चर्चा छ, सानादेखि ठूला तीनदलसमेत संवैधानिक राजसंस्थाका लागि राजी भइसके, सुरक्षित अवतरणका लागि उपाय पर्खिरहेका छन् । उनीहरू आफ्ना कुकर्महरूको लागि कारवाहीबाट बच्न चाहन्छन् । केही भने यही व्यवस्थालाई सुदृढ र सुधार गर्दै जानुपर्ने बताइरहेका छन् । केही नयाँ जोगीहरू जो बढी खरानी धसिरहेका छन्, उनीहरूचाहिं पूर्वराजा जनतासँग अन्तरकृयाका लागि निस्केकोमा धम्कीको भाषा बोलिरहेका छन् । के हो गाँठी कुरो, भित्रभित्रै केही पाकिरहेको छ त ?
गणतन्त्रवादीहरू आफ्ना कुकर्मका कारण जनतामा बढेको घृणा र आक्रोशबाट गलेकै हुन् त ? पूर्वराजा जति क्षेत्र वा जिल्ला भ्रमणमा निस्केका छन्, ती सबै ठाउँमा जनताले अपार समर्थन र स्वागत गरेका छन् । जहाँ जहाँ अभिव्यक्ति दिए, पूर्वराजाले सहमतिको राजनीतिक यात्राका लागि आह्वान गरिरहेकै छन् । राष्ट्रिय समस्याको समाधान मिलेर गरौं भन्ने भावना व्यक्त गरिरहेका छन् । ठूला दलहरूले स्पष्ट केही बोलेका छैनन् । आफ्ना गल्ती कमजोरीलाई लुकाउने प्रयास नै गरिरहेका छ्न् । राप्रपा, राप्रपा नेपालमात्र होइन, प्रतिपक्षी एमालेसमेत सडक संघर्षको तैयारी गरिरहेका समाचार आइरहेका छन् । राजतन्त्रवादी त अब हुने परिवर्तनपछि को प्रधानमन्त्री बन्ने भन्ने सम्मका अड्कलबाजी सार्वजनिक भइसकेका छन् । केशर विष्ट, शेखर कोइराला, सप्ीि मैनाली, कल्याण श्रेष्ठ, शुशिला कार्कीसम्मको नाम आएको छ । कोर्स करेक्शनका अनेक चर्चा चलिरहेको छ । प्रचण्ड सरकार ढल्ने, व्यवस्था नै ढल्ने, राजनीतिले यू टर्न लिने अनेक बहस चलिरहेकै छन् राजनीतिमा । सत्तारूढदेखि प्रतिपक्षीसम्म, नेतादेखि जनतासम्मको असन्तुष्टिले परिवर्तनको संकेत गरेका छन्, तर प्रश्न उठ्छ, कस्तो खालको परिवर्तन ? फागुन १ र फागुन ७ गते के हुन्छ ? ठूलै परिवर्तन हुन्छ भनिन्छ, हेरौं जनताले खोजेजस्तो परिवर्तन हुन्छ कि हुन्न ?
दुर्गा प्रसाईले राजालाईसमेत उभ्याएर गर्ने आन्दोलनको रापले यो भ्रष्ट शासन प्रणालीलाई खरानी बनाउला त ? कि मंसिर ७ को झैं फुस्सा होला ? तात्ने र सेलाउने हिन्दु, राजावादी वा दुर्गा प्रसाईले मात्र परिवर्तन ल्याउन सक्ने स्थिति छैन । यसमा राजनीतिक र कूटनीतिक समर्थन जरूरी छ । सबैको सहयोग भयो भने रक्तपातविहीन परिवर्तनको सम्भाबना छ । राष्ट्र र जनताका लागि अब पूर्वराजाले कम्मर कसेका छन्, जति पनि लचक हुन तैयार छन् । पूर्वराजा मिलेर अघि बढौं भनिरहेका छन् भने राजनीतिक दलहरू तर्कीरहेका छन् । पूर्वराजाले जनतालाई परिवर्तनका लागि गुहार्नेपर्ने हो ? त्यसो हो भने नेपालमा श्रीलंकाका राजापाक्षहरूको हालत देखिनसक्छ । सुरक्षित अवतरणको मार्गतिर किन राजनीतिक दल तथा नेताहरू उदासीन छन् ? तिनलाई अव्यक्त खतराले खाइरहेको त होइन ? अब चलाउन सकिन्न भन्ने बुझिसकेपछि पन्छिदा नै यिनको भलो हुने निश्चित छ, गर्छु भन्नेलाई ठाउँ छोड्दा उत्तम ।
विदेशीले भ्रष्टहरूलाई संकेत दिइसकेका छन् । सेनालगायतका सुरक्षा निकाय, राष्ट्रवादी, असन्तुष्ट कार्यकर्ता र आमनागरिक एक भए भने अवस्था भिन्न हुनसक्छ । यी भ्रष्टहरूले सडक शक्ति हेर्न खोजेकै हुन् त ? अझै चेत नखुलेकै हो त ? अब भारत, चीन, अमेरिका, युरोपले खुलेआम मद्दत गर्छन् भनेर कुर्ने होइन, परिवर्तन सम्भव छ भनेर बस्ने होइन, आमनागरिकले सडकमा उत्रनुपर्छ, भ्रष्ट र लुटाहहरूलाई तह लगाउनका लागि केही त्याग र मेहनत गर्नैपर्ने देखिन्छ । सडकमा जब जनउभार, जनअसन्तुष्टि उर्लिन्छ, यस्ता राष्ट्रिय राजनीतिमा लागेका फोहरहरू बगाएर लैजाने निश्चित छ । सबै समस्याको जड राजतन्त्र भन्नेहरूले जनतालाई निश्चित पारिदिएका छन् कि सबै समस्याका जड नैतिकहीन राजनीतिक नेता रहेछन् । तिनको स्वार्थी र भ्रष्ट चरित्र रहेछ, परिवारवाद रहेछ । हालै नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्रीले सीमा अतिक्रमणका समस्या नउठाउनु, २० करोडसम्म लगानी गर्ने विषयमा सही गर्नु भनेपछि यो सरकारले निहुरीमुन्टी न गरेर सही ग¥यो, आदेश मान्यो । १५ मिनेट गोप्य छलफल गरेका ओलीले त्यसपछि सडक संघर्षमा जाने र यो सरकारलाई फाल्ने निर्णयमा पुगेका छन् । सत्ता बचाउनका लागि युक्रेनको पक्षमा लागेका प्रचण्ड ताइवान चीनकै हो भन्ने भाषण ठोक्न पुगेका छन् । द्वैधचरित्र र भ्रष्ट व्यवहारले यो व्यवस्था नराम्ररी गनाइसकेको छ । यो व्यवस्था र यी शासकको दिनगन्ती सुरू भइसकेको छ । यो समय हरेक नेपाली राष्ट्र बचाउन अघि सर्ने बेला हो ।