'सुत्ने र डरले लुक्ने' राजावादीहरु कोठाको गुपचुप क्रान्तिबाट जुर्मुराउन थालेछन् कि के हो, पर्सापछि मोरङबाट सडकमा निस्कन थालेको देखियो। नेपाल विद्वत परिषदजस्तो उत्साहजनक नामधारी तर कामले निरुत्साही बनेको संस्थाले गतहप्ता विराटनगरमा भव्य जुलुस निकालेर नेपालमा राजावादी पनि बाँकी छन्, ज्यूँदै छन् भन्ने अस्तित्व देखाउन अग्रसर भयो। यसले सफल रुपमा भव्य आमसभा पनि गरेको समाचार आयो। त्यसपछ यो परिषद कता हरायो?
इन्द्रचोकको गजानन्द अग्रवालको कोठीको कोठामा रहेको विद्वत परिषद गणतन्त्र घोषणा भएपछि यसका अध्यक्ष जीतबहादुर अर्जेल मोरङ भासिए। यसका क्रियाकलाप पनि हरायो। परिषदका सदस्यहरु छिन्नभिन्न भए। तर, १० वर्षपछि विराटनगरमा मधेसी जनतासहित सडकमा देखापरेको नेपाल विद्वत परिषद मुगल साम्राज्यबाट मेवाड र उदयपुरको युद्ध हारेपछि महाराणा प्रतापले नयाँ संगठन गरेर अस्तित्वमा निस्केझैं निस्केको हो भने त ठिकै छ। पिसावको न्यानोमात्रका लागि 'बाँचेको विचार' देखाएको हो भने सिन्को पनि भाँचिएला र? हो, बारा, पर्साका राजभक्त मधेसी नेपालीको आवाजको अनुकूरण गरेर नेपाल विद्वत परिषदले विराटनगरबाट पनि 'राजा आउ देश बचाउ' भनेर नाराचाहिं घन्कायो। 'राजसंस्था फर्काउ अभियान' पनि छ, जसलाई ठूला दलका छाउराले नाङ्गलो ठटाएर वीरगञ्जमै तर्साइदिएको खबर पनि आयो। यसपछि बारा, पर्साका राजावादी र मोरङमा निस्केका विद्वत परिषद फेरि हच्केको छ। डराएर दुला पसेका छन्– राजा आउ भन्ने साहसी (?) राजावादीहरु। सबैलाई थाहा छ– लोकतन्त्र लोकका लागि, सबै विचारका लागि आएकै होइन। लोकतन्त्र त ठूला दल र तिनका सहायक बन्न स्वीकार गर्ने सिण्डिकेटका सदस्यहरुका लागि मात्र आएको हो। जुन काम ०६३ साल वैशाख ११ गतेपछि युद्धस्तरमा थालिनुपर्थ्यो, पहिचान र विचारको रक्षाका लागि। सकेनन्, सुतेर बसे।
अहिले राजा आउ भन्नेहरु निस्कन त निस्के, तैपनि संगठित हुनसकेनन्। संविधान आइसक्यो, संविधानको कार्यान्वयन गर्ने अनेक लीलाहरु भइरहेका छन्। बल्ल राजावादी चीर निन्द्राबाट ब्यूँझेका छन्। राप्रपा नेपालले बिडो त उठाएको थियो, उसले पनि सत्ता प्राप्तिपछि आफ्ना एजेन्डाहरुलाई थाँति राखेको छ। निश्चित छ, चुनावका बेलामा मात्र ती एजेन्डाहरु खोकिलाबाट निस्कने छन्। यसकारण ढिला होस्, सफल होस् भन्ने कथनजस्तै देशव्यापी रुपमा छरिएर रहेका हिन्दूराष्ट्र र राजावादी छन् भने तिनीहरुले थालेको संघर्षले एउटा निष्कर्ष निकालेर मात्र यो आन्दोलनलाई बिसाउनु पर्छ। अन्यथा यस्ता मौसमी बाजाजसरी उठेका आवाज पानीको फोकाजसरी उठ्छन् र फुट्छन्। लोकतन्त्रमा कोठे राजनीतिले र एकाध नारावाजी भनेको अर्थहीन आत्मरतीमात्र हुनेछ। नेपालमा विचारको आन्दोलनले काम गरिरहेको छैन। सडक आन्दोलन गर्नसक्नेको पिठो बिकिरहेको छ। विचार मर्दैन, विचारले केही बर्गलाई प्रभावमा पारेको होला, तर सडक आन्दोलनले छिटो प्रभाव पारेको देखिन्छ। सकिन्छ भने देशव्यापी रुपमा