मान्छे, मानव जाती संसारकै सर्वश्रेष्ठ प्राणी । सर्वश्रेष्ठ प्राणीमा पनि दुई लिंग छन् ति हुन् स्त्री र पुरूष । स्त्री पुरूषको रचनामा शारिरीक बनोट फरक छ तर शरिर बनाउने मेटेरियल एउटै छ–हाड, छाला, मासु, रगत ईत्यादी । मगज पनि उस्तै मेटेरियलबाट बनेको छ तर त्यो मगज, मन, मुटुले सोच्नेबेला किन फरक सोचेको हुन्छ ? किन फरक बोलेको हुन्छ ? किन भेदभाव गर्न सक्छ ? यो भेदभाव, उचनीच, ठूलोसानो, धनीगरीब, राम्रो नराम्रो यै मानव जगतमा मात्रै हुन्छ । रीसडाहा, ईष्र्या, घमन्ड मानिसमै हुन्छ किन ? एकअर्कालाई कसरी नीच देखाउने दोहोरो भिडन्त हुन्छ मानिसमा । आफू संधै शुद्ध, सफा, ईमान्दार अरू जति बैमान ठान्छ मान्छेले नै । यस्तै प्रबृतिको ठूलो बहस गर्नु पर्ने बिषय छ–बलात्कार पिडितबाट जन्मेका बच्चाहरूको संरक्षण र जिम्मेवारी ।
जतिजति प्रबिधिको बिकास हुंदै गयो त्यति नै चुनौतीहरू पनि थपिएको छ मानव जीवनमा । हिजोआज हामीकहाँं निकै चर्चाको बिषय बनेको छ बलात्कार । बलात्कार पिडक र पिडीतको पक्षधरहरूको दोहोरो भिडन्त छ । यस बिषयले सन्जालमा आगो लागेको छ । केही समय अगाडी एकजना सेलीब्रेटी हिरो अनि सेलीब्रेटी गायिकाको बिषयमा कुरूक्षेत्रको युद्ध जस्तै भयंकर युद्ध चल्यो ।
यी दुबैथरी कहीं न कहीं चर्चित नाम भएका कारण सन्जाल, मिडियाहरूमा थुप्रै बहस, पटाक्षेप चले तर यस्ता बलात्कारका घटना हामीकहां दैनिक घटेका छन्, जुन पात्रहरूको बिषयमा आफ्नो धारणा भनेको बलात्कारीलाई फाँसी दे÷केटीले फसाइछ आदी ईत्यादी मात्रै हुन् ।
बलात्कार एक त पुरूषले गर्दैन । बलात्कार त आत्मामा राक्षसी प्रबृतिले घरजम गरेको या आत्मा मरेको मान्छेले गर्छ । त्यसैले हरेक पुरूष बलात्कारी होइन । जन्म दिएको बाउले बलात्कार गर्छ, हरेक बाउ बलात्कारी होइन । सहोदर दाजुले बलात्कार गर्छ, मामाले बलात्कार गर्छ, सबैका त्यस्ता बलात्कारी त छैनन् नी । हामीले धारणा के बनाउंछौं भने पुरूष जाती नै बलात्कारी हो । यो धारणालाई अलिकति फरक बनाउनु प¥यो । मैले उठान गर्न खोजेको बिषय बलात्कार पिडीतबाट जन्मेको बच्चाको रेखदेख कसले गर्ने ? भन्ने हो ।
मेरो बिचारमा त बलात्कारबाट रहेको गर्भ अझ त्यो पनि हाडनाता करणीको कति पिडादायी होला हामी एकपल्ट गम खाऔं त । यो बिषयमा कतैबाट चर्चो चलेको पाइन ।
रोल्पाकी एकजना १३ वर्षीया बालिकाको पेट अस्वाभाविक रूपमा बढ्न थालेपछि विद्यालयका शिक्षक–शिक्षिका आश्चर्यमा परे । तैपनि बालिका विद्यालय आउन छोडिनन् । एकदिन बालिका चक्कर लागेर स्कुलकै चौरमा ढलिन् । अस्पताल पु¥याएपछि थाहा भयो, ती बालिका ९ महिनाकी गर्भवती रहिछन् ।
पेटमा बसेको गर्भबारे सोधपुछ गर्दा बालिकाले आफू काकाबाट बलात्कृत भएको कहालीलाग्दो घटना सुनाइन् । हप्ता दिनमा बालिकाले बच्चा जन्माइन् । त्यसपछि पीडित परिवारले बालिकामाथि करणी गर्ने काका विरूद्ध २०७७ साल साउनमा, प्रहरीमा जाहेरी दिए प्रहरीले अनुसन्धानपछि मुद्दा चलायो । जिल्ला अदालत रोल्पाले २०७७ सालमै पीडक काकालाई २० वर्ष कैद हुने फैसला ग¥यो । आफूमाथि अन्याय गर्ने काकालाई जेल सजाय भएपछि बालिकाले कानुनी रूपमा मुद्दा जितिन् । काका जेल परे ।
