हिजो ०६२–६३ सालमा संयुक्त भएर राजतन्त्र र हिन्दूधर्म समाप्त पार्नका लागि जसले यी दलहरूलाई ‘एकजुट’ गराइदिएको थियो, त्यही ‘शक्ति’ अव फेरि सक्रिय नहुने हो भने यिनका वीचमा फाटो बढेर मुलुक द्वन्द्वतिर गयो, गयो । राजतन्त्र र हिन्दूधर्मलाई
(अवैधानिक रूपमा) समाप्त पारिसकेपछि ‘अज्ञातशक्ति’को ‘पञ्जा’बाट केही खुकुलो भएका यिनीहरू झन गिरिजाप्रसादको देहावसानपछि कांग्रेसकै दलबलले र १० दलको समर्थनले माओवादी बेलगामका जंगली घोडा भएको छ । त्यसैको फलस्वरूप संक्रमणकालीन न्याय असरल्ल छ, संघीयताको चर्को विरोध छ, राजतन्त्र र हिन्दुअधिराज्यको माग चर्कदै गएको छ र भ्रष्टाचारका कारण नेताहरू जनताका आँखामा कसिंगर हुनपुगेका छन् । जनता आक्रोशसहित सडकमा निस्कन थालेपछि शासनसत्ता, लोकतन्त्र नराम्ररी हल्लिन पुगेको छ । राष्ट्र अन्यौल र अनिश्चितताको दोबोटोमा पुग्यो । फेरि मुलुक परिवर्तनको दोबाटोमा पुगेको छ । १७ वर्षदेखि किनारा लगाइएको राजतन्त्रलाई जनताले पुनस्र्थापित गराइछाड्ने लक्ष्यणहरू देखिएका छन् ।
भारू बाँडेर, तोडफोड, आगजनी, हिंसा, हत्या आदि विकृतिहरूको साथ लिएर गणतन्त्र स्थापना भएको थियो, त्यसपछि...‘मतलव’ पूरा भएपछि यी कथित ठूला दल तथा नेताहरूका विदेशी ‘मािलक’हरूले सर्लक्कसँग ‘हाथ’ झिकिदिएजस्तो लाग्छ । यसकारण यी ठूला दलहरू दिशाहीन, अपराधिकरणका सहयात्री बन्न पुगेका हुन् ।
अर्काको धापमा उफ्रेकाहरू जनताको घृणापात्र बनेका छन् । विदेशी माइबापले बेवास्ता गरेपछि यिनीहरूसँग न टेक्ने माटो छ, न समाउने हाँगो ? रानु बिनाका माहुरीजसरी भुनभुनाईरहेका छन् यिनीहरू । थाहा छ यिनलाई कि यिनको गन्तव्य र उद्देश्य भनेको ‘सघीय गणतन्त्र र धर्मनिरपेक्षता’को नाममा अपराधिक शासन चलाउनु हो । १७ वर्षदेखि यिनको शासन भनेको भ्रष्टाचार र दुराचारमात्र हुनपुग्यो । यिनले थाहै पाएनन् कि मालिकहरूले आफ्ना एजेण्डा पूरा गराउन यिनीहरूलाई हतियारको रूपमा प्रयोग गरेका थिए, जुन कार्यमा यिनीहरूले मालिकको आदेशको पालना गरिसकेका छन् । मालिक पन्छिएपछि आज घरका न घाटका हुने स्थिति आइसक्यो । एकजना दुर्गा प्रसाईसँग सत्ता र प्रतिपक्षी थरहरि भएको दृश्यले यिनको हविगत देखियो । दुर्गा प्रसाई र पूर्वराजाको भक्तपुर र झापाको भ्रमणमा जुन प्रकारले जनताले स्वागत गरे, त्यसबाट थाहा हुन्छ, यो देशमा लोकप्रिय को छ, जनताले के खोजिरहेका छन् ?
यिनीहरूभित्र नेपालीत्व थियो भने यिनले बुझ्ने थिए– सहमतिको राजनीतिको बिकल्प छैन । यिनीहरू लुट्नमा यति लीन भए कि विदेशीले यिनलाई गरेको सहयोग नेपाली स्वाधीनता र सार्वभौमिकता बलियो पार्न छँदै थिएन । विदेशी ताकतको उद्देश्य यहाँ लठभद्रको स्थिति बहाल गरिराख्नु थियो, त्यही अराजकता र अस्थिरता नै छ । यहाँ अस्थिर राजनीति र एकापसमा काटामारको अवस्था सिर्जना गरिदिई राखे यहाँका सम्पूर्ण ‘स्रोत’हरूको निरन्तर दोहन गरिराख्न पाइने र भूराजनीतिबाट लाभ लिन सकिने भएकाले यिनीहरूको प्रयोग भएको थियो । नाम गणतान्त्रिक संविधान भए पनि त्यो संविधान कागजको खोस्टो बनिसक्यो, दलहरूको स्थिति दयनीय हुँदो छ ।
जनताको आँखा खुल्यो । जति सबर गरे पनि, मौका दिए पनि नेतृत्व सुध्रिएनन् । उल्टै कानुनव्यवस्थामा अपराधिकरण र पाटीकरण गरेर यिनले देश र जनताको भविष्यसँग खेलबाड गरिरहे । समस्या वास्तवमा यिनीहरू आफै हुन् । यिनको भ्रष्ट र अनैतिक चरित्र, निष्ठा र जनताप्रतिको जवाफदेहीहीनताका हो । पूर्वराजाले नागरिकको हैसियतमा यिनलाई मौका दिएकै हुन्, यिनको अनेक लाञ्छना सहेर बसेकै हुन्, अझै राजाले सहमति र मेलमिलापको राजनीतिका लागि अवसर दिइरहेकै छन् । जनताले राजा आउ भन्दा पनि राजाले राजनीतिक शुद्धताको अपेक्षा गरिरहेकै छन् । तैपनि नेतृत्वको मति सुध्रिन्न भने नेपाल श्रीलंंकाको जस्तो जनविद्रोहको स्थितिमा पुग्नसक्छ । जनता सडकमा निस्कन थालिसकेका छन् । जनताको मूडमा खेलाँची गर्ने र पूर्वराजामाथि दोष थोपरेर पिसावको न्यानो अनुभव गर्ने हो भने भीर खोज्नेलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भन्ने उखान चरितार्थ हुनसक्छ ।
ठूला दल र नेताहरूमा दम्भ छ । दम्भले कसैको पनि हित गर्दैन । राजनीतिमा त दम्भ भनेको असंसदीय र अराजनीति मानिन्छ । अझै जनताको आँखामा भ्रम छरेर र सहनशीलताको लाभ लिन सकिन्छ भनिठान्ने हो भने त्यो राजनीतिक पार्टी र नेताहरूका लागि दुर्भाग्य हुनसक्छ । यसकारण समयमै सद्बुद्धि पलाओस् ।