Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

राजदूत पनि जोक गर्न थाले

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

सहदेव सिग्देल
राजदूत रंजित रे पनि जोक गर्न थालेका छन्। उनको ताजा अभिव्यक्ति कुनै हास्यव्यङ्गभन्दा कम लाग्दैन। राजदूतकै मुखबाट निस्कियो– नेपालको असहज परिस्थिति छिटो सहज हुनेछ, राजनीतिक दलहरुले संवादका माध्यमबाट स्थितिलाई सामान्यीकरण गर्नेछन् र नेपालको शान्ति, सुव्यवस्था र प्रगति अगाडि बढ्नेछ। भारत सधैं नेपालको शान्तिको पक्षमा छ। भारत सधैं नेपाललाई सघाउन चाहन्छ।
राजदूत रंजित रेको यो जोक नभए के हो? केही राजनीतिक नेताले भारतका सामु गरेको गोप्य कबुल पूरा गरेनन् भनेर सिंगो नेपाल, बालबृद्ध, बिरामीलाई दुःख दिने, नेपालमा हाहाकार सिर्जना गराइदिने, नेपालको आर्थिक क्षेत्र तहसनहस पारिदिने अनि भन्ने– भारत सधैं नेपालको हित चिताउँछ। भारतले सधैं नेपाललाई सहयोग गरिरहेको छ, गरिरहन चाहन्छ। देखियो, भारतको सहयोग।
होलाकीले बुलाकी लायो, बुलाकीले नाकै खायो। भारतले नेपाललाई अर्को २० वर्ष पछाडि धकेलिदियो। दुश्मनले नगर्ने, युद्धका बेलामा पनि नगर्ने अमानवीय हाहाकार सिर्जना गराएर भारत भन्छ: हामी नेपालका हितकारी हौं। यस्ता हितकारीभन्दा त दुश्मनसँगको सहकार्य बेश होइन र महामहिम?
ह्याउ भएको मुलुक भए यस्ता राजदूतलाई पर्सानन्ग्राटा गरेर देश निकाला गरिदिन्थे। त्यस्ता आततायी भूमिका खेल्नेले नेपालीलाई अझै जिस्क्याउँदै छन्।
राजदूत भन्छन्: शान्तिपूर्ण समाधान निस्कन्छ। मधेसी आन्दोलनलाई सघाएर सीमा नाकावन्दी गरेको ४ महिनापछि राजदूत मधेसी नेताहरुलाई दूतावासमा भत्तेर ख्वाउँछन् र दिल्ली भ्रमण गराउँछन् अनि काठमाडौंबाट वकालत् गर्छन्– वर्तमान असहज परिस्थितिको शान्तिपूर्ण निकास निस्कन्छ। यो जोक नभए के हो? नेपाली जनतालाई यसरी जिस्क्याउन यिनलाई खूब मजा आउँछ।
र, हाम्रा नेताहरु जोक सुनेर मख्ख पर्छन्। जनताको दुःख, पीडा, छटपटी, मृत्यु नदेख्ने धृतराष्ट्रजस्ता अन्धा नेताहरु यिनै राजदूतलाई मालिक ठान्छन्।
राजदूतले खुलासा गर्छन्: संवाद र शान्तिपूर्ण निकासको फ्रेमवर्क तैयार भइसक्यो। मधेस आन्दोलन आन्तरिक मामिला भनेर नथाक्ने सत्तारुढ दलहरु पटक्कै लजाउँदैनन् र उनकै फ्रेमवर्कमा पलेटी कसेर कसरत गरिरहेका छन्। के लोकतान्त्रिक नेपालका नायकहरुसँग आफ्नो समस्या समाधान गर्ने आफ्नै ल्याकत, ताकत र अक्किल छैन र राजदूतको फ्रेमवर्क डिजाइनमा पस्छन्?
यता राजदूत जोक गर्ने, उता नरेन्द्र मोदीले प्रम ओलीलाई निम्त्याउने? रहस्य केही छ, त्यो रहस्यको दलदलमा ओली पर्छन् र मुलुकलाई पार्छन् जस्तो छ।