Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सुरक्षा व्यवस्थामा कडाई, सडक अवरोध हुन नदिने

०७ बिहिबार , मंसिर २०८०८ महिना अगाडि

सुरक्षा व्यवस्थामा कडाई, सडक अवरोध हुन नदिने

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । काठमाण्डौको कोटेश्वर तीन कुने र बल्खुमा छुट्टाछुट्टै हुने प्रदर्शनलाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा व्यवस्था कडाई गरिएको हो ।

युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रदर्शनको लागि दुवै समूहको छुट्टाछुट्टै र्‍याली  जुलुस र प्रदर्शन गर्ने तयारी गरेपछि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पनि जुलुस र प्रदर्शनलाई सडकको एकातिर केन्द्रित गरेर अर्कोतिरबाट गाडी आवागमनको व्यवस्था मिलाउने तयारी भइरहेको बताएका छन् भने दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना रहेको बताइएको छ ।

दुवै पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी भनाई छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरे कानुनअनुसार कडा कारबाही गरिने पनि उनले बताए ।

आज हुने दुवै पक्षको प्रदर्शन र त्यसबाट हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ ।