Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री कोप २८ मा सहभागी हुन युएई जाँदै

१३ बुधबार , मंसिर २०८०८ महिना अगाडि

प्रधानमन्त्री कोप २८ मा सहभागी हुन युएई जाँदै

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दैछन । युएईको दुबईमा हुने उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

कोप-२८ मा कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्ने छ । परराष्ट्र मन्त्रालयले युएईको दुबईमा बिहीबार उद्घाटन हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको  जनाएको छ ।

बिहिबार देखि १३ दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपाली टोलीले जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल गर्ने बतईएको छ ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको छ । प्रधानमन्त्रीले शुक्रबारको सत्रलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै ‘कल अफ दी माउन्टेन: हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । उक्त उच्चस्तरीय बैठकमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र हिमालका एजेन्डालाई कोप-२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्ने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्डले युएईमा रहेका  नेपाली समुदायसँग छुट्टै अन्तर्क्रिया गर्ने तयारी रहेको छ भने सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

युएई प्रस्थान गर्नु अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बिहान ९ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताईएको छ । प्रधानमन्त्रीको टोली बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्नेछ ।

यस वर्षको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८)को आयोजक राष्ट्र युएईले अध्यक्षता गर्नेछ ।