आजकल चाडले पनि सम्बृद्धिमा फड्को मारीसकेछ । लुतो फाल्ने साउने सक्रान्ती, रोपाईं सकेर खेतका डिलमा पूजा गर्ने हरेलोले हरियाली सावनको स्वरूप धारण गरेछ । रक्षाबन्धनमा घरका ज्वाईंचेला, भान्जा, फुपाजु अथवा माननिय ब्यक्तिले मन्दिरमा धागो र जनै मन्त्रोच्चारण सहित पुजेर ल्याएपछि बांधिने चलन आजकल राखिको नामले प्रसिद्धि पाएको रहेछ । राखी मेरे भैयाकी रक्षा करेगी हुन पुगेछ । बहनकी हाथोंसे लगाई गई राखीका किमत होता है जीवनभर भाइ बहनकी रक्षा करनेका वादा ।रक्षाबन्धन अर्थात् जनैपूर्णिमाका बारे भविष्यमा इतिहासमा पढ्न पाइएला । आशा राखौं । तीजले चोला फेरेर क्वालिटी तथा क्वान्टिटी बढाए पनि धन्न बिदेशिएको छैन अर्थात् आक्रमणमा परेको छैन । दशैंले आफ्नो यथास्थान कायम राखेकै छ ।बैदेशिक हस्तक्षेपले यसलाई सम्बृद्ध बनाउन सकेको छैन । हरिबाट ह्यारी हुन मानेको छैन । ऊ भक्त छ । देशको संस्कृतिलाई आफ्नो धरोहर मानेको छ । उसले त बिदेशमा समेत कब्जा गर्ने जमर्को गर्दैछ । दशैंलाई भने भंडुवाहरूले भांड्न सकेका छैनन् ।
दशैं लगत्तै यमपन्चक, तिहारले छोपिसकेको छ । तिहार, भाईटिकाबाट दिपावली भैसकेको छ । तैपनि भाइटिकाको परम्परालाई लछार्न सकेको छैन । तिहारलाई दिपावलीको रूपमा मनाउने त राम्रो कुरा थियो तर पटाखाहरूको बढ्दो प्रयोगले कतिपय नराम्रा घटनाहरू घट्दा सधैंभरीलाई चाड प्रति नकारात्मक धारणा बढ्छ । हाम्रा मौलिक चाडलाई पटाखाको आततायी स्वरमा बिथोल्न भारतिय बिष्फोटक सामानहरू नभित्रयाईदिए अति जाती हुने थियो ।
मखमली, सयपत्रीको स्वभायमान आगमनसंगै दिदीभाईको मधुर र अटुट मायालाई जीवन्त राख्ने हाम्रो संस्कृति गौरव गर्न लायक छ । तिहार अर्थात यमपन्चकको बिषयमा नेपालीमा फरक फरक तर रसिला र रोचक कथाहरू सुन्न पाईन्छ । तिहारको पहिलो दिन हाम्रो धर्म र चलन अनुसार कागको पूजा गरि मिठामिठा खानेकुरा खुवाउने गरिन्छ । कागलाई मृत्युको सन्देश मानिन्छ । कागले घर वरपर आएर कराएमा कुनै सन्देश आएको मान्यता पनि छ । तिहारको दोस्रो दिन मानिसहरूको सबैभन्दा बफादार मित्र कुकूरको पूजा हुन्छ । कुकूरले जोखिम पर्ने वा मृत्यु आउन सक्ने सम्भावनाहरू पहिले नै थाहा पाउंछ । तेस्रो दिन नरक चतुर्दशी पर्छ । कथा अनुसार भगवान श्रीकृष्णले नरकासुर दैत्यको हत्या गरे र सोह्र हजार बन्दी महिलाहरूलाई मुक्त गरे । त्यसैदिनदेखि दिदीबहिनीहरूले दाजुभाई माथि लाग्ने शत्रुहरूको नास होस् भनी बिहान सबेरै खोला, धारापधेंरामा नुहाई तेलका बत्ती बाली नरकासुरलाई बहेको पानीमा बहायर तिलको दाउरामा आगो तापी शुद्धीकरण गर्छन् । त्यसैदिन गाईहरूको पूजा गरिन्छ । गाईलाई हिन्दु धर्ममा आमाको रूप मान्ने गरिन्छ ।
