दुर्गा प्रसाई उपचारबाट तङिग्रएर हुंकार गरे– अब नेपाल र नेपालीलाई यी भ्रष्ट राष्ट्रघातीबाट मुक्त गराउने । मंसिर ७ गते शक्ति प्रदर्शन गरेका प्रसाईको नेतृत्वमा अब परिवर्तन आयो आयो । त्यसपछि प्रसाई र उनको नागरिक बचाउ अभियान भ्रष्ट सरकारले तोकेको ठाउँमामात्र सिमित हुनपुग्यो भने बिस्तारै अभियान फासफुस हुनथालेको हो । प्रष्ट भयो, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय नगरी अभियान चलाइयो भने त्यो दुर्गा प्रसाईको अभियानजस्तै तुहिन्छ । प्रसाईले त मंसिर अन्तिम साता छुट्टै सरकारघोषणा गर्ने भनेका थिए, त्यो घोषणा पनि पानीको फोका बन्नपुग्यो । मंसिर ७ को प्रदर्शनबाट सरकारसमेत तर्सेको थियो, बिस्तारै प्रदर्शन मत्थर हुँदै गयो । आशंका गर्नेहरूले त सरकारले नै प्रसाईसँग साँठगाँठ मिलाएको पनि भनेका छन् । तर हालैका उनका हुंकार सुन्दा लाग्छ, प्रसाई थाकेका छैनन्, आन्दोलित नै रहेका छन् ।
उता राप्रपा पनि माघबाट सडक आन्दोलनको बिगुल फुक्ने भनेर झ्याली पिट्न सुरू गरेको छ । कमल थापाको राप्रपा नेपाल पनि केही दिनमै बृहद आन्दोलनको तैयारीमा जुटेको बुझिन्छ । उता केशर बहादुर बिष्टको अभियानलगायत जोगी भोगी एवम् हिन्दुवादी संघसंस्थाहरू अहिले आन्दोलनमै देखिन्छन् । मन्त्री सुदन किरातीको भाषण बजारमा आएपछि हिन्दुवादी झन तातेका छन् । पशुपतिनाथ मन्दिरदेखि जिल्लाजिल्लामा ससाना हिन्दुवादी झुण्डहरू आक्रोसित मुद्रामा देखिन्छन् । यसरी टुक्रे झुण्डे आन्दोलन सफल होला त ? नेपाली सेना पनि यस्ता धार्मिक हिंसा भड्काउ भाषणको बिरोधमा हुनेछ भन्ने आश गर्नेहरू धेरै थिए । प्रधानसेनापति प्रभुराम शर्माले संसदको राज्यव्यवस्था समितिमा माननीयज्यूहरू सेनालाई पञ्चायतकालीन जरसाव नठान्नुहोस् भनेपछि धेरैले ठुस्सता व्यक्त गरेको पनि देखियो । उता भारतमा नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर आन्दोलन भइरहेको छ, नेपालमा हिन्दुवादीहरूको यस्तो उदासिनता छ । हुन त भारतमा भएको आन्दोलन भारतीय हिन्दुहरूको भोट तान्ने भारतीय सत्ताधारीको रणनीति होला । नेपाली हिन्दुवादीहरू सत्ताधारी मन्त्रीले क्रिश्चियनलाई बिरोध गर्नेलाई हतकडी लगाएर जेल हाल्ने हो भन्दा पनि आन्दोलित हुँदैनन् भने यी कस्ताखाले हिन्दुवादी हुन् ? यो सत्ताधारीले मच्चाएका अनेक काण्डहरूका कारण दुबै क्षिमेकी र अन्य मित्रहरूको सुरक्षामा समेत प्रश्न उठेको छ । उनीहरूको बदनामी पनि भइरहेको छ । आन्तरिक रूपमा असक्षम र असफल तथा कूटनीतिक रूपमा पनि तरल बनेको सत्ताधारीलाई सबै मिलेर परिवर्तन गर्नेछन् भन्ने एउटा बलियो कोण पनि रहेको छ । खासगरी सांसद अमरेश कुमार सिंहले प्रचण्ड र शेरबहादुर देउवा र उनका परिवारबारे तथा तिनका विदेश भ्रमण र गतिविधिहरूको एकएक रिपोर्ट सार्वजनिक गरेकाले ती रिपोर्टहरू विदेशीले नै उनलाई दिएको हुनसक्ने लख काट्न सकिन्छ । यसरी हेर्दा नेपालका मित्रहरू पनि यो सत्ताबाट खुश नभएको बुझ्न सकिन्छ । तथापि आन्दोलनले किन उचाइ लिन सकिरहेको छैन भन्ने सवालको जवाफ भेट्टाउन सकिन्न । फागुन ७ पछिको आन्दोलन चर्किन नसक्दा सत्ताधारीलाई हाइसन्चो भएको देखिदैछ । सबैखाले भ्रष्टहरूको एउटै राग छ– गणतन्त्रको बिरोध गर्नेहरू राष्ट्रबिरोधी हुन् । प्रम प्रचण्डदेखि विपक्षी ओलीसम्म खबरदार भनिरहेका छन् । बहुसंख्यक जनता सामाजिक सञ्जालमा ज्यादै कुर्लिन्छन्, सडकमा पुसे ठण्डीले चिस्सिएकाजस्तो लाग्छ । सडक आन्दोलनमा आउन छाडेका छन् ।
यस्तो नाममात्रको आन्दोलनबाट तर्सिएर यी भ्रष्टहरूले गद्दी छाड्लान् ? व्यवस्था परिवर्तन होला ? विधिको शासन स्थापित हुनसक्ला ? सामाजिक कानुनको उल्लंघन गरेर १५ करोड खर्च गरेको बिहे पनि देखियो । आन्दोलनको नेतृत्व गर्नेहरू बिकाउ छन् भन्ने बुझेका सत्ताधारीहरूले राम्ररी बुझेका छन् । कतिपय अवसरवादी बिहान बेलुकाको भातभान्सा चलाउनकै लागि यिनै भ्रष्टहरूका कार्यकर्ता जो बनेका छन् । यतिभएपछि सत्ताधारीहरू यस्ता छिटफुट आन्दोलनबाट किन डराउँथे र ? प्रश्न राष्ट्र बचाउने र नेपाली बाँच्ने हो । नेपालीत्व गुमाए पनि नेपाली बाँच्लान्, नेपाल बाँच्न सक्दैन । अवसरवादी र भ्रष्टहरूले देश र जनताको अस्तित्व सिध्याउने भए । हरेक मिडियामा बलात्कार, ठगी, तस्करी, हत्या, भ्रष्टाचारका समाचारमात्र देखिन्छन् । स्थानीयदेखि राष्ट्रियस्तरसम्मको यो बेथिति बढ्दो छ, चिन्ता कसैलाई छैन । हिजो होस् वा भोलि, जनताले यिनै भ्रष्टलाई भोट हाल्छन्, चुनाव जिताउँछन् । यस्ता जति अत्याचार पनि सहने जनताले यो पद्धति फेर्न अघि सर्छन् भनेर विश्वास गर्न गाह्रो छ । यस्तै स्थिति रहने हो भने दुःखका साथ भन्नुपर्छ– देश जाने भयो, नेपाली सकिने भए ।