चित्रबहादुर त्यही कुराले दुखि छन् । गाँउमा हलो जोतेरै भएपनि जीवन निर्वाह गर्ने उनी, भीरपाखा मै आफ्नो सम्पूर्ण जीवन विताइरहेछन् ।
त्यही भिरपाखामा प्रशस्त अन्नपात फल्थे । थरिथरिका फलफूलहरू फल्थे । सक्दो खाने, छिमेकीलाई बाँढ्ने अनि बढीभएको विक्री वितरण गरी गरेर दुइचार पैसा हातमा हुन्थ्यो । तर अहिले चित्रबहादुर बाँझो खेतबारी हेरेर चित्त बुझाईरहेका छन् । आफूले खनजोत गरेर खाद्यान्न प्रशस्त उब्जनी गरेर त्यही विक्री गरेर पढाएका छोराछोरीले गाउँ छाडेको पनि निकै भईसकेको छ । चार भाई छोरा मध्ये तीन भाई त मुग्लान छिरेको पनि धेरै भयो । एउटा छोरो पनि पल्लो जिल्लामा जागिरे गर्छ । तर त्यसबाट उ सन्तुष्ट छैन । सधैं पीरका कुरा गर्छ ।
चित्रबहादुर उसकी जहानका साथमा गाउँमा मात्र बस्थे । तीन तल्ले घर दुईतल्लामा त चिटिक्क परेको बार्दली नै छ । आँगन विछ्याएको टेलिइँटामा नाङ्गै खट्टाले उफ्रिदै खेलेर हुर्किएका चारै भाई छोराका लागि सेतो कमेरोले भित्ता लिपेको, रातोमाटोले पिंढी पोतेको अनि झ्याल ढोकामा लगाएको निलो रङ्गले कत्ति सुहाउथ्यो घर । तर आज...
कमेरो पनि विस्तारै खुलिएको छ । यसपालीको दशैंमा चित्रबहादुर की जहान भुण्टी थला परेकै कारण कमेरो लिन जान सकिनन् । त्यही भएर फुङ्ग उडेको छ ।
चित्रबहादुरले घर छेउ पहिराको छेउमा रोपेको सौर रूखको पात क्रमश झरे जस्तै उनको जीवनका खुशीहरू पनि झदै गईरहेका छन् । मंसिरको महिना आँगनमा सुकाएको धान भरी पहेँलै सौरका पातले ढाकेको छ । त्यही पात बल्ल तल्ल पन्छाउँछन् । अनि त्यही पात झरेको सौरको रूखलाई टोलाउँछन् हेर्छन र आँसु झार्छन् ।
चित्रबहादुरले निकै संघर्ष गरेर डाँडामा बनाएको त्यो घर अनि पहिरो डर । त्यही डरले युवा अवस्थामा सौरको रूख रोपेका थिए । जसरी सौरको रूख मौलाउँदै गयो चित्रबहादुरका घरमा क्रमश चार भाई सन्तान मौलाउँदै गए । आज त्यही घर विरानो भएको छ । पात झरेर खिङ्रिङ्ग छ ।
डोलको खेतको धान प्रशस्तै हुन्थ्यो । पारीबारीमा टन्नै मकै र फापर उत्पादन हुन्थ्यो । बनपालेको जागिर पनि गरेका थिए चित्रबहादुरले । तर त्यो सवै इतिहास भयो आज । तिहारको टिकाको दिन उसकी जहानलाई दैवले चुँडेर लग्यो । एक्लिए चित्रबहादुर । जीवन झन उजाड भयो
चारभाई छोरा थिए । कसैले पनि आमालाई छुनै पाएनन् । कोही जापान, कोही अमेरिका, कोही अष्टे«लिया उतैबाट चित्रबहादुरसँग भक्कानिएर रोए । ‘बा जे हुनु भईगो हामी टाढा छौं, भाग्यले दाहसंस्कार गर्न पनि आउन पाउने भएनौ, अव कुनै बाहुन राखेर आमाको सम्पूर्ण काम गरिदिनु होला !’
चित्रबहादुर निशब्द छन् । बोल्न सकिरहेका छैनन् । ११ बर्षको उमेरमा भित्र्याएकी जहानलाई दैवले पनि हरेर लग्यो । छोरा बुहारीलाई भन्दा सयौं गुणा बढी पीर, चिन्ता र पीडा त चित्रबहादुरलाई पो छ त ।
उही सौरको पात झरेको रूख जस्तै भएका छन् अहिले चित्रबहादुर एक्लो । ८० लाग्दै गरेका चित्रबहादुरलाई कमेरोले पोतेको त्यो घर, त्यो फलैँचा, बार्दली पनि विरानो भएको छ । आफ्ना उमेरका सवै कोही तेल भिषा त कोही कुन भिषामा फिरङ्गीका देश पुगिसकेका छन् ।
उनलाई पनि तीन भाई छोराले नबोलाएको त कहाँ हो र ? आफू जन्मेको माटो नै प्यारो लागेर उनले गाउँ छाडेनन् । तर गाउँ त शुन्य थियो । त्यही शुन्य गाउँमै संघर्ष र रगत पसिना बगाएकाले चित्रबहादुर माटोको निकै माया गर्छन् आज पनि ।
यो माटो, यो घर उनका चार भाई छोरालाई कहिल्यै मोह भएन ।
चित्रबहादुरका आँखा ओभाएका छैनन् । आज अझ बढी भएको छ । तीन भाई छोराले चित्रबहादुरलाई गाउँमा भएको जायजेथा बेचेर उतै आउन भनेका छन् । तीनवटैलाई घरगाडी खरिद गर्न गाह्रो भयो रे ! ‘गाउँमा भएको त्यो लामपाटोको के काम ?’ डोल के गर्न चाहियो र अनि सिमखेतको त कामै छैन रे ! ’ त्यही भएर आमाले छाडेको ४५ दिन पनि हुन नपाउँदै चित्रबहादुरसँग निकै संघर्ष गरेर हुर्काएका छोराहरूले घरखेत बेचेर विदेश पठाउन उर्दी जारी गरेका छन् । चित्रबहादुर आँगनको डिलमा बसेर, त्यही आफूजस्तै बृद्धि सौरको रूखसँग पीडा पोख्दै छन् । उनको कुरा सुनिदिने पनि कोही छैन । बुझिदिने पनि कोही छैन ।
हुन त गाउँ नै रित्तो छ । गाउँका हरेक मूल ढोकामा ताल्चा झुण्डिएका छन् । चित्रबहादुर त्यही सौरको रूखलाई बह पोखिरहेका छन् । ‘अव म यहाँ कसरी बसुँ’ मैले यो घर मात्र रित्तो देखिरहेको छैन । मेरो गाउँ नै रित्तो छ । कसका लागि म यहाँ बसौं । कसलाई कुरेर बसौं ?
चित्रबहादुर एकटकले सौरको रूखमा टोलाउँदै आँखाबाट बलिन्द्र आँशु झादै एक थोपा पानी पिलाउनेको आशाामा डङरङ ढल्छन् । सायद अव चित्रबहादुर फर्केने छैनन् । उनका चारभाई छोराले उनको मुख कहिल्यै देख्न पाउने छैनन् ।
कवि अर्जुन पराजुलीले भने जस्तै भएका छन् गाउँ । अव केही समय पछि देश नै त्यस्तै हुने संकेत देखिएको छ ।
बोल्ने कोही छैन गाउँमा बोल्ने कोही छैन
पाहुना आउँदा घरको
ढोका खोल्ने कोही छैन ।