Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

हाइटीका दुभालिएर र नेपालका नेतृत्ववर्ग

राजन कार्की

०२ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

हाइटीका दुभालिएर र नेपालका नेतृत्ववर्ग

राजन कार्की
१९७१ देखि ८६ सम्म १६ वर्षका हाइटीका दुभालिएर र २०६३ देखि ८० सम्म १७ वर्षका नेपालका नेतृत्व बर्गको  तुलना गर्ने हो भने कति फरक होला ?
हाइटीमा जुन प्रलयकारी भ्रष्टाचार र नैतिकहीनता देखियो, त्योभन्दा बढी भ्रष्टाचार र नीतिहीनता नेपालमा जारी छ । दुभालिएर अन्ततोगत्वा दण्डित भए, असक्षम नेपाली नेतृत्व दण्डित होला ?
परिवर्तनको १७ वर्षमा भ्रष्टाचारका अनेकन डरलाग्दा काण्डहरू घटे । यी काण्डहरूमा माओवादी, कांग्रेस, एमालेका नेताहरू नराम्ररी पछारिए । अर्को जनयुद्ध गर्छु भन्ने विप्लव प्रचण्डसँग समाजवादी मोर्चाका नाममा मिल्न पुगेका छन् । बैद्यको समूह चुपचाप भयो । बाबुरामको राजनीतिक थर ठेगाना बदलिने क्रम रोकिएको छैन । शेरबहादुर जनवादी लौरो टेकेर प्रजातान्त्रिक सिंहदरवारको आँगनमा द्यौसी खेलिरहेका छन् । बहुदलीय जनवाद धनवादी भएको छ । चित्रबहादुर अमूर्त चित्र बने, मधेशवादी क्षेत्रीयतामै रमाइरहेका छन् । भुरे टाकुरेमा अर्को परिवर्तन गर्ने शक्ति छैन ।
राजनीति समाज बदल्ने होइन, आफू–आफन्त र अपराधी बदल्ने साधन बन्यो । यो बिकृतिको अन्त भएन भने छिटै अर्को बिद्रोह हुने पक्का छ ।
हाम्रा जनवादी, सर्वहारावादी, समाजवादी नेताहरूले इतिहासमा बदनाम पात्र दुभालिएरको झल्को दिन थालेका छन् । जुन दुर्भाग्यपूर्ण दृष्टान्त हो । बुलेट क्रान्ति भ्रष्टाचार डकारेर ब्यालेट क्रान्तिमा प्रवेश गरेको लामो समय भइसक्यो । बुलेटको धङ्धङ्गे स्वर सुनिन छाडेको छैन । सत्तामा बसेर लाखौं जनता सडकमा उतारेर प्रतिगामीलाई तह लगाउने तहका भाषणबाजी भइरहेका छन् । भित्र भित्र भ्रष्टाचार, बाहिर बाहिर तीब्र बेगका चर्का भाषण नेपाली राजनीतिको विशेषता बनेको छ ।
नागरिकलाई थाहा छ, नेतृत्व असक्षम छ । नेतृत्व देश र जनताका लागि घातक छन् । बिकल्प छैन, गरीब छन् । चुनावका बेलामा पैसा लिन्छन्, मासुभात खान्छन् र तिनैलाई मत दिन्छन् । चुनाव सकिएपछि बिजयी नेता सिंहदरवारबाट भ्रष्टाचार गर्छन्, मत दिने जनता पुर्पुरोमा हात राखेर पश्चाताप गर्छन । २०६३ सालको परिवर्तनपछिको यथार्थ चित्र यही हो । ०७९ सालको चुनावमा पनि जनताले यही गल्ती गरे । जो ०४६ सालपछिका नेता थिए, अधिकांश तिनै नेता आज पनि संसद, सिंहदरवार र शितल निवासमा रजगज गरिरहेका छन् । सबैलाई स्पष्ट भइसक्यो, जनयुद्ध, जनआन्दोलन सुन्दर भविष्यको सपना थियो, नेतातन्त्र पो देखियो । नेताको निरङ्कूशता भोगियो । समाजवाद, जनवाद, समानता भनेको त भ्रममात्र रहेछ । राजनीति व्यवसाय बन्यो र बढी भन्दा बढी अपराध गर्नेहरू काँचुली फेरिरहेका छन् ।
अध्यता, विज्ञहरूले प्रष्टै देखेका छन्– चुनावका माध्यम अपनाएका अनैतिकहरू ‘हाइटीका बेबी डक’को अवतार बनिसकेका छन् । नेशनल युनिटी पार्टी, हाइटीको ‘बेबी डक’ जीन क्लाउड दुभालियर जसले १९७१ देखि १९८६ सम्म १५ वर्ष हाइटी र जनतालाई लुट्नुसम्म लुटे । अन्ततः जनताको बिद्रोहबाट तर्सेर उनी देश छाडेर भागे । फ्रान्समा समेत उनीमाथि मानवाधिकार उल्लंघन गरेको आरोप लागेपछि उनी हाइटी आउन बाध्य भए । हाइटीका अधिकारीहरूले उनीमाथि मुद्दा चलाए । भ्रष्टाचारको मुद्दा लाग्यो, जेल चलान गरियो । उनी सन २०१४ मा जेलमै मरे । आज पनि हाइटी र विश्वजगतमा दुभालिएरलाई साह्रै बदनाम नेताका रूपमा घृणा गरिन्छ ।
लोकतन्त्रका नायकहरू जो प्रजातन्त्र र जनयुद्धबाट खारिएर आएका थिए, तिनीहरूमा एकजना पनि नेता छैनन्, जसको आवाज सिङ्गो राष्ट्रले सुनोस् । जो छन्, कार्यकर्ताका छन्, गुटका छन्, आफन्त छन्, विदेशीका छन्, देशका नेता छैनन् । राजनेता नभएको मुलुक भनेको टुहुरो हो । नेपालले टुहुरो राष्ट्रको नियति भोगिरहेको छ ।
देश खोजेर पाइन्न, देश रोजेर पाइन्न । देश भाग्यले पाइन्छ । नपत्याए शरणार्थीलाई सोध । युएनएचसीआरको रेकर्ड भन्छ– भुटानी, रोहिंग्याजस्ता जबरजस्ती बिस्थापितको संख्या ८९.३ मिलियन छ भने शरणार्थीको संख्या २७.१ मिलियन छ । यसमा रूस र युक्रेनको युद्ध र सन २०२१ मध्यपछिका शरणार्थीको संख्या समावेश छैन ।
आफ्नो माटोमा उभिनुको गौरव नै अर्कै हुन्छ । त्यो गौरवबारे प्यालेस्टाइन पढ, आफ्नो देशको महत्व कति हुन्छ । १५ नोभेम्बर १९८८ मा अल्जियर्समा पीएलओका तत्कालीन अध्यक्ष यासेर अराफातले प्यालेस्टाइन राज्यको स्थापनाको घोषणा गरेका थिए । १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको एकवर्षपछि पश्चिमी किनार र गाजापट्टी समावेश गरेर शासन गर्न गठन गरिएको थियो । पालेस्टाइन आज पनि इजरायलबाट प्रताडित भइरहन्छ । प्यालेस्टाइन, एक डि–जुर सार्वभौम देश, इजरायलसँग सार्वभौमसत्ता विवादमा छ । १९४७ मा राष्ट्रसंघमा मतदान भयो, १९४८ मा युद्ध छेडियो र प्यालेस्टाइन स्वतन्त्रता घोषणा गरियो । तर आज पनि आफ्नो देशका लागि इजरायल र प्यालेस्टाइन युद्ध–तनावमा छन् । २०११ मा राष्ट्रसंघको सदस्यताका लागि निवेदन दिएको प्यालेस्टाइनले भर्खर पर्यवेक्षकसम्मको मान्यता पाएको छ । विश्वशक्ति अमेरिका, इजरायल, युरोपेली देश स्वायत्त भूराजनीतिक संस्थामात्र मान्छन् । प्यालेस्टाइन विश्व समाजमा छुट्टै निकाय हो, जसको पीडा धेरै गह्रुङ्गो छ ।
नेपाल सभ्यताको विकास भएदेखि स्वतन्त्र देश । अमेरिकाभन्दा ८ वर्षले जेठो मुलुक । यो मुलुकमा लोकतन्त्र छ, लोकतन्त्र नै देश सिध्याउने पद्धति हुनपुगेको छ । कारण, लोकतन्त्रका जो जो नेतृत्वमा छन्,तिनीहरूलाई देशप्रति गर्व छैन । नेपाल निर्मातालाई अपमान गर्छन् । माटोप्रति गर्व गर्दैनन् । राष्ट्रको माटोलाई धुलो सम्झन्छन्, राष्ट्रिय झण्डालाई एक धरो थात्रो कपडा सम्झन्छन् । २ सय वर्ष अंग्रेजको गुलाम बनेर १९४७ मा स्वतन्त्र भएको भारतलाई थाहा छ, स्वाधीनता र सार्वभौमिकताको महत्व । त्यही भारत नेपाललाई आफ्नो सुरक्षा छातामुनी राख्न चाहन्छ । विश्वशक्ति मुलुक नेपाललाई भूराजनीतिमा सामेल गराउन अग्रसर छन् । नेपालको अस्तित्वमा धावा बोल्नेहरूको लोलीमा बोली मिसाउन अग्रसर भएको वर्तमान नेतृत्व बर्ग शरणार्थीको, सिक्किमी, भुटानी, फिजीको हालतमा पु¥याउने लाउनेकाठ बन्न थालेका छन् ।
बडामहाराजाधिराज, वीर, बिराङ्गानाले ज्यानको बाजी लगाएर निर्माण गरेको नेपाल राष्ट्र केही पार्टी र नेताले बलीबेदीमा उभ्याइदिए । योभन्दा ठूलो राष्ट्रघात के हुन्छ ?
गणतन्त्रमा गणमा देखिन्न, लोकतन्त्रमा लोकहित हुँदैन । संविधान छ, शासन बिधिमा चल्दैन । राजनीति व्यवसाय बनेको छ । न्यायालयदेखि सम्पूर्ण राज्य सञ्जालमा राजनीतिक भागबण्डा हुन्छ । बाघको छालामा स्यालको रजाइँ भनेको यही हो ।
देशको भूमिकाका लागि, सार्वभौमिक अधिकारका लागि दिल्ली सम्झौताको विरूद्ध ००७ सालमा डा. के. आई. सिंहले बिद्रोह गरेका हुन् । मातृकाप्रसाद कोइरालाका अनुसार नेपालको अनुमति नै नलिई दुईपल्ट भारतीय सेना नेपालमा पस्यो । भीमदत्तको हत्या भारतीय सेनाले गरेको हो । तिनै मातृकाले केही गर्न सकेनन् । भीमदत्तलाई नेपाली राष्ट्रवादको प्रतीक भएर उठ्नै दिएन । भीमदत्तपछि महेन्द्रले राष्ट्रवादी युद्ध लडे, बिगत ५१ वर्षमा महेन्द्रजस्तो अर्को नेता जन्मिन सकेन । नेपाली राजनीति भनेको विदेशीले उभ्याइदिएको बुख्याँचा मात्र बन्यो ।
नालापानीको युध्द लड्दा युध्द मैदानबाट गुञ्जिएको थियो ः ‘यो नेपाली शिर उचाली...’ भन्ने युद्धगीत । यो गीत लोकतन्त्रले प्रतिगामी सूचीमा राखेको छ, रेडियोमा बज्दैन । भारतको दास बनिसकेको नेपाली राजनीतिको मूलनीति भनेको युवा निकासी, गोर्खा भर्तिकेन्द्र, डाक्टर–नर्स–केयर गिभरदेखि मजदूर भर्ति हुने, युवा युवती बेच्ने र भारतलगायतका शक्तिराष्ट्रको पाउमा लम्पसार पर्ने, सत्ताधारी बन्ने, शक्तिशाली हुने मात्र हो । यही हो हाम्रा नेताहरूको राष्ट्रियता । सवल नेपाल नीति र विश्वसनीयतामा कमजोर बन्दै गएको छ । राजनीतिक मैदानमा नेपाल मेरो देश हो, मेरो देशको सीमा यति हो भन्न सक्ने कुनै नेता नै छैनन् । सेवा, त्याग, तपस्या, बलिदान यिनलाई थाहै छैन । यिनका लागि देशभन्दा माथि सत्तास्वार्थ छ ।
राष्ट्रका लागि स्वाभिमानमा उभिन सक्ने र विदेशीले किन्न नसक्ने चारजना नेता पाउन गाह्रो भयो । नेता स्वाभिमानी नभएपछि राष्ट्र पराधीन हुनेरहेछ । बिस्तारवाद र साम्राज्यवाद सबैभन्दा बढी बिरोध हुने र तिनकै दास बन्ने देश विश्वमै नेपाल होला । तिनै शक्तिको पोखरीमा बिहानीको मुख धुने र रातिको मुख चुठ्ने नेता भएको देश पनि नेपाल पहिलो हो । बुद्धिजीवी, नागरिक समाजसमेत विवेक मारेर उही ड्याङ्का मूला बनेका छन् । नेतृत्वभित्र, सचेत समाजभित्र स्वाभिमान मरेपछि राष्ट्रको स्वाधीनता यसैगरी क्रमसः मर्दै जाने रहेछ । लोकतन्त्र आएको १७ वर्षपछि जे देखिन्छ, विदेशमात्र देखिन्छ । नेपाली पन, पहिचान हराउँदै गएको छ ।
नेतृत्वले लोकतन्त्रलाई एडीस जातको लामखुट्टे बनाए । यो लामखुट्टेले टोकेपछि गिदी बिगार्छ । लोकतन्त्रमा जति नेता छन्, तिनको टाउको, गिदी पनि सानो छ । यसकारण स्वार्थको नर्क स्नानलाई लोकतन्त्र भनेर विवेकहीनहरू भ्रम फैलाइरहेका छन् । हामी नागरिकहरू यस्तै बिचारहीनहरूको शासनको बेहाल र दुर्गति भोगिरहेका छौं । बाँच्नलाई बिद्रोह गर्नुपर्छ, बिद्रोह गर्न नसके यसैगरी पल पल मर्ने न हो । भोगौं हाइटीको दुभालिएर प्रवृत्तिलाई जति भोग्नु छ, भोगौं । राजनेता हुन ढाडमा हाड चाहिन्छ, राजनीति र कूटनीतिमा दक्षता चाहिन्छ । त्यस्तो दक्ष नेता भएनन् ।