Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

के सन्देश दिए चिनियाँ जर्नेलले ?

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

के सन्देश दिए चिनियाँ जर्नेलले ?

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाका तिब्बत कमाण्डका मेजर जनरल युई एण्डी नेपाल आए, गए । उनलाई मिडियाले खासै महत्व दिएनन् । तर उनले नेपाललाई जे सन्देश दिनुपर्ने हो, प्रधानसेनापति