भाले नबासे पनि उज्यालो त हुन्छ हुन्छ । देशमा बाक्लिएको कुहिरो फारिनुपर्छ, अँध्यारो हट्नुपर्छ । नेपालीले कहिलेसम्म यस्तो राजनीतिक अँध्यारोमा बस्नु, बाँच्नुपर्ने हो ?
देश उज्यालोको प्रतिक्षा गरिरहेको छ । उज्यालो त हुन्छ तर कहिले ?
भूराजनीतिको चक्रव्यूहमा फसाइयो, बेहाल छ, नेपालको भूगोल ।
लोकतन्त्र ल्यायौं भन्नेले लोकतान्त्रिक विधि मानेनन्, निरंकूश भयो नेतृत्व । फलतः बेहाल भयो नेपालको राष्ट्रियता, सार्वभौमिकता ।
समष्टिमा भन्नुपर्दा राष्ट्र र राजनीतिक वातावरण अन्यौल बाक्लिएको छ । चाँदीको घेरा देखिदैनन्, मृत्युका डरलादा छायाँ देखिन थालेका छन् । शुभ होस् भन्ने जनकामना, कालरात्रि बन्यो । ल्याएको नयाँ पद्धति आम–आत्मा बन्न सकेन । अब पद्धतिमात्र होइन, नेतृत्वसमेत फेर्नुपर्ने जनआवाज सडकबाटै उठ्न थालेको छ ।
समाज बदलिएला भनेको, नेताको जीवनमात्र बदलियो, राष्ट्रिय जीवन बर्बाद हुनपुग्यो । राष्ट्रको इज्जत समेत समाप्त पारियो । यसकारण त नेपालको आवाज विश्वले सुन्न छाडेका छन् ।
शीर्ष नेता शिखरबाट भुइँमा झरिसके । ओइलिसके । यिनीहरुबाट देश र समाज परिवर्तन अब सपनामात्र बाँकी रह्यो । स्वर्ग हिंडेको नर्क पुगियो, नेतृत्वले उल्टो यात्रा, असामाजिक बाटो लिएपछि देशले गति र मति बिगारेको हो । नेतृत्वको गल्तीको मूल्य देश र जनताले चुकाउनु पर्ने स्थिति आइसक्यो ।
कोतपर्वमा मारिएका वायु पिचास २००७ सालमा उतार्न खोजियो, त्यसपछि निरन्तर अस्वभाविक हत्याकाण्डहरू भइरहेका छन् र २०५२ पछि अनाहकमा मारिएकाको काँचो वायुको प्रकोप नै चल्यो । अहिले नेताहरुको भ्रष्टाचार र हत्या प्रकरणले त राष्ट्र मृतात्माहरुको चिच्याहटको कोलाहलजस्तो लाग्न थालेको छ । कोलाहलको अन्त्य हुनुपर्छ ।
त्यसै पनि राजनीतिक अपराधको पहिरोले देश र जनता थिचिएर मरणासन्न छन् । जिवन्त प्रणाली, जिवन्त मुलुकमा यस्तो सकस हुनुहुन्न ।
विज्ञान नै भन्छ– वेद र साङ्ख्यदर्शनका कारण आविष्कारहरू सम्भव भएका हुन् । आधुनिकताका प्रणेताहरू स्वस्थानीमा पिएचडी उपाधि दिन्छन्, हिन्दुधर्म ग्रन्थलाई पाठ्यक्रममा राख्छन् र अध्यापन गराइरहेका छन् । यहाँसम्म कि अष्ट्रिया, जर्मनमा त भूत पिचास, तन्त्रमन्त्र र बोक्सीविद्यासमेतलाई कानुनी मान्यता छ । नेपाल त त्यसै पनि तन्त्रमन्त्रको देश, मन्दिरै मन्दिरको देशमा हरेक मन्दिरका गर्भगृहदेखि टुँडालसम्म तन्त्र नै तन्त्र व्याप्त छ । पशुपतिनाथको नित्यपूजासमेत मन्त्रबाट हुन्छ । विदेशीहरू नेपालका तन्त्रमन्त्र विद्याबारे अनुसन्धान गरिरहेका छन् । गर्न आइरहेका छन् ।
नेपाली नेताहरु कति सत्या, कति असत्य, कति तन्त्र, कति मन्त्र केही पनि नबुझी पश्चिमा प्रभावमा अन्धविश्वास भनेर आधुनिकताको नक्कल गरिरहेका छन् ।
आफ्नोपनलाई समयानुसार सुधार गरेर हिड्न नसक्ने नक्कले राजनीतिक खेलाडीहरु नक्कलमै अस्तव्यस्त छन् ।
नक्कल पनि नैतिकताको होइन, भाँडभैलोको बढी गरिरहेका छन् । यसैले सफलताभन्दा बढी असफल हुँदैछन् । दयापात्र बनिरहेछन् ।
अझै यिनीहरु बुझ्दैनन्– नेता र नेपाललाई लागेको महारोग हो– चरित्रहीनता, गैरजिम्मेवारी र भ्रष्टाचार । पञ्चायत खराव भनेर असल व्यवस्था खोज्दै बहुदल आयो । ०४६ सालपछि जो जो सत्तामा पुगे, आनन्दले रजगजमात्र गरे । कोही देशघातक त कोही जनघातक बनेर बदनाम भए । राजनेता बन्ने इच्छाशक्ति र राष्ट्रनीतिका लागि त्याग गर्नसक्ने आँट कसैमा पनि देखिएन । ल्हासा हिंडेको कुतीको बाटो समातियो । शान्ति र समृद्धि खोजेको अपराधशाला बन्यो लोकतन्त्र ? कस्तो अचम्म ?
