हिंसाको बिरोध जति गरेपनि पुग्दैन । जति बिरोध गर्दा पनि, जति आवाज उठाउँदा पनि सम्बन्धित निकाय मौन भैदिएपछी हिंसा अझ बढ्दै जान्छ । अपराधीको मनमा डर नभएपछी झन् भन्दा झन् हौसला बढ्दो रहेछ । मानसिक हिंसाले मानिसलाई अधमरो बनाउँछ । कहिल्यै नमेटिने दाग लागिसकेपछी हिंसापिडितलाई बाँच्न गाह्रो हुन्छ । त्यसमा पनि आफन्तले पु¥याएको चोट अनि समाजको दुत्कारले त झनै टाउको उठाउन सक्ने अवस्था नरहने हुन्छ । ति पिडीतहरूको अवस्था हेर्दा नौनाडी गलेर आउंछ । संसारमा दुख, पिडा,समस्या नभएको मानिस सायदै होलान् । परिपक्व उमेर नपुग्दै बेहोर्नुपरेका समस्या समाधान गर्न कति गाह्रो होला ?
महिलाप्रति सदियौंदेखि अनेकन हिंसा हुँदै आएको छ । समय परिवर्तनसंगै महिलाहरू आफ्नो हक अधिकारको लागि लड्न सक्ने भएका छन् । हिंसाको बिरोध गर्न सक्ने भएका छन् । यौटा यस्तो हिंसाले महिलामाथि दमन गरीरहेको छ जुन हिंसाले कैयन युवतीहरू जीउँदो लाश बनेर बाँच्न बाध्य छन् । बलात्कारजन्य घटना समाजमा उग्र रूपमा बढेको छ । हुनत पहिले पनि यस्ता घटना नहुने हैनन् । घटना हुन्थे घर समाजमै लुकाइन्थे । महिलालाई मात्र दोषी बनाइन्थ्यो यदी गर्भ रह्यो भने कुनै दुखी पिडीत खोजेर केही खर्च जोहो गरीदिएर महिलालाई बुझाउने गरिन्थ्यो अरे । अहिले त्यो अवस्था छैन तर पनि महिलामाथिको हिंसा घटेको छैन । झन झन बढ्दो छ ।
समस्या जटिल छ यस बिषयमा अधिकारकर्मी,नेतृत्व ,सरकार कसैले पनि चालो देखाएको छैन । बाबुबाट बलात्कृत युवतीले बच्चा जन्माइन् बाबुलाई जेल सजायं त भयो तर युवतीले त्यो बाबुको बच्चा बोकेर हिड्नुपर्दा कस्तो अवस्था हुन्छहोला अनुमान लगाउन गाह्रो नहोला ।दाजुबाट बलात्कार बहिनीले,भाईबाट बलात्कृत दिदीले ती बच्चाको संरक्षण गर्नु पर्ने अवस्थामा कसरी जीवन जीएका होलान्??समाजले ति पिडीताहरूलाई कलंकित ठान्छ तर पिडकले सजायं पायो भने उ बिचरा बनाइदिन्छ । सामुहिक होस वा एकल बलात्कारको शिकार भै गर्भ रही जन्मिएका बच्चाको जीम्मेवारी पनि पिडीताले नै बेहोरेका छन् । समाजले पिडीतालाई चरीत्रहिन आइमाईको संज्ञा दिन्छ । बैदेशिक रोजगारमा खाडी मुलुक गएका महिलाहरू को बंगाली, पाकिस्तानी, अरबीहरूबाट बलात्कृत हुन्छन्, क्युरिड गर्न पनि अनुमती र पैसा हुदैन । ती गर्भ बोकेर आएका महिलाबाट जन्मेका बच्चाको जिम्मेवारी कसले लिने ? एउटा पुरूषसँग बोल्दा त अनेक लान्छना लाउने समाजले ती अबैधानिक बच्चा बोकेर हिंड्दा स्वीकार गर्छ त ? गर्दैन बरू त्यै युवतीप्रति नै कटाक्ष गर्न थाल्छ समाज, यस्तै छ हाम्रो समाज, हाम्रो परिवेश र न्याय कतै हुँदैन ।
यस्ता जबरजस्ती करणीका घटना शहरमा भन्दा ग्रामिण क्षेत्रमा भएको पाइन्छ ।बैदेशिक रोजगारीमा खाडी जाने पनि ग्रामिण क्षेत्रका र आर्थिक रूपमा कमजोर अवस्थाका हुन्छन् । आर्थिक अवस्था कमजोर भएका कारण बिदेशिनु रहर होइन बाध्यता हो । यो अवस्था प्रति हाम्रो स्थानिय निकाय चनाखो भै महिलाहरूलाई अनिवार्य प्राविधिक शिक्षा र आर्थिक आयआर्जन तर्फ आकर्षित गर्न सकेमा विदेशीनु पर्ने छैन, यसता घटना कम हुन जानेछ । बलात्कार कुनै पुरूषले गर्दैन । जसमा मानवता मरिसक्यो, चेतना शुन्य भयो, ऊ मानिस नै रहेन तब उसमा राक्षसी प्रभाव बढ्छ र छोरी पनि नभनी छोरीकै ज्यानमाथी खेल्छ । भविष्य अन्धकार पारिदिन्छ । त्यस्ता पापी बाबुको गर्भ बोकेर जीउँदो लाश सरी जीउनबाट बचाउन गर्भपतनको समयावधी बढाइदिए ती युवतीलाई बाँच्न सहज हुन्थ्यो कि ? र, अपराधीलाई कडा दण्ड दिए यस्ता घटना न्यूनिकरण हुने थियो । नत्र त्यस्तो कलंकको भार सरकारले नै ब्यवस्थापन गरिदिए सजिलो हुन्थ्यो की ?
सरकारको र अधिकारकर्मीहरूको चाँडै ध्यान जाओस् । बलात्कारबाट जन्मेको बच्चाहरूको जिम्मेवारी सरकारले लियोस् । नत्र त्यस कलंकबाट छुटकारा पाउने उपाय बाटो देओस् ।