संसारमा मान्छे हराउँदै गएको देश मेरो नेपाल हो । यहाँबाट हरेक दिन ३ हजारका दरले मान्छे विदेशीने क्रम जारी छ । किन गएको सरकार सोध्दैन ।
‘कुनै हालतमा बस्दै बस्दिन बा म यो देशमा’ स्नातक सिध्याएर प्रमाणपत्र प्राप्त गर्न निकै कष्ट गरेको छोरोले भन्यो । छोरोको अनुहार मलिन थियो । स्नातक तह प्रथम श्रेणीमा उतीर्ण भएको दिन संसार जितेको जस्तो मुहारमा देखिएको मान्छे । प्रमाणपत्र हातमा पर्दा युद्धबाट हारेको सिपाही जस्तो बनेर देश छाड्ने कुरा गर्दा मेरो दिमाग आधा गाग्रीको पानी छ छल्किएको जस्तै भयो ।
ऋण धन गरेर, एक छाक भोकै बसेर छोरालाई पढाउँदा निकै खुशी भएको मट्याङ्ग्रा छोराले देश छाड्ने कुरा गर्दा मुटु भक्कानिन्छ । उसले छोरालाई किन ? भन्ने प्रश्न समेत गर्न सक्दैन ।
केही दिन अघि मात्र छिमेकीले १२ कक्षा सकिन नपाउँदै छोरीलाई लार्खौ खर्चेर, डोलको खेतसँगै विदेश उडाएको थियो । पुर्खाले आर्जेको डोलखेत बेचेसँगै छोरीको सपनाका लागि पनि उ उडिरहेको थियो । र मलाई सुझाव दिँदै थियो । भर्खर १२ कक्षा पास गरेकी छोरीलाई किन विदेश उडाउने ? आखिर यही देश नै स्वर्ग छ नि होइन र माइला दाई ? मट्याङ्ग्रा कुरा सही भएपनि माईला दाईले उसको उत्तर फर्काउन सकेको थिएन । तर आज म आफै आफ्नै छोरालाई प्रश्न गर्न सकिरहेको छैन ।
एकोहोरिएको मलाई, छोरो भन्छ । ‘बा तपाई किन बोल्नु हुन्न ? किन टोलाउनु भएको ?’
जवाफ छैन । तर पनि विदेशको मोह छाडोस भनेर भन्छ मेरो मन, ‘के भो बाबु अस्तिसम्म यही देशमा जागिर खान्छु, यही बस्छु विदेश जान्न भन्ने मान्छे । किन विदेशको कुरा गर्दैछस् आज, विदेश नगए हुन्न ?’
बाउको प्रश्नले छोरालाई कता कता हराउँछ । ‘बा तपाईको कुरा त ठिकै हो । तपाईले नै सिकाउनु भएको थियो । आफ्नो जन्मभूमि छाडेर जानु हुँदैन भनेर ।’
अनि किन त ? बाबुले सोध्छन् ।
‘यति दुखेर गरेर पढियो । न त रोजगारीको ग्यारेण्टी छ । न त केही गरौं भन्दा गर्न नै सकिन्छ ।’ पढेको प्रमाणपत्र लिन त हप्तौ धाउँदा पाईँदैन भने अरू के आशा गर्ने र बा ?
छोराको कुरा सुनेर अवाक्क हुन्छु म ! बोलुँ कि नबोलुँ जस्तै भएको छ ।
हुन पनि हरेक दिन दशौं हजार छोराछोरी पढ्ने निहुँले बेग्लै सपना बनाए विदेश उडिरहेका छन् । बा आमा एक्लो छाडेर हिडेका छन् । पुर्खाले जोेडेका गाउँका घरहरू रित्तो भईसकेका छन् । खेतबारी बाँझो छ । सदरमुकाममा पनि विस्तारै पातलो हुँदै छ रे ?