तर, छरछिमेकी र आफन्तहरूले यसलाई राम्रो मानेनन् । ‘काकालाई जेल हालेको’ भन्दै छरछिमेक र आफन्तले उल्टै उनीमाथि लाञ्छना लगाए । यसमा गाउँले पनि मिसिन पुगे । बिरामी बालिका समाजको लाञ्छनाले थप विक्षिप्त भइन् । उनको पक्षमा बोलिदिने कोही भएन । बालिकाले गाउँ नै छोड्नु प¥यो । अहिलेसम्म पनि उनी घर फर्कन सकेकी छैनन् । दुई वर्षयता उनी फुपूको शरणमा बसेकी छन् ।
अर्को यस्तै एउटा घटना छ, रोल्पाको । आमाको मृत्युपछि बावुले १८ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरे । यो क्रम लामै समयसम्म चल्यो । बावुले गर्भनिरोधक चक्की खुवाएर पनि करणी गरिरहे । यसैबीचमा बालिका गर्भवती भइन् । उनको पेटको गर्भ ८ महिनाको भएपछि घटना बाहिर आयो । २०७८ माघमा बालिकाले बावुविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिन् । प्रहरीले अनुसन्धान पछि अदालतमा मुद्दा दर्ता ग¥यो । जिल्ला अदालत, रोल्पाले पीडक बावुलाई २४ वर्ष कैद फैसला ग¥यो । बावु जेल परे ।
पीडित बालिकाले बच्चा पनि जन्माइन् । यसपछि बालिकालाई झन् ठूलो समस्या आइप¥यो । घटनापछि पीडित किशोरी गाउँ बस्न सक्ने स्थिति रहेन । आफन्त र छरछिमेकले घृणा गर्न थाले । उनी र उनको बच्चा माथि तथानाम बचन लगाउने काम हुन थाल्यो । केही दिन सहेर बसे पनि ‘बावुलाई जेल हालेर घर बसेकी’ भनेर उनीमाथि समाज नै खनिन थाल्यो । यी त प्रतिनिधी पात्र मात्र हुन् । यसरी आफन्तकै करणीमा परेका ती नानीहरूले बाउले काकाले बोकाएको भुँडी बोकेर समाजमा हिड्नुपर्दा कस्तो अवस्था कस्तो ब्यावहारको सामना गर्नुपर्छ होला ? के यो सहन सकिने पिडा हो ?
राज्यले भ्रुणहत्यालाई कानूनतः अपराध त मानेको छ तर ती कानून मिचेर भ्रुणहत्या गर्ने आजसम्म कतिलाई कारवाही भयो ? भ्रुणहत्या माथिका जस्ता पात्रले कदापी गर्न सक्दैनन् । बलात्कार बिरूद्ध, महिला हिंसा बिरूद्ध आवाज उठाइरहेका अधिकारकर्मीहरूका आँखामा यो बिषय कहिले पर्ला ?
हाम्रो समाज कति कठोर छ यो त ती पीडिताहरूको अवस्थाले छर्लंगै पारिदिन्छ । बलात्कारी बाउले जेल सजायं पाउँदा समाजका क्रुर आत्माहरूले त्यै बालिका दोषी देखे, उसैलाई गलत बनाए, पिडक बिचरा भयो, पिडीत अपराधी भइन् । यसउसले उनले त्यो पापी बाउको सन्तान बोकेर सडकछाप बन्दा ती युवतीप्रति सकारात्मक सोच कसैले राख्न सकेनन् । यो भन्दा ठूलो बिडम्वना के हुन सक्छ ? समाजशास्त्री बोल्दैनन् ।
मैले माथी नै भनिसकें मानिस सर्वश्रेष्ठ प्राणी भएर पनि सारा अत्याचार बिभेद किन गर्छ ? यदी हाडनाता करणीबाट जन्मेको बच्चाको जिम्मेवारी पिडकले लिन्थ्यो वा दिइन्थ्यो भने केही फरक अवस्था हुन्थ्यो की ? राजनीति, राज्य किन मौन छ ? सबै बलेको मात्रै आगो ताप्ने भएर होला दुरदराजका पिडीताको बिषयमा मुख बाँधेर बस्छन् । डलर झार्न पाए दाजुसँगै गलत सम्बन्धमा रहेर बिहे गर्न पाइन भन्दै आत्महत्या गर्ने कुलक्षणाको लागि पनि नारा जुलुस गर्छन् । आउनुहोस करणीबाट जन्मेका बच्चाहरूको जिम्मेवारी सम्बन्धी छलफल गरौं । आफ्नो ज्यान आफै पाल्न नसक्ने नानीहरूलाई थप कलंकित भार नबोकाउन के गर्दा ठीक होला ?