गाईलाई धनकी देवी लक्ष्मीको रूपमा पनि हेर्छन् । त्यसैदिन सांझमा लक्ष्मी पूजा गरिन्छ । घरका कुनाकाप्चा,द्वार यत्रतत्र दियोमा बत्ती बालेर झिलिमिली पारिन्छ । रातीमा लक्ष्मीको आगमन हुनाले रातभर जाग्राम बस्न तास खेलेर रात बिताउने गर्छन् । यसैरात लक्ष्मीको जन्म भयको पनि पुराणमा उल्लेख छ भनिन्छ । यसै दिन देखि यमराजले पाइला राख्न नपाउन भनेर घरको मुख्य द्वारमा तेलका धारा बहाइन्छ । पिठोका पनि धार लाउने चलन छ ।
बेलुका भैलेनीहरू वलीराजाले दान माग्न पठाएका भन्दै मधुरवाणीमा भैलो खेल्छन् । लक्ष्मी पूजा नगर्दासम्म दान दिएको फल पाइन्न भन्ने चलन पनि छ । यसपछीका दिनहरूमा त भैलो द्यौसीले गाउँ कति रमाइलो कति उज्यालो आहा ।
तिहारको चौथो दिन गाइको गोबरको पर्वत बनाएर पूजा गर्ने चलन छ । जब भगवान कृष्णले आफ्ना बृन्दावनमा घनघोर पानीले डुब्न लागेका बासिन्दाहरूलाई बचाउन गोबर्धन पर्वत उठाएर संरक्षण गरेका थिए । उक्त गोबर्धन पर्वतको सम्मानमा बर्सेनि यमपन्चकमा हामी पनि गोबर्धन पर्वतको पूजा गर्छौं । यसैदिन नेवार जातीहरूमा म्हः पूजा गर्ने चलन छ । यो आफैमा विशेष संस्कृतिमय छ ।
यमपन्चकको पाँचौ दिन भाईटिका पर्दछ । दिदीबहिनीले शुभलग्न वा साइतमा दाजुभाईलाई टीका लगाउने चलन छ । टीका लगाउनु अगाडि शत्रु नाश होउन् भनी ओखर फोरिन्छ दैलामा । दाजुभाईलाइ मनपर्ने खानेकुरा,राम्रा लुगा वा टोपी दिन्छिन् दिदीबहिनीले र दाजुभाईले सकेको दक्षिणा दिन्छ । यसरी तिहार समापन हुन्छ ।
आफ्नै मौलिकतामा यति सुन्दर चाडलाई आजकल भ्रष्ट बनाउने चेष्टा गरेको देखिन्छ, जुन खेद जनक छ । कम्मरमा मादल झुण्ड्याएर मारूनी र मादलेको नाच, वली राजा अनि यमराज र यमुनाका कथा भट्याउंदै भैलीनी माग्ने परम्परालाई आजकल साउण्डबक्सका ढ्यांग्रा बोकेर मुन्नी बदनाम हुईमा कम्मर मर्काउने र ताली ठोक्नेहरूले बिकृत बनाईदिएका छन् । यस्तो बिकृतिको अन्त हुनुपर्छ । संस्कृतिको विशेषता छुट्टै छ, विकृति संस्कार रोक्ने दायित्व सबैको हो ।
तिहारको द्यौसी भैलो पिकनिक जान,भोजभतेर गर्न मागी खाने भाँडो बनेको छ । यदाकदा ठाउँहरूमा यसरी उठाएका पैसा बिकासका काममा लगाएका पनि छन् । द्यौसीको बहानामा एकादशीसम्म ढ्यांग्रो बोकेर हिड्नेले हाम्रो संस्कृतिमाथि धावा बोलेका छन् । द्यौसी भैलोका मधुर अनि संस्कारी आवजको ठाउँ बिष्फोटक पटाखाले कानको जाली उडाउने गरि ओगटेको छ । दाजुभाईका गलामा लगाउने मखमली र सयपत्री आजकल बजारका सटरहरूमा राखिएका झिलिमिली प्लाष्टिकका मालाले लिएका छन् । पर्व हाम्रा संस्कृतिक धरोहर हुन् यिनलाई मौलिकतामा नै मनाऔं । सम्पूर्ण दाजुभाई दिदीबहिनीमा तिहारको मंगलमय शुभकामना ।