काठमाडौं । असोज ७ गते नेमकिपाको गढ भक्तपुरमा पूर्वराजाको सांस्कृतिक भ्रमण भयो । घण्टौंदेखि पूर्वराजालाई हेर्न र स्वागत गर्न सिङ्गो भक्तपुरवासी सडकमा उत्रिएका थिए । मान्छेको बाढी देखेर राजतन्त्रका बिरोधीहरूले समेत आश्चर्य प्रकट गरेका छन् ।
यी किनेर वा बोलाएर आएका थिएनन् । स्वतःस्फूर्त रूपमा पूर्वराजालाई देख्न, भेट्न, स्वागत गर्न आएको यो भीडले राजतन्त्र अहिले पनि शक्ति हो भन्ने प्रष्ट बुझ्न सकिन्छ । तलेजु भवानी, अन्य देवदेवीको दर्शन, पूजाआजा गर्न र लामो समयदेखि भक्तपुरवासीले भक्तपुर आउन दिएको निम्तोको सम्मान गर्न पूर्वराजा भक्तपुर पुगेका थिए । पूर्वराजालाई स्वागत गर्न भक्तपुर दरवार स्क्वायरमा घण्टौंदेखि भक्तपुरवासी नेपालको झण्डाका साथ उर्लिएर प्रतिक्षामा बसेका थिए । पूर्वराजाप्रतिको यो क्रेज आश्चर्यपूर्ण छ ।
जब पूर्वराजा भक्तपुर पुगे, नारा लाग्यो– जनता आउ, राजा ल्याउ । गगनभेदी यो नारा रोकिएन, सुनेर पूर्वराजा प्रसन्न देखिन्थे भने जनतामा जोश बढ्दै गएको देखिन्थ्यो ।
नेपालको झण्डा बोकेका ससाना बालबालिका, बृद्ध, युवा, अनेक पार्टीका कार्यकर्ताको समेत ठूलो भीड थियो । सलहजसरी उपस्थित भएका जनताको भीडलाई छिचोल्न सुरक्षाकर्मी र स्वयमसेवकलाई हम्मेहम्मे परेको थियो । बजारमा मान्छे मान्छेमात्र थिए । लाग्थ्यो, जनताले राजतन्त्र खोजेकै हुन् ।
जनताले लगाएका नारा यस्ता थिए– ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ आदि आदि ।
राप्रपाका एक नेताले बताएका छन्– भक्तपुरमा जाँदा जनताको यस्तो स्वागत छ भने काठमाडौं र ललितपुरका सडकमा निस्कने हो भने जनताले कसरी स्वागत गर्दा हुन् ।