अन्य मुलुकमा भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका मोहमद सुहार्तो, फिलिपिन्सका फर्डिनान्ड मार्कोस तथा जोसेफ इस्ट्राडा, सर्बियाका स्लोबोदान मिलोसेभिक, पेरूका अल्बर्टो फुजीमोरी, नाइजिरियाका सनी अबाचा, हाइटीका जाँ–क्लाउड दुभालियर, निकारागुवाका अर्नोल्डो अलेमान र उक्रेनका प्रधानमन्त्री पाब्लो लाजेरेन्कोले दण्ड पाए । श्रीलंकामा परिवारवाद र निरंकूशता चलाउने राजापाक्ष परिवार यतिबेला कहाँ छ, कसैलाई थाहा छैन । यस्तो दृष्टान्त देख्छन्, चेत्दैनन् लोकतान्त्रिक नेताहरु ।
चीनमा हरेक वर्ष ९ लाखभन्दा बढी भ्रष्ट जेल पर्छन्, जेलमा सड्छन् । प्रजातन्त्रवादी भन्छन्– समाज सुधार गर्ने व्यवस्था नै प्रजातन्त्र हो । असल कम्युनिष्ट भन्छन्– भ्रष्ट व्यक्ति कम्युनिष्ट हुनै सक्दैन । नेपालमा सुल्टो केही हुन्न, सबै उल्टो भइरहेको छ । प्रजातन्त्र र समाजवादमा राजनीति देखाएर भ्रष्टाचारमा रमाइरहेछन् ।
लोकतन्त्र र वामपन्थ सिस्नोको झाडी बनिरहेको छ । जुन सिस्नोले नागरिकलाई पोलिरहेको छ ।
देशको मुहार फेर्ने योजना र जनअपेक्षा पूरा गर्ने गर्ने भोक कसैमा देखिएन ।
नेपालको असली नक्सा जारी हुनैपथ्र्यो, भयो । भारतले चीनको उक्साहटमा नक्सा जारी गरेको भनेर आरोप लगायो । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय नक्सामा मिसाएको ४ वर्ष नाघिसक्यो, नेपाली नेताहरु, सरकार र विज्ञहरु नेपाल कति हो, कहाँसम्म हो, नेपालको क्षेत्रफल यत्ति भनेर भन्न सक्दैनन् । नेपाली भूभाग नेपालको हो भन्न नसक्ने लाचारहरु देशका शासक, सञ्चालक बनेका छन् ।
देशमा स्वाभिमान र सार्वभौमिकताको खडेरी छ । खडेरीको अन्त जरुरी छ । अन्त गर्ने नेतृत्वको खोजी भइरहेछ ।
लोकतन्त्र नेपाली उखानजस्तै– दौरा न सौराको खल्ती जस्तो भयो । लोकतन्त्रको हालीमुहाली धुन्धुकारीको हातमा प¥यो, देश बेथितिको ऐंजेरुले सिध्याउने खतरा बढ्यो । नागरिक जुर्मुराउनुपर्ने भयो ।
१८ जेठो मुलुकहरूमध्येको स्वाधीन मुलुक नेपाल । नेतृत्वकै असक्षमताका कारण पराधीन बन्दै गएको छ ।
आपूmलाई राजनीतिको बादशाह सम्झनेहरू वास्तवमा घोडा हुन् । राजनीतिक मैदानमा घोडाहरू खुब हिनहिनाएर बहादुरी प्रदर्शन गर्छन् तर यी घोडाहरूलाई विदेशीले चड्छन् । पहिले पहिले अरवी घोडाको खुब महत्व थियो । जबदेखि उत्तर, दक्षिण र पश्चिमाको आर्थिक र सामरिक प्रभावमा प्रतिस्पर्धा बढ्यो, उनीहरू सामरिक महत्वको केन्द्रभूमिका नेपाली घोडा चढ्न उत्साहित छन् । यहीकारण हो, नेपाली लोकतान्त्रिक घोडाहरूको माग र मूल्य ह्वात्तै बढेको देखिन्छ । घोडाहरु विदेशी मालिक देखेपछि हिनहिनाउने गर्छन्, कठै लोकनेता ?
