेरैजसो कम्युनिष्टको ‘क’ सम्म बन्न सकेका छैनन् । उनैले लामा–लामा भाषन र दन्ते कथामा मालेमाका गफ हाल्छन् । यस्तो छ हाम्रो देशभित्रको कथित कम्युनिष्ट दर्शन । जसका दस्तावेजमा रूसि क्रान्ति ,चिनका क्रान्ती लगायतका उदारणहरू छन् । व्यवहारमा पुँजिवादका नायक बनेका हुन्छन् ।कसैले व्यवहारिक रूपमा कम्युनिष्ट बन्न खोज्यो भने त्यसको खुट्टा तान्ने,बद्नाम गर्ने र उसको खोइरो खन्ने काम उनैले गर्छन् । त्यो पनि एउटा दर्शन हो । न भौतिक वाद न रूढिवाद् बिचको बाटो । बिचारमा भौतिकवादी व्यवहारमा रूढिवादी हाम्रो देशका कम्युनिष्टहरूको दर्शन् यस्तै खालको अनौठो छ । कम्युनिष्ट भनिनेहरू अनौठा क्रियाकलाप गर्छन् ।
यहि दर्शन कम्युनिष्टको असली दुश्मन हो । आज हामीले जसलाई कम्युनिष्ट भनेर चिनेका छौं, त्यही कम्युनिष्टको जरा काट्ने दर्शन हो । त्यसैले त्यसको भण्डाफोर्ड गरेर अगाडी बढ्ने प्रयत्न गर्नु आजको नितान्त आवस्यकता हो । हामीले त्यही गरिरहेका छौँ । त्यसकारणले हामी एक्लो र कम्जोर अवस्थामा पुगेका छौँ । तर यो अवस्था भनेको अस्थाइ हो भन्ने लाग्छ मलाई ।
एउटा कम्युनिष्टले गाडी किन्छ, त्यो अवस्थाको माग हुनसक्छ । गाडी किनेपछि उसले साथी भाईहरूलाई खुशी बाँड्छ, खुशी बाड्न भोज भत्तेर पनि दिन्छ । त्यसलाई पनि वेठिक भन्न मिल्दैन् तर गाडि किनिसकेपछि त्यो गाडिको पुजा गर्छ ताकी कहिले दुर्घटना नहोस् भनेर भने त्यो रूढिवादी दर्शन नै हो । पूजा गरेर दुर्घटना रोकिदैन । बरू राम्रो सँग चलाएर राम्रो बाटो बनाएर समयमै गाडिको मरमत गराएर दुर्घटना रोक्न सकिन्छ । कम्युनिष्ट पदमा बहाल भए, घर वा अन्य केही सम्पत्ति जोडे पनि पूजा गर्छ । कालोबोको काटेको देखि भैंसी पूजा गरेकोसम्ममात्र होइन, मन्दिरमा दर्शन गरेको देखि तीर्थयात्रामा गेरू बस्त्र धारण गरेको सम्मका दृश्यहरूले नेपालका कम्युनिष्टका प्रतिवद्धतामा प्रश्नचिन्ह उठेका छन् ।
अन्धविश्वास कुनै पनि कम्युनिष्टहरूले नगर्ने काम हो । यहाँ त कयौं कम्युनिष्ट भनौंदाहरू आफुले चुनाव जित्न भाकलसम्म गरेको देखिन्छ ।
असली कम्युनिष्टले गर्नै नहुने काम शिक्षा, स्वास्थ्य र आमनागरिकका दैनिकी सम्बन्धमा व्यापार व्यवसाय हो । नेपालका कम्युनिष्टहरूले त व्यापारमात्र होइन, भ्रष्टाचारका अनेक काण्डमा समेत मुछिने काम गरिरहेका छन् । यसकारण नेपाली कम्युनिष्टको सिद्धान्त, नीति, निष्ठामा समेत प्रश्न उठेको छ । सत्ता स्वार्थका लागि सिद्धान्तहीन गठबन्धन गर्नेमात्र होइन, पुँजीवादका ठेकेदारसँग गलामा गला मिलाएर उनीहरूको चुनाव चिन्हमा मतदान गरेका दृश्यसमेत देखियो । जनयुद्धकारी र अन्य कम्युनिष्टहरू प्रजातन्त्र नामधारी अलग प्रतिकूल सिद्धान्त बोकेका हरूको भात भान्सा एक गरेर बसेका देखिन्छन् । न सिद्धान्त रह्यो, न विश्वास बाँकी छ । आमनागरिकले कम्युनिष्टहरू सैद्धान्तिक बिचलनमा दया गर्न थालेका छन् ।
हामीले यत्ति बुझ्नैपर्छ कम्युनिष्ट बन्नको लागि पहिलो सर्त भौतिकवादी दर्शनलाई अगाल्न सक्नुपर्छ । कुनैपनि अभौतिकवादी अर्थात अध्यात्मवादी रूढिवादी दर्शन कम्युनिष्टका हुन सक्दैनन् र देश र जनताको हितमा पनि हुन सक्तैनन् ।