र सडकलाई जतिसक्यो उति तताउन जरुरी छ। व्यक्तिगत स्वार्थका लागि राष्ट्रवादी बन्नेहरुले गरेको आन्दोलन सफल हुनसक्दैन। राष्ट्रवाद त देशव्यापी उठ्नैपर्छ र अहिले जुन लोकतान्त्रिक निरंकूशता र भ्रष्टाचारमय भएको छ मुलुक, यसबाट मुक्तिका लागि राष्ट्रवादी आन्दोलन जरुरी भएको छ। लाउकेको कुरा सुन्ने र टाउके बन्ने रोगग्रस्त देखिन्छन् राष्ट्रवादी भनिनेहरु। तिनमा विचार र उदारताको कमी छ। अरौटे र भरौटेलाई साथ लिएर जस आफूले लिने गलत प्रवृत्ति अहिले पनि कायमै छ। यहीकारणले हो, राष्ट्रवादी शक्तिहरु सडकमा निस्किएको विषय जगहसाई बढी हुनेगर्छ। अहिलेसम्म जति पनि जिन्दावाद, आउ बचाउ भन्नेहरु छन्– तिनमा नयाँ पुस्ता पटक्कै देखिदैनन्।
उही पुराना डामिएकाहरु र बुढाखाडाहरुको बाहुल्यता देखिन्छ। यो भनेको परिवर्तन ल्याउन सक्ने ताकत हुँदै होइन। परिवर्तनका लागि नयाँ पुस्ता र देशभरि छरिएर रहेका राष्ट्रवादीहरुलाई एकीकृत शक्तिका रुपमा परिचालन गर्नसक्नुपर्छ। अन्यथा सानो आवाज, सानो प्रदर्शन र मौसमी आन्दोलनलाई न सरकारले सुन्छ, न राजनीतिक पार्टीहरुले। परिवर्तन यो हाँस न कुखुराको चालले सम्भव नै छैन। देशको राजदरवारलाई समाप्त पार्नेहरु दिल्ली दरवारलाई शक्तिकेन्द्र मान्न थालेका छन्। आन्तरिक समस्यामा दिल्लीलाई मध्यस्थकर्ताका रुपमा स्थापित गरेका छन्। मुलुकको राष्ट्रियतासहितको नयाँ नेपाल निर्माण गर्छु भन्नेहरुले नेपालमा भारतपरस्तताको नयाँ र खतरनाक श्रृंखला नै सुरु गरिदिएका छन्। राष्ट्रियता नै सिध्याउने भए यिनले। लोकतन्त्रमा अव कुनै पनि पार्टी यस्ता रहेनन्, जो भारतभक्त भएनन् अथवा भारतको हैकमवादलाई अस्वीकार गरेर नेपालको स्वाभिमानको रक्षा गर्न सकुन्। नेपाली अस्तित्व र स्वाधीनता बचाउने हो भने राष्ट्रवादी आन्दोलनको विकल्प बाँकी छैन। यसका लागि पूर्वराजादेखि जति पनि राष्ट्रवादी छन्, ती सबै सडकमा निस्कन र देशको सार्वभौमिकता बचाउन लागिहाल्नु जरुरी भएको छ। देशका लागि राष्ट्रवादीले नगरे कसले गर्ने, स्वाधीनताको आन्दोलन अहिले नगरे कहिले गर्ने? यो समय साइत हेरेर बस्ने होइन। आन्दोलनलाई नयाँ चरण र बेगमा रुपान्तरण गरिहाल्नु पर्छ।
संघीय गणतन्त्र नेपाल तमासा बनिसक्यो। नयाँ संविधान असफल भइसक्यो। भूकम्पपछि मुलुक संक्रमणबाट संकटमा फसिसक्यो। राजनीतिक झगडा बिस्तारै क्षेत्रीय, जातीय र धार्मिक विध्वंशको रुप धारण गर्दै गएको छ। राजनीति र जनतावीच विश्वासको संकट डरलाग्दो रुप धारण गर्न थालिसक्यो। यो बेलामा जनएकता प्रदर्शन गरेर काँचो परिवर्तनले मुलुक सिद्धिनबाट बचाउनु पर्छ। नेताहरुले देशलाई समाप्त पार्ने भए, बचाउने जिम्मेवारी जनताको काँधमा आएको छ। एउटा परिपक्व विचार, मौलाको रुपमा स्थापित गरेर त्यसैमा मुलुकको मूलधार निर्माण गर्नसके नेपाल र नेपालीको भलो हुनेछ। अन्यथा, हामीले देश भन्न नपाउने दिन पनि आउनसक्छ। यस्तो मृत्युघण्ट सुन्नेहरुले आहट सुनेर अत्तालिन थालिसके।


