प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - -
एमसीसी लागू भयो भने ज्यान दिन तैयार थिए कतिपय कम्युनिष्ट नेताहरू । कतिपय कांग्रेसजन पनि समर्थन र विरोधमा उभिएका थिए । खासगरी माओवादी लीलामणि पोखरेल र कांग्रेसका गगन थापाहरू जबदेखि एमसीसी पारित भो र कार्यान्वयनमा गयो, चूपचाप छन् । तिनको जिब्रो तालुमा टाँसिएको छ । सबै हराएका छन् ।
तत्कालीन समयमा देखिएका एमसीसी परियोजनाका नाङ्गा समर्थकहरूः बर्षमान पुन, प्रदिप ज्ञवाली, बिष्णु रिमाल, पुष्प कडेँलहरू थिए । ती सबै संसदबाट एमसीसी पारित भएपछि मौनता साधेर बसेका छन् । हुन त यी सबै सत्ताका पुजारी हुन्, सत्ता दाहिना हुँदा यिनले नबोल्नु बुझ्न सकिन्छ ।
मानिसलाई लोभ र स्वार्थले कमजोर बनाउँछ । जो समर्थक थिए, बिरोध गर्थे, ती सबै स्वार्थको बसमा कमजोर बनेका हुन् । यिनीहरू अव सशक्र हुने सम्भावना ज्यानै न्यून बनिसकेको छ । अब यिनले बोल्नुको अर्थ पनि बाँकी रहेन ।
एमसीसी परियोजनाका अर्धसमर्थकहरूः भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्तहरू थिए, ती पनि स्वार्थको सुगन्ध र स्वादमा रमाइरहेका छन् । लठ्ठिरहेका छन् ।
एमसीसी परियोजनाका खुला विरोधकर्ताहरूः देवप्रसाद गुरूङ, भीम रावल, लिलामणी पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृकाप्रसाद यादव, मणीचन्द्र थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्ठलक्ष्मी शाक्य, भरत दाहाल, युवराज सङ्ग्रौलाहरू रहेका हुन् । भरत दाहाल र युवराज बोल्दैछन्, बाँकीको मुखबुझो लागिसक्यो ।
समर्थक, अर्धसमर्थक, विरोधकर्ताहरू जो हुन्, उनीहरूले राष्ट्रलाई ध्यानमा राखेर सोचेनन् । मेरो विचारमा जब तपाईंको सरलता, सोचाइको उचाई, गहिराई र महत्व बुझिदैन; यति बुझ्नुस् कि तपाईं त्यहाँको लागि होईन अन्तै कहिँ कसैको लागि उपयुक्त हुनुहुन्छ ! अहिलेसम्मको तपाईहरूको व्यवहारले पनि यही प्रमाणित गरेको छ ।
आफुलाई वामपन्थी भन्ने कुन कुन पात्रहरू कसरी प्रस्तुत भएका छन् र कस्तो भूमिका निर्वाह गरेकार्छन् भनेर जनताले नजिकैबाट नियालिरहेका छन् । वामपन्थीहरूमा यो कुराको हेक्का रहोस् । भोलि पछुताउने समय पनि बाँकी नरहनसक्छ ।
नेपालमा एमसीसीको कार्यान्वयन र भारतको नीति–
इण्डियाको नेपाल नीति फेल भइसकेको अनेक प्रमाणहरू छन् । यसमा एमसिसी पनि एक हो । नेपालका सन्दर्भमा उसले पुनरावलोकन गरेन भने दक्षिण एसियामा एक्लिन धेरै समय लाग्नेछैन । मलाई लाग्छ कि इण्डियाले आफ्नो नेपाल नीति सुधार गर्ने हो भने चीन, नेपाल तथा इण्डियाको सम्बन्ध र क्षेत्रीय स्थिरता अनि विकास ठोस रूपमा सम्भव छ । नेपालमा जेजस्तो राजनीतिक उतारचढाव देखिएको छ, राजनीति नयाँ कोर्षतर्फ उन्मुख भएको छ । मेरो विश्वास छ– नेपाली मौलिकता स्वाभिमान सदैव उँचो रहनेछ । श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानले बाह्य हस्तक्षेपका विरूद्ध स्वाभिमानको यात्रा तय गरिसकेका छन् । अब पालो नेपालको आएको छ !