पुस १४ गते, स्व. श्री ५ वीरेन्द्रको ७९औं जन्मजयन्ती राष्ट्रभक्तहरूले धूमधामले मनाए, राष्ट्रवादी राजाको स्मरण गरे । राजा वीरेन्द्रलाई अन्तर्राष्ट्रिय स्तरमा समेत श्रद्धाले हेरिन्छ । श्री ५ वीरेन्द्रको राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा विभिन्न समयका सकारात्मक भूमिकाप्रति चीरकाल पर्यन्त सम्झना गरिनै रहनेछन् । स्व. श्री ५ वीरेन्द्रप्रति हामी पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । स्व.श्री ५ वीरेन्द्र अमर रहुन् ।
पूर्व राजा ज्ञानेन्द्रले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक कपिलवस्तुको शिवराज नगरपालिकामा अनावरण गर्नुभएको छ । यो समारोहमा आमनागरिकको उपस्थिति देख्दा लाग्थ्यो कि नेपाल गणतन्त्रमय भएकै छैन । अहिले पनि राजतन्त्र नै छ । स्वस्फूर्त रूपमा सहभागी भएका लाखौं नागरिकले गणतन्त्र सफल भयो भन्ने गणतान्त्रिक शासक प्रशासकहरूलाई गिज्याइरहेका थिए । कतिपयले त जनताको राजतन्त्रप्रतिको मोह भङ्ग भएकै छैन, राजतन्त्र पुनस्र्थापित भएको छ । नेताहरू जनताका माझमा जाँदा कुटाइ खानुपर्ने, गाडी जलाइदिने एकातिरको परिदृश्य छ भने अर्कोतिर पूर्वराजाको स्वागत र सत्कारमा जनता जुटेका छन् । पूर्वराजाको आह्वान गरिरहेका छन्, जयजयकारको गगनभेदी नारा घन्काइरहेका छन् । अब सबैले सोच्ने बेला भयो अवैधानिक रूपमा राजतन्त्रको अन्त्य गरिनु गलत रहेछ । जनताले धर्मनिरपेक्षता र गणतन्त्र मन पराएका छैनन् ।
हेरौं त परिवर्तनपछिका १७ वर्षमा देखिएका बेथिति, भ्रष्टाचार, ब्वाँसाहरूको जेमन्त रजाईं । विदेश गएर गरेको आम्दानीले जहानबच्चा पाल्छु भन्ने होनहार युवालाई समेत गोली ठोकेर मार्न थालियो । गत शुक्रवार ललितपुरका ग्वार्कोमा जसरी दुई युवालाई गोली ठोकेर मारियो, सयौंलार्य गिरफ्तार र राज्य दमन गरियो, यो सबै देख्दा लाग्छ, देशमा निरंकूश शासन छ । भएका उद्योगधन्दा कौडीका भाउमा बेच्ने, एउटा पनि उद्योगधन्दा स्थापित गरेर रोजगारी सिर्जना र निकासीयोग्य बस्तु उत्पादन गर्न नसक्नेहरू लोकतन्त्र सफल भयो भनेर गुड्डी हाँकिरहेका छन् । युवालाई मार्ने, अन्याय बढाउने, मृतक परिवारलाई केही क्षतिपूर्ति र छानबिनको नाटक गर्ला तरयो बेथिति पटक पटक दोहोरिरहने पक्का छ, किनकि यो शासन र शासक नै निरंकूश भ्रष्ट र अपराधिकरणमा उभिएको छ । बढीभन्दा बढी मुलुकसँग श्रम स्म्झौता गरेर युवा निकासी गर्ने सरकारले रेमिटान्समा सरकार चलाउला, रेमिटान्स देश विकास भएको एउटा पनि दृष्टान्त विश्वमा देखिन्न । यसरी देश भताभुङ्गमात्र हुनेछ । अब सामाजिक सञ्जालमा व्यङ्ग, गाली, आलोचन ागरेर हुँदैन । आमनागरिक सडकमा उत्रनै पर्छ । राजावादी र राष्ट्रवादी, हिन्दुवादी माघदेखि आन्दोलन गर्छौं भन्दैछन्, कोही फागुन १ गतेदेखि निर्णायक आन्दोलन गर्ने भन्छन् । जोसुकैले यो बेथितिविरूद्ध आन्दोलन गरोस्, प्रत्येक नेपाली आन्दोलनमा होमिनैपर्छ । यस्ता भ्रष्ट र नैतिकहीन शासकका अन्तहीन निरंकूशता अब धान्न सकिदैन । हिजोसम्म मुलुक असफल राष्ट्र हुन्छ कि भन्ने चिन्ता थियो, अब त मुलुकै नरहने हो कि भन्ने संशय बढेको छ । युवालाई विदेश पठाएर यी भ्रष्टहरू अकंटक राज्य गर्न चाहन्छन् । यस्ता गलत प्रवृत्तिको अन्त गरेर भ्रष्टहरूलाई लखेट्न अब सबैले होस्टेमा हैंसे गर्नैपर्छ । स्थिति यति भत्किसक्यो कि यो संविधानले चलाउन सकेन, ०४७ को संविधानले पनि नसक्ने अवस्था आइसक्यो । त्योभन्दा कडा र जनग्राह्य संविधान चाहिने अवस्था आयो ।
अब भ्रष्टहरू, नीति तथा सिद्धान्तहीनहरूसँग मिलेर अघि बढ्ने समय पनि सकिसक्यो । अब त यस्ता अपराधिकरणलाई राजनीति भन्नेहरू सबैलाई लखेट्नुपर्छ । यिनलाई दण्डित गरेर शासन सत्तामा जनअपेक्षा पूरा गर्छु भन्नेहरूलाई स्थापित गर्नुपर्छ । यसका लागि चानचुने आन्दोलनले हुँदैन, जनता सडकमा उत्रिएर आगो बाल्नुपर्छ । हरेक दिन अनियमितता र भ्रष्टाचारका खबर आउँछन् । हरेक दिन दशौं हजार युवा देश छाडेर रोजगारी खोज्दै विदेशीएका छन् । हरेक दिनका यस्ता कृयाकलापले लोकतन्त्र, गणतन्त्र देशका लागि भार भयसक्यो, अफाप शिद्ध भइसक्यो । यस्ता भ्रष्टहरूको कुत्सित मनसाय अझै पनि नबुझ्ने हो भने नेपाली अस्तित्व सकिन्छ । राष्ट्रपति पदमा आसिन व्यक्तिसमेत अपराधको साक्षी बस्छ, भ्रष्टाचार र राष्ट्रघातमा सहभागी हुन्छ भने मुलुक रहन्छ भनेर भन्नै सकिन्न । हुन त ०४६ सालदेखि नै गुमराहमा रहेका नेपालीहरूले बुझेका छन्, लाटा छैनन्, चेत खुलेको छ । तर आमविद्रोह गर्ने साहस गरिरहेका देखिदैनन् । जनताले राजाका साथमा छौं भनेर दृढताका साथ सडकमा उत्रनुपर्छ । यिनलाई जति छिटो दण्डित गरियो, देश सुरक्षित हुनेछ । यिनले मुलुक चाँडै नै सिध्याउँछन् भन्ने बुझेर अब सशक्त प्रतिकारका लागि सडक उत्रिऔं, यदि यो मुलुक बचाउने हो भने। प्रष्ट हौंm राजाको नेतृत्वबाट मात्र यो मुलुकको अस्तित्व, शान्ति, समृद्धि सम्भव छ भन्ने कुरा ।