घुम्ने मेचमाथि अन्धो मान्छे, भूपि शेरचनले उहिल्यै यो कविता लेखेका थिए । आज पनि नेपालको परिदृश्य त्यो कविताभन्दा भिन्न छैन, फरक केही छैन ।
मज्जाले घुम्ने कुर्सी रैछ । लच्किँदो पनि रहेछ । टिके नियुक्ति पाएलगतै जिम्मेवारी सम्हाल्न पुगेको हर्केले सरकारी कुर्सीमा बस्नासाथ फुस्एिको बोली । वरपर त्यही कार्यालयका हनुमानहरू थिए । हर्केसँगै थियो अर्को पावरवाला चश्माधारी फुर्के प्रशासक । हर्केको आहा ! शब्दले फर्के प्रशासकको मन फुरूङ चरी उडेजस्तै उड्यो । दंग पर्दै, चश्मा यसो नाकको डाँडीमा सार्दै फुर्केले भन्न थाल्यो, ‘श्रीमान्, यो हजुरका लागि आजै मात्र जिन्सीबाट झिकाएको । हजुरको कोठामा अत्तर पनि छरिदिएको छु ।’ दायाँ कुनामा देखाउँदै, त्यो गुलाफको फूल नक्कली हैन हजुर नर्सरीबाट ल्याएको । त्यो चाहिँ हप्तै पिच्छे फेरिन्छ । अनि यो चाहिँ बास्ना आउने इन्द्रकमलको फूल हजुरलाई मन पर्छ भनेर ‘महारानी’ ले तार चिठ्ठीमा भन्नु भाकाले । ठीक छ नि हजुर । यति भएपछि ।
चश्माधारी फुर्के प्रशासकको गणेशाय नममा दंग परेका हर्के मुस्कुराउँदै भन्छ, ‘ठीकै छ, यो नयाँ चाहिँ नकिनेकै भए हुन्थ्यो, पुरानैले काम चलाएको भए भइहाल्थ्यो नि । सोध्दै नसोधी किनिहाल्नुभएछ । ठीक छ ।’
मुस्कुराउँदै प्रशासक फुर्के भन्छ, ‘हैन हजुर यो त सिस्टम हो । पुरानो श्रीमान् गएपछि नयाँ श्रीमानलाई नयाँ चाहियो नि ।
फुर्के प्रशासकसँग नेपाली फाइल बायाँ हातको काखीमा च्यापेर बसेको टंकेश्वरले नयाँ घुम्नेकुर्सीमा बसेका साइँदुवालाई बिन्ती गर्छन् । घरमा महारानीका लागि कुन सवारी पठाउँ हजुर ? रातो कि सेतो ? दुवै नयाँ नै हुन्, अस्ति भर्खर टेण्डरबाट आएको । साइँदुवाले दुवै हातमा लड्डु भनेजस्तो । आउन पाको छैन सुविधै सुविधा । केही घण्टा अघिसम्म हर्केकी स्वास्नी केही घण्टा पछि नै ‘महारानी’मा परिणत । उसका कानले दिव्य वच मात्र सुन्न पाएका छन् ।
कार्यालयको ढोकाबाहिरदेखि नै एउटा लस्कर छ । सयपत्री फूलमा जरी मिसाएर उनेका माला हर्केलाई लगाउन आतुर छन् । सबैको मुहारमा यति खुसी देखिएको छ कि मानौं १८१६को सुगौली सन्धिमा गुमेको ‘अखण्ड नेपाल’ नै जितिसक्यौं । हर्के मनमनै फुरूंग छ । साला ! यो गणतन्त्र त्यसै त कहाँ ल्याका रैछन् र ? म जाबो हर्केले एउटा नियुक्ति पाउँदा त यस्तो बिध्न छ । यो भन्दा ठूलो पद पाउनेहरूको अवस्था के हुन्छ ? टुँडिखेलमा सुकिलामुकिला भन्दै कुर्लेका छविलाल हुन् किन मान्छेको भीड हेरेर उखानको रस स्वाद पस्कने खड्गप्रसाद किन छाड्थे पद । त्यसै भकभकेलाई फेरि पनि प्रधानमन्त्री चाहिया रैछ र बल्ल पो कुरा बुझ्दै छु । हर्के एकोहोर भित्तामा टाँगिएको सहिदहरूको फ्रेममा हेरेर टोलाउँछ ।
हर्के टोलाएको देखेर वरपरका गणेशहरू मुखामुख गर्छन् । चश्माधारी फुर्के प्रशासक देब्रे हातले आफ्नो नाकको डाँडीमा अड्काएको चश्मा अलि माथि सारेर नयाँ साइँदुवालाई तलदेखि माथिसम्म नियाल्छन् । अनि मुख मिठ्याउँदै भन्छन्, ‘के भो हजुर’ ?
