को हो सामन्त । ‘सामन्तवाद भन्दै संघर्षमा हिडेको पनि धेरै बर्ष पो वितिसकेछ । कहिले श्री ३ फाल्न, कहिले पञ्चायत फाल्न, कहिले प्रजातन्त्र मास्न अनि अहिले खै के तन्त्र मास्न । म छविलाल हुँ । गुलेली हान्न खप्पीस म । बाफ रे बाफ, त्यस्ता भँगेराहरू त कति ढालियो ढालियो । केटाकेटीमा रामदाईले गुलेली हान्न सिकाएका थिए । मासु खाने लोभमा स्कूल पढ्न छाडेर भँगेरा मार्न हिँडेको अस्ति जस्तै लाग्छ । रामदाई गुलेली ताक्ने मात्र थिएँ । भँगेरा मर्छ भन्ने डर थियो उनलाई अनि हा ऽ हा ऽ गर्दै उडाई दिन्थे ।
बासघारी वा बकैनाको रूपमा बसेका भँगेरा मार्नु मेरो लागि ठूलो कुरै थिएन । तर रामदाई गुलेली ताकेर पनि हात लगलग कमाउँथे । उनले कमिला कुल्चेनन् होला ।
मैले भान्दाईको घर पछाडिको खोपामा गुँड बनाएका भँगेरालाई पनि छाडिन । त्यसैले होला आज मलाई म आधुनिक सामन्त सम्झिरहेको छु । अरूलाई सामन्तवाद सिध्याउनु पर्छ भन्दै हिड्ने खड्गबहादुर भन्दा म के कम छु र ? म पनि त छविलाल पो हुँ त । सामन्तवाद भन्दा पर कहाँ गएको छु र ! मध्यकालिन युगमा युरोपको सामन्तवाद पढेकै हुँ । मलाई सामन्त बन्ने हुटहुटी जागेको थियो नि । सम्मानित मास्टरी छाडेको झल्लु होस् कि स्वअध्ययन गरेरै भएपनि आफू बादसाह बनाउन खोज्ने खड्गबहादुर होस् । ती भन्दा पनि म के कम छु र ?
बाले झिम्रिक गाउँ छाडेर ढिँडो खानका गाराले भात खान तराई झारेका थिए । बा गाउँमा निकै विवेकी थिए । बालाई गाउँलेले गरेको सम्मान र मानलाई देखि सहन नसकेर गाउँ छाड्न वाध्य पारेको झल्झल्ती मैले कहाँ नदेखेको हो र ?
बा, थोरै हाँसो अनि धेरै आशु गहभरी बनाउँदै राताघरेको आँगनबाट ओरालो लाग्दै झिम्रिक गाउँ छाड्दा पारीघरेको पैरोको बाटोमा निलकाँडाले मेरो दाहिने खुट्टाले रगताम्मै पारेको पनि मैल विर्षेको छैन । खुट्टाबाट चुहिएको रगत नरोकिएपछि आमाले पातीको मुण्टा दाहिने हातको बुढी औंलाले देव्रे हातको हत्केलामा बेस्सरी मिचेर त्यसको झोल हाल्दिएपछि रगत बग्न छाडेको थियो ।
निलकाँडाको घोचाईले निकै अत्तालिएको म । हिड्न सक्दै सकिन । विचरा नाङ्गो खुट्टा कसरी हिड्न सक्थे होला र ? तप तप आँखाबाट आँसु चुहाउँदै पारी घरेको पैरोबाट दुम्सीको फाँटमा पुगेपछि भोटदमाईको बारीको डिलमा बाले बस भन्नु भयो ।
आमा भने मुण्टो यसो फर्काएर पहेलै पारेर लिपेको घरतिर नियालीरहनु भएको थियो । बाले आफ्नो शिरमा लगाएको पाल्पाली पुरानो ढाका टोपीको भित्री कपडा च्यापेर मेरो खुट्टामा बाँधिदिएपछि फेरि झिम्रिक गाउँ नफर्कने गरी सामन्तवादको अन्त्य गर्ने अड्डी नराखेको कहाँ हो र ?
बा, आमा र मलाई जसरी गाउँबाट विस्थापित गर्न वाध्य पारिएको थियो । त्यो वाध्यता कसैलाई पनि हुन दिन्न भन्ने मेरो मनमा गढिनै रह्यो जसरी निलकाँढा मेरो खुट्टामा गढेको थियो । आज परिस्थिति फेरिएको रहेछ । मेरो त्यो सामन्तवादको अन्त्य गर्ने सोच उल्टै सामन्तवादी भइसकेछ ।
सामन्तवादलाई देखाएर आफूलाई आधुनिक सामन्त बनाउन कहाँ चानचुने कुरा थियो । कसैलाई मठाधिश बनाउँछु भन्दै भ्रममा नपारेको पनि होइन । कसैलाई न्यायाधिश बनाउनु भनेर भ्रमको खेती नगरेको होइन । सबैलाई सामन्तबाट जोगाएर रैती बन्नु हुन्न भनेर सिकाइयो । सबै भ्रम रहेछ, म त आधुनिक सामन्त बनिसकेछु ।
त्यसबेला रामदाई गुलेली ताकेर भँगेरा भगाएका रहेछन् । मैले त भँगेरै खसालेपो आएको हुँ त । मेरो बानी भँगेरालाई भगाउने कहाँ हो र, भँगेरालाई ढाल्ने पो हो त ?
अरूलाई सक्दो उचाल्ने कला छ म मा । भित्तामा पुग्नेगरी फाल्ने तरिका पनि नभएको कहाँ हो र ? त्यसै अहिले म आधुनिक सामन्त वन्न सफल भएको छु र ? ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड’ छविलालको छविलाई नचिन्ने महामुर्खहरूसँग मैले के संगत गर्नु छ र ? आफैदेखि हाँसो नउठेको पनि होइन । कति बेवकुफहरू छन् भन्ने नलागेको पनि होइन । त्यसैले त होला मलाई आधुनिक सामन्त बनाएका छन् । मैले त झिम्रिक गाँउ बा र आमासँग छाडेको हो त्यही सामन्तले गर्दा । तर म त यस्तो सामन्त हुँ । सवैलाई देशै छाड्ने बनाउँदै छु । म यस्तो आधुनिक सामन्त हुँ । मैले भोगेको भन्दा पनि धेरै दुख अरूले होस् भन्छु । अरूको भलाई देख्नै नसकेर गाउँ गाउँमा मैले भँगेराहरू सिध्याएकै हो । खोपीमा गुँड लगाएको होस्, रूखको हाँगामा बनाएको होस् मैले भत्काएकै हो ।
म देखि सारा दुनियाँ थर्रथरी काँपीरहेका छन् । सवलाई तर्साउन सक्छु । मैले जे गरेपनि सव छुट छ । मेरा साना दुखले आर्जेको तन्त्र पनि होइन । त्यसैले त त्यो पुरातन सामन्त भन्दा म निकै माथि पो छु त ! आखिर म आधुनिक सामन्त जो हँु ।
मैले जे गर्छु आफ्नै लागि, आफ्नै परिवारको लागि गर्छु । छर्ने त सवलाई भ्रममात्र हो । समानता भन्ने उखान जस्तै हो बोल्ने बेलामा आउँछ । म त्यस्तो हिटलर स्वभावको सामन्त हुँ । म त आधुनिक सामन्त हुँ ।