Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र, हिन्दुवाद र संघीयता के होला ?

११ सोमबार , मंसिर २०८०८ महिना अगाडि

राजतन्त्र, हिन्दुवाद र
संघीयता के होला ?

काठमाडौँ । झण्डै ६ दर्जनको संख्यामा रहेका राजतन्त्र, हिन्दुअधिराज्यवादी र संघीयता विरोधीहरूलाई फटाउन पार्टीहरू अमिलो निचोरिरहेका छन् । दुर्गा प्रसाईदेखि राप्रपासम्मको प्रदर्शनमा आमनागरिक सडकमा निस्कन थालेका छन् । सत्ताधारीहरूको बैठक चलिरहेको छ, सुरक्षा निकायसँग छलफल चलिरहेको छ र यो प्रदर्शनलाई जसरी पनि तुहाउने प्रपञ्च भइरहेको छ ।
यहाँसम्म कि टोपी र राष्ट्रिय पोसाक लगाउनेलाई पक्रने, थुन्ने, प्रदर्शनकारीमाथि लाठी, टियरग्यास, पानीको फोहरा हान्ने र राजधानीमै महिनौंसम्म निषेधाज्ञा लगाउनेसम्मका अराजनीतिक र असंवैधानिक निर्णय सरकारले लिएको छ । मानवाधिकारका हननका आरोप सरकारमाथि लागेको छ ।
सुनसरी, सुर्खेत, बाँके, बर्दियामा अभिनन्दन कार्यक्रमको सफलतापछि भक्तपुरको नवदुर्गाको दर्शन गर्नजाँदा पूर्वराजालाई सिङ्गो भक्तपुरवासीले स्वागत र अभिनन्दन गरेका थिए । त्यसबाट आत्तिएको सरकार र गणतन्त्रवादीहरूको सातो गएकाले काठमाडौं र ललितपुरमा निषेधाज्ञा लगाउने र व्यापक रूपमा धरपकड गरिएको हो ।
तथापि नेपाल निर्माताको सालिक अनावरण गर्न झापा पुगेका पूर्वराजालाई झापाबासीले ऐतिहासिक रूपमा सहभागी भएर स्वागत गरेपछि गणतन्त्रवादीहरूको पसिना छुटेको छ । दुर्गा प्रसाईको प्रदर्शन जारी छ, जनताको सहभागिता पनि बढ्दोक्रममा छ । यत्तिकैमा राजतन्त्र पुनस्र्थापित हुनेछ भन्न सकिन्न । यसका लागि यस प्रकारको जनसहभागिता अझ बढ्नुपर्छ, जनदबाब व्यापक हुनुपर्छ । राजतन्त्र र हिन्दुवादीहरूको एकता नहुनुले यो जनविद्रोह पनि सेलाउने हो कि भन्ने संशय बाँकी छ । दुर्भाग्यको कुरो राप्रपा, राप्रपा नेपाल, राष्ट्रि शक्ति नेपाल, दुर्गा प्रसाईदेखि दर्जनौं राजतन्त्र र हिन्दुवादीहरूमा अझै एकता छैन । देशैभरि जनविद्रोह सुरू भइसक्दा राजतन्त्र र हिन्दुवादी एक हुने हो भनेमात्र यो दुरावस्था र व्यवस्थामा परिवर्तन आउनसक्छ । राजतन्त्रले स्पेश पाउनेछ, हिन्दुअधिराज्य पनि हुनेछ, संघीयता खारेज हुनेमात्र होइन, भ्रष्टाचारले डामिएका नेतृत्वको भागाभाग हुनसक्नेछ । दुर्गा प्रसाईले बैंकबाट ६ अर्व ऋण लिएका छन् । उनको भनाई छ, ऋण तिर्न नसके धितो लिलाम गरेर उठाउ तर जनताले लिएको २० लाखसम्मको ऋण मिनाह हुनुपर्छ । यही नारा छ प्रसाईको– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को । पूर्वराजाले अझै जनआन्दोलन, विद्रोहप्रति आफ्नो आशय प्रकट गरिसकेका छैनन्, यसकारण पनि जनतामा, आन्दोलनकारीमा दुविधा छ ।
गजबको कुरो त के छ भने महामन्त्रीले चर्को भाषण गरिरहँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको मौनता आश्चर्यपूर्ण देखिन्छ । बढ्दो जनप्रदर्शनका विषयमा राप्रपा र रास्वपाका नेताहरूको धारणा पनि एक देखिदैन । आन्दोलन तुहाउनैका लागि चङ्ख प्रम प्रचण्डले यी दुबै पार्टीलाई सत्तामा लाने तैयारी गरेको समाचार छ ।
१७ वर्षपछि आशालाग्दो रूपमा यो जनविद्रोह सडकमा देखा परेको छ । यो विद्रोहमा तमाम राजतन्त्र र हिन्दुवादी, संघीयताविरोधले साथ दिएनन् भने गणतन्त्रको हैकम हट्न मुस्किल हुनेछ ।