प्रशासकको आवाजले झस्किँदै हर्के भन्छन्, सहिदहरूको नाममा एकछिन ‘मौनधारण’ गरेको ! कुर्सीमा बस्नुभन्दा पहिले उनीहरूलाई स्मरण गर्नुप¥यो नि ! उनीहरूकै बलिदानबाट प्राप्ति उपलब्धि पो हो त । हर्केको कुरामा सहमत जनाउँदै टकेश्वरले बोली फुटाउँछ । हो हजुर उनीहरूसँग हजुरहरूले निक संघर्ष गर्नु भएको थियो र पो आजको दिन आयो त ।
टंकेश्वरले च्यापेको फाइल तान्दै फुर्के प्रशासकले टेबलमा राख्छन् । हजुर अव पदबहाली गरेपछि पहिलो एउटा साधारण टिप्पणीमा सदर गर्नु पर्छ हजुर । रेकर्ड फाइल भित्रको नेपाली कागजमा लेखेको टिप्पणी बुझाएको जस्तै गरी फुर्केले फुर्काउँछ ।
हर्केले पढ्न त के भ्याउने उनै फुर्केलाई के गर्नुपर्ने हो भन्दै सोध्छ । केही छैन हजुर कर्मचारी कै साधारण सेवा सुविधाको कुरा छ । हजुरले सदर लेखिदिए हुन्छ, रातो कलम थमाउँदै फुर्केले फुक्र्याएर भन्छ । हर्के सदर लेखेर हस्ताक्षर गर्छ । भयो हजुर यत्ति भए । अब हजुरलाई शुभकामना दिन साथीहरू कुर्नु भएको छ त्यो सकौं अनि हजुरको निर्देशन चाहियो । फुर्केले अझ राम्ररी चिप्लोघस्दै प्रस्ट्याउँछ ।
फुर्केले भनेजस्तै हर्केले कार्यालयमा कार्यरत गणेशजीहरूको शुभकामना लिन्छन् र निर्देशन दिन्छन् । ‘हेर्नुस् हामीहरू ‘घिउ खान्या र दूध खान्या’ कामलाई आजैदेखि बन्द गर्नुपर्छ, बुझ्नु भो नि ? धेरैले त्यही विषयमा चिन्ता गरेका छन् । यो कार्यालय त्यही कारण पनि बद्नाम भएको छ । त्यसकारण तपाईंहरू जे सुकै भन्नुस्, आजबाट कुनै पनि नगद वा जिन्सी उपहार लिन छाड्नुस् । त्यस्तो थाहा भयो भने राम्रो हुने छैन । विगतमा जे भयो भयो । अब नयाँ जोशका साथ सहिदको सपना साकार पार्नु पर्दछ । काम गरेर देखाउनु पर्छ ।
नाक डाँडीमा अड्काएको चश्माको थोरै माथि आँखा पारेर फुर्केले थप्छ, हजुरको निर्देशनअनुसार नै कार्यालयका काम हुन्छ हजुर । सरकारले तलब, सेवा सुविधा दिएको छ । हामी त धेरै भाग्यमानी छौं हजुर ।
फुर्केको कुरासँग हर्के सबैलाई आ–आफ्नो कार्यकक्षमा गएर काम गर्न निर्देशन दिन्छन् । सबै बाहिरिन्छन् । अब फुर्के प्रशासक र हर्केमात्र छन बन्द कोठामा । फुर्केलाई केही भनौ भनौ लागिरहेको छ । हर्केलाई पनि केही सोधौं सोधौं भइरहेको छ । दुवै एक अर्काको मुखामुख गर्छन् । अनि हर्केले फुर्केलाई भन्छ, ‘केही सोध्नु खोज्नुभएको हो ?’ भन्न मिल्ने हो कि नमिल्ने हो हजुर ? फुर्केले चिप्लो घस्छ ।
भन्नुस् भन्नुस् किन नमिल्ने ? हर्केले भन्छ । फुर्के आँट गरेर भन्छ, ‘हजुरको निर्देशन अलि कडा भयो कि भनेर । अब बिरालोलाई दूध नखा भनेर नि हुन्छ त हजुर ? यहाँ आउनेहरू कसरी आउँछन् भन्ने कुरा त हजुरलाई पनि थाहा होला
नि ? हर्के सम्झाउँछन् ।
तपाइँ पनि कस्तो मान्छे । त्यो भाषण गर्ने बेला भन्ने कुरा पो त ! यहाँ सुन्नुस् म हरेक बैठकमा घिउ खान्या र दूध खान्या छोड्नुस भन्छु । तर तपाईंहरूले हरेक फाइलमा ‘सिस्टम’ को कुरा सधैं बेलुका मलाई बुझाउनुहोला त्यहीअनुसार तपाईंले ‘सर्कुलर’ गर्नु । बेलुका सम्भव नभए भोलिपल्ट बिहान मर्निङ वाकमा विशेष बैठक बसौंला । टुङ्ग्याउँला हुन्न ?
फुर्के प्रशासक दंग पर्छ र भन्छ, हुन्छ हजुर । हजुरको निर्देशन शिरोधार्य छ । ‘सिस्टम इज सिस्टम’ अब हाम्रो कार्यालयमा कुनै पनि किसिमको भ्रष्टाचार हुन दिने छैन हजुर । विगतदेखि चल्दै आएको ‘सिस्टम’ मा थप मजबुत बनाउनेछौं ।
यसरी सहिदका सपना पूरा गर्ने निरन्तरता आज पनि जारी छ । नेता हुन् कि प्रशासक, सेवाग्राही सिस्टममा चलिरहेका छन्, सेवा दिनेहरू सिस्टमलाई अझ मजबुत पारिरहेका छन् । परिवर्तन भयो, भ्रष्टाचारी चरित्र सुध्रिएन, सुध्रिनेवाला देखिएन ।