मलाई छोरालाई विदेश पठाउन रत्तिभर इच्छा छैन । यही बसेर पढोस् र यही आफ्नो जीवन विताओस् बुढेकालमा सँगै होस् भन्ने आशा छ । तर छोरोको मन भड्किएको छ ।
शैक्षिक प्रमाण पत्र लिन जाँदा पाएको दुख होस् कि नागरिकता बनाउना जाँदा खेरी पाएको ‘किचकिच’ उसले सहनै सकेको छैन । मलाई छोरो भन्छ, ‘बा यहाँ त गलत सोच बोकेर, जसरी पनि धन कमाउनु पर्छ भन्ने र देश रित्याउनेहरूको लागि मात्र बस्न उपयुक्त भएको छ । भ्रष्ट, दलालहरूको बोलबाला छ । सत्य बोल्नेहरूले निकै कष्ट व्यहोर्नु परेको छ । यहाँ अव सुख पाईँदैन बा, विदेश जान्छु’ ।
छोराको कुरा सुनेर पल्ला घरे साईली भाउजुलाई सम्झन्छु म । लामो समयदेखि विरामी परेर थला परेकी थिईन । दाजुको केही भर नै नहुने । विग्रिएका पनि हैनन । तर, निकै सोझा । दुई सन्तानलाई ज्यामिरेको पाखो बेचेर विदेश पठाएका थिए । घरजम उतै गरे । गएदेखि उही मोवाईलमा कुरा गर्ने बाहेक फर्केर नै आएनन् । नाती नातिना कस्ता छन् भन्ने पनि थाहा छैन । छिमेकीले भने छोराछोरी अष्ट्रेलिया– अमेरिका छँदैछन् के भो र बस्यो खायो भन्थे । तर विरामी पर्दा तातो पनि तताएर खान दिने मान्छे पनि भएनन् । ‘बाह्र छोरा तेह्र नाती बुढा धोक्रो काँधै माथि’ भन्थे त्यस्तै भएको थियो ।
निकै लामो समयदेखि साईली भाउजु थला परेपनि सहयोग गर्ने कोही नभएकाले म बेला बेला जान्थें । तर अव कहिल्यै भेट्न जान नपर्ने गरी साईली भाउजु सदाका लागि विदा भएकी छिन् । भाउजुको सास उडेको शरीर घरभित्रै राखेर म घर फर्केको थिएँ । तर छोरो विदेश जाने कुरा गर्दछ । उनी झन भावविव्हल भएका छन् । बोल्नै आँट नै छैन । साईली भाउजुको मृत शरीर उठाउन मान्छे भएन । विरामी हुँदा कुर्ने मान्छे थिएन । अहिले मरेपछि पनि लास जलाउन सकस भईरहेको छ । थाहा छैन कहिले विदेशबाट छोराहरू आउँलान् ।
हिजोअस्ती विरामी हुँदा कुर्ने मान्छे हुन्थे । तर अहिले मरेपछि जलाउन कहिले छोरा विदेशबाट फर्केला भनेर लासले कुर्नुपर्ने दिन आएको छ । मट्याङ्ग्राले छोरालाई न त विदेश जान सक्ने संकेत गरेका छन् । न त यही बस यही सुन फलाउन सकिन्छ भन्न सकेका छन् । स्वर्ग जस्तो देशलाई नर्क बनाईरहेका नेताहरूलाई धिक्कार्दै छन्, मनमनै ।
मेरा आँखाबाट आँशु झर्छ । म छोरालाई भन्छु ‘जा बाबु जा, तँलाई विदेशले बोलाईरहेको छ, उतै जा । यो देश चलाउने ठेक्का लिएकाहरूले तँ जस्ता लाखौलाई घोक्राई सकेको छ । तँ पनि जा । अवको १० वर्षपछि हामीजस्तै बुढाबुढी मात्र बस्ने देश त हो यो ! के भो र जा ।’
छोरा ट्वाँ पर्छ र बाबुलाई सोध्छ, तर के एउटा कुरा बा ?
युवा पुस्ता बिदेशिदै गएको देश हो यो । तँ जस्ता अलि अलि बचेखुँचेकालाई पनि लखेट्दै छन् । तँ जाँदा तेरो हजुरबाउले छाडेर गएको सवै घरजग्गा बेचेर जा । यो देश चलाउने ठेकेदारहरूलाई कोही चाहिँदैन । द्रव्य पिचास भएर बसेका छन् । हामी जसो तसो बाँचौला । गाउँ छाडियो, सदरमुकाम छाडियो, मर्ने बेलाका हामीले देश त के छाडौं ? तँ यो देशै छाडेर जान्छस् भने जा । तर बा आमा मरे रे भनेर जलाउन कहिल्यै पनि नआ ! विरामी हुँदा हामीलाई कुर्ने मान्छे हुँदैन । त्यसैले हामी मर्दा पनि लाश जलाउनकै लागि तिमीहरूलाई कुर्दैनौ । जा छोरा जा ! कहिल्यै यो देशमा नफर्कने गरी विदेश जा !! हामी रोक्दैनौं ।