नारी र पुरूष समान छन् भन्ने धारणा विकसित हुँदै गएको छ । तर व्यवहारमा समान छन् कि छैनन्, यसबारेमा अब विश्लेषण गरेर कमीकमजोरी नियम, कानुन, व्यक्ति र सरकारी व्यवहारमा हटाउने अवस्था आयो ।
समानताको नारा विश्वव्यापी हो । नेपालमा पनि समानता आकर्षक नारा बनेको छ । पुरूषप्रधान राजनीति महिलालाई ३३ प्रतिशत भनिन्छ, ३ प्रतिशतको सम्मान पनि दिंइदैन । महिला अधिकारकर्मीहरू यसैमा चित्त बुझाएर मौनता साधिरहेका छन् । यथार्थमा महिलालाई दबाउने मूलनीति राजनीति हो, दबिने महिलाहरू अधिकार खोसेर लिन सकिरहेका छैनन् ।
यद्यपि आधुनिकतामा रंगिएका महिला पनि पुरूष दबाउन कम छैनन्, तिनलाई पनि नैतिकशिक्षा जरूरी छ ।
दिन झुल्केदेखि साँझ नढल्केसम्म हरेक काम गर्छन् महिला, यसकारण सबैका सामु यक्ष प्रश्न छ– महिलाको कामको मूल्यांकन किन हुदैन ?
आजकल सबैभन्दा बढी चर्चा महिला पुरूषको समान अधिकारका बिषयमा हुने गरिन्छ । चिया पसल देखि लिएर संसदमा समेत यहि बिषयले स्थान पाएको छ । सामान्य रूपमा अधिकार भन्ने बित्तिकै गाँस, बाँस, कपासलाई महत्व दिइन्छ । आखिर खान पाएकै छ । लाउन पाएकै छ ।घरमा बस्न पाएकै छ अरू के नै चाहिएको छ र ? भनेर बहस चलाइन्छ ।संबिधानमा महिलाका बिषयमा धेरै अधिकार निहित गरेको छ । महिला सर्वेसर्वा छन् । महिला राष्ट्रपति, सभामुख भइसके, अब के चाहियो भनिन्छ । अनि समाजमा भएका एक दुईवटा घटनालाई लिएर महिलाबाट पुरूष पिडित भए अधिकार दुरूपयोग गरे आखिर स्त्री जाती हुन् यीनलाई बुझ्न कठिन छ भनेर सबै महिला माथि प्रहार हुन्छ । यस्ता मूल्यांकन सामान्य हुन थाल्यो ।
सधैंभरी महिला परिवारको, पतिको, छोराछोरीको दासी बनेको बिषयमा कहीं कतै बहस चर्चा परिचर्चा भएको पाइदैन । उनले गरेको त्याग, मेहेनत, माया, परिश्रम, जिम्मेवारीको कुनै मूल्यांकन गरिंदैन । महिलाबाट कहाँनेर के कुरामा गल्ती हुन्छ, कहाँनेर चुक्छे र त्यसको बिल्लीबाठ लाउँला भनेर मौकाको खोजी चाहिँ निकै हुन्छ ।
घरमा कामको कति जिम्मेवारी हुन्छ थाहा छ तर सजिलै भनिन्छ के काम छ र ? बिहान उठेदेखि शुरू भएको काम दिनभर अनि रातीसम्म गरिएका काम त देखिने कुरै भएन । घर सफा गर्नु, खाना बनाउनु, बच्चालाई खुवाउनु, भाँडा बर्तन माझ्नु, लुगा धुनु, स्कुले बच्चा तयार गर्नु, अन्य सदस्यहरूलाई खाना, उनीहरूका भाँडा सफा, सबै गर्दै लोग्नेको जुत्ता पालिस गरि टाई बाँधेर अफिस पठाए पछिबल्ल उनलाई फिल्मको मध्यान्तर हुन्छ । अनि अफिस जाने महिलाको लागि अर्को काम । सबै पठाए पछि आफु तयार भएर अफिस जानू, जिम्मेवारी सकेर घर फर्कनु, काम शुरू गर्नु, छोराछोरी भोकाए खाजा बनाइदेउ, लोग्ने अफिसबाट आए चिया पकाईदेउ, घर धुलो छ झाडु लगाउ, बिहानको रहलपहल काम हतार हतार सक्नु र बेलुकाको तयारी गर्नु, बच्चाको गृहकार्य गराउनु, परिवारहरूलाई खान ब्यवस्था गर्नु, फेरि तीनै भाँडाकुडा सफा गर्नु, लोग्नका, छोराछोरीका ड्रेस धुनु आइरन गर्नु यी जागिरे महिलाका दैनिकी । यो दैनिकीमा पनि महिलाको काम के नै छ र ? दिनभरी हल्लेर आई बिहान बेलुका भात पकाई आफ्नै छोराछोरी स्याहारी मस्त छ यसलाई । कति सतही हो मूल्यांकन ?
अर्काथरी महिला बिहानदेखि खर्चको जोहो गर्न बच्चा खोकिलामा बोकेर खोलाकिनार जान्छन् अनि गिट्टीको एका थुप्रोमा बच्चा सुताएर गिट्टी कुट्न थाल्छन् । दिनभर गिटी कुटेर बेलुकालाई केही सामल जोहो गरेर आउंछिन । चुलो निभेको हुन्छ, आन्द्रा चुँडिने गरि फु फु गर्दै आगो बाल्छिन्, पकाउँछिन बच्चा, लोग्नेलाई खुवाउँछिन, अन्य दैनिकी काम त कति । खोई मूल्यांकन ?
केही महिला धनाढ्य परिवारमा हुन्छन्, काम गर्ने सुसारे राखिएका हुन्छन् । तर उनीहरूलाई पनि लोग्नेलाई बिस्तरामा चिया, ससुरा–सासुलाई तातोपानी, छोराछोरीको स्याहार अनि लोग्नेको जुता, टाई लाईदिनु कोट लाईदिनु आदि उनका यिनै काम दैनिक हुन्छ अनि कामको मूल्यांकन हुन्छ घर बसेर खाकि छ सुख छ यसलाई के कमी छ र भनेर ।
सँगसँगै अफिस जागिर खाने श्रीमान् श्रीमती भए पनि घरका काम जति सबै श्रीमतीकै जिम्मा हुन्छ । यदि सानो काम पनि सघाइदिए लोग्नेले भने स्त्रीलम्पटको बिल्ला भिराउनु नै कामको मूल्यांकन गरेको देखिन्छ । आखिर महिला घरायसी दासीमात्र हुन् र ?
किन उनीहरूले गरेको कामको मुल्यांकन खान,लाउन र बस्न पाएकी छ मात्रै हुन्छ । घरमा गरिएका तिनै काम बाहिरको मान्छे लगायो भने कति तलव दिनुपर्छ त्यसको आँकलन गर्न चाहन्नन् । अनि ती महिलाको खुशी त पुरै बन्धक नै हुन्छ । तैपनि अधिकार दिएका कुरामा पुरूषहरू गर्व गर्नुहुन्छ ।
ज्यालादारी काममा पनि महिलाले र पुरूषले बराबरी ज्याला पाउंदैनन् । बराबरी काम, ज्यालामा विभेद ।
महिलामाथि घरदेखि बजारसम्मको यो ज्यादति कहिलेसम्म हो ?
हो, केही छाडा महिला पनि छन्, बैदेशिक रोजगारीमा गएका पुरूषमाथि पनि यातना दिन्छन् । कतिपय महिलाको व्यापार बनेको छ विवाह । अब समय आयो, महिला विषयमा बहस गर्ने ।