नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजारमा ब्यापक भैसकेको छ । तीजमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको देखिन्छ ।
पौराणिक कालमा हिमालय पुत्री पार्वतीले श्रीमहादेव पति पाउँ भनी गरेको व्रतका प्रभावले श्रीमहादेवसँग बिवाह भएदेखि नै अविवाहितले असल पति पाउँ भनी र बिबाहितले पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने चलन चलेको मानिन्छ । अझ निराहार ब्रत बस्यो भने त झन् उत्तम फल मिल्छ भनेर निराहार ब्रत बस्ने चलन पनि छ । समयको परिवर्तनसँगै आज तीजको महत्वलाई पश्चिमा शैलीमा ढाल्दै गरेको आभाष हुन थालेको छ ।
तीजको यस्तो ब्रतलाई कतिपयले त महिला माथीको दमन, सामन्ती चाड पनि भन्ने गर्छन् । पतिका लागि पत्नी ब्रत बस्छिन् भने पत्नीका लागि पति किन बस्दैनन् ? ब्रत भनेर ट्यारट्यार गर्नेको कमी छैन । वास्तवमा पौराणिक कालदेखि चलिआएको चलन हो त्यही अनुसार ब्रत बस्दा भयो यदी ईच्छा लाग्दैन भने नबसे पनि भयो ।
तीज बिबाहित चेलीहरूको लागि सुखानुभूतीको चाड थियो । आफन्त मिलनको चाड थियो । बेदनाका पोका फुकाउने चाड थियो । कृष्णजन्माष्टमी देखी बिहे गरीदिएका चेलीहरू माइतीमा आएर घरमा खेपेका वेदनाका पोकाहरू समूहमा गीतका रूपमा ब्यक्त गर्ने गर्थे । छिमेकमा पालैपालो चेलीबेटीलाई काँक्राको अचार, करेला भेंडरीको अचार, चिचिन्डो, घिरौंलाको तरकारीसँग कुहिनासम्म घिउ चुहाउँदै मायाँ र ममताले खुवाउँदाको तीजको दरको महत्व आज पार्टी प्यालेसको वाइन र बियरसँग लेगपिस लुछेर मनाउँदै मुन्नी बदनाम हुई भन्दै ढिकी डान्स गर्नेले तीजको मर्म र परम्परा संस्कृतिलाई आर्यघाट पु¥याइदिएका छन् ।
चाडबाड भड्किलो केही धनाढ्य तथा देखावटीमा रमाउने अझ भनुं त टुप्पाबाट पलाएका महिलाले बनाए भन्न अब डराउंदिन म । मान्छेको मन हो अर्काको देखेपछी त्यस्तै लगाउन खान मन लाग्नु स्वभाविक हो । हुनेले एकैदिनमा चार थरी लुगा फेरेर फरक पार्टी एटेन्ड गर्छन् अनि अलि कमजोर अवस्थाका महिलाले ऋणमा सारी खरीद गर्दिन्छन्, गहना खरीद गर्छन्, त्यो पनि नक्कली । नक्कली गहना एकछिन लगाउने हो त्यसलाई बेच्दा न त पैसो पर्छ न त आउने समयलाई हुन्छ । देखावटी गर्दा बेफाइदामा पैसा फजुल खर्च हुन्छ जस्ता कारण घर ब्यावहारमा कति घाटा हुन्छ सोच्नुस् त ?
हुन त मलाई पटक पटक महिला बिरोधीको ट्याग लागिरहन्छ । तर बिकृती र बेथिति बिरूद्ध बोल्नै पर्छ । पश्चिमा भन्दा पनि भारतीय संस्कृतिले ब्यापक जरा गडाईराखेको छ । हरेक क्षेत्रमा संस्कृतिमाथि जाइलाग्ने प्रबृतिलाई हामी आंफै प्रश्रय दिइरहेका छौं । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले तीजलाई झन् सभ्य र उल्लासमय अनि संस्कारयुक्त बनाउनुपर्ने पर्ने हो । तीज आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनिरहेको छ । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू पैसा उठाएर होटलमा भेला हुने पार्टी आयोजना गर्ने गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । तर आजको तीजमा बिकृति त पुरानो चलनलाई पो मान्दिएका छन् र त दर खाने कार्यक्रममा उच्छृंखल नृत्य प्रस्तुत गरिरहेका छन् । हिन्दी गाना बजानामा रमेका छन् ।
लोग्नेछोरा बिदेशमा ५०÷५५ डिग्रीको तापक्रममा ज्यान जोखिममा राखेर बाउको ऋण नतिरी शहरमा स्वास्नीलाई तिज मनाउन ऋण खोजेर पैसो पठाउँछन्, यता स्वास्नीसोचे झैं जीन्दगी रैनछ भन्दै पार्टीप्यालेसमा हजार हजार तिरेर रक्सीमा मात्तिएर तीज मनाइदिन्छे । समाजमा आज देखिएका बिकृतिहरू मसिनो गरी केलाएर हेर्ने हो भने देखासिकीमा रमाउनेले मलजल गरेको देखिन्छ । तीजमा जेजस्तो बिकृति देखिएको छ, त्यो सबैका लागि चिन्ता र चासोको विषय बन्नुपर्छ ।
बिभिन्न संघसंस्थहरूले आजकल सामुहिक दर खुवाउने कार्यक्रम राख्छन् । चेलीबेटी, दिदीबहिनीमा आत्मियता बढाउन पर्ने हो तर त्यहाँ त गहना र कपडाको प्रदर्शनी, प्रतिस्पर्धा मेला जस्तो पो हुन्छ । यसले पनि अलिकति धनी र गरीब बिचको आत्मियतालाई ईष्र्याको भूमरीमा खाँदेको छ ।
पौराणिक रीतिको बारे चर्चा गर्ने हो भने हामी पुरै सामन्ती भइन्छ । चलन नमान्ने हो भने रक्सी र मासुको दर खाएर ब्रत कसलाई देखाउन बस्ने ? ब्रत बस्न कर छैन, मन लागे ब्रत बस्दा हुन्छ नलागे नबस्दा हुन्छ तर देखावटी ब्यावहार किन गर्ने ? यो मुख्य प्रश्न हो ।
हुनेखानेले देखाएको ढर्राले गर्दा हुँदा खाने महिलाहरूको मनमा लागेको ठेसले गरीबीको रगत छताछुल्ल हुन्छ । शहरका तारे होटलमा गरीएको तीज उनै वेपाली नारीहरूले तस्वीरमा हेरेर अचम्म मान्ने दिन आए । यस्तो बिकृति हटाउन हामी सबै जागरूक हुनुपर्छ । तीजलाई मुम्बइया डान्स होइन टिपिकल नाचगानसाथ मनाउनु पर्छ । तीज मान्नुपर्छ, आमा, हजुरआमाहरूले कसरी तीज मनाउँथे, त्यो संस्कार पनि हेर्नुपर्छ । तीज सम्पत्तिको विज्ञापन गर्ने पर्व होइन । सबैलाई तीजको शुभकामना ।