नेपाल भूराजनीतिको घोडा बनेको छ । सवार अर्कै छ, नेपाली राजनीति सवारी बनिरहेको छ । नेतृत्व लिनुपर्ने मुलुक अर्काले कान समातेर उठबस गराउन थालेपछि स्वाधीनता र स्वराज सक्किनु स्वभाविक हो । कुन सम्मान थियो मुलुकको कसरी सम्मान पग्लेर सकियो । यसको जिम्मेवार बर्तमान नेतृत्व नै हो । तिनले जवाफदेहीता लिनुपर्छ, जनताको सवालको जवाफ दिनुपर्छ । काशी काश्मिर अजब नेपाल । अजब राजनीति चलिरहेछ ।
खुब भनेका थिए कुनै विद्वान्ले– नेपालमा राजनीति गर्न बुद्धि, विवेक र नैतिकता चाहिंदैन । मै जान्ने, मै ठूलो, म नै राज्य हुँ भन्ने अहंकार राखे पुग्छ । शासित भनेका चाकर हुन्, चाकरलाई जति निचोरे पनि हुन्छ । यो शासन लोकतन्त्र हो कि बाहुबली तन्त्र्र । लोकतन्त्रको भाषण गरेर पद्धतिका मर्यादा जतिसक्यो उति बलात्कार गर्न सकिन्छ भन्ने भ्रम पालेका नेताहरु रहेसम्म नेपालको दुर्गति रोकिनेवाला छैन ।
संविधानको कुरा गर्ने, काम असंवैधानिक र अराजनीतिक तबरले नेपाल अर्को झिँझा बनिसक्यो, जहाँ कुनै दिन सानदाइ ठूलदाइको राइँदाइँ चल्थ्यो । आज नयाँ बाहुवली जन्मेका छन् । बाहुबलीको बपौति बन्यो देश ।
अर्थात् अनियमितता र असामाजिकता बढ्दो छ । अराजकता र अस्थिरता बढ्दो छ । यसकारण त राजनीति बधशालामा जस्तो क्रुर बनेको छ । क्रुरता लोकतन्त्र हुनसक्दैन । नेपालको सन्दर्भमा क्रुरता लोकतन्त्रको पर्याय बनेको छ । लोकतन्त्र बदनाम हुँदैछ ।
हरेक दिन युवायुवती निकासी गर्ने लोकतन्त्र छ । हरेक दिन विद्यार्थीदेखि विद्वानसम्म पलायन भइरहेका छन् । देश दिनदिनै खोक्रो र बोक्रोमात्र बाँकी हुँदैछ । देश कसैलाई दुख्दैन, दुखेको छैन ।
खोई कसैमा चिन्ता देखिदैन । देशका थिङ्क टेङ्क भनिएकाहरु एउटा एउटा पार्टीको दौराको फेर समातेर लाभ र लोभमा चुपचाप बसिरहेका छन् ।
खबरदार गर्ने बलियो शक्ति कोही नहुँदा राजनीति अपराधीको गुँढ बनेको छ । अपराधी जुनसुकै बेला फणा फुलाएर न्याय डस्न तैयार छ, डसिरहेको छ । विधिमा कोही चल्दैनन्, विधि कागजमा देखाउने र पढाउने शास्त्रमात्र हो । शास्त्रसम्मत चरित्र, व्यवहार कसैमा पनि छैन । संविधान कागजको खोस्टो बन्यो ।
देशले मान गुमायो, सम्मान गुमायो । विश्वले भ्रष्टाचारी देश भनेर चिनिसक्यो । यसरी कति दिन चल्छ ? खतरा छ, पाइलैपिच्छे खतरा छ ।
सत्य कुरो, नेपालको झण्डा छ र त्यही झण्डा नेपाल हो भन्न सकिने आधार छ । बाँकी नेपालीत्व सबै मैनबत्ती पग्लिएजसरी पग्लिदै जाँदो छ । नेपाल र नेपालीत्वको जगेर्ना गर्ने शक्ति कतै कोही छैन । अभिभावकबिनाको देशजस्तो बनेको छ लोकतन्त्र । कोही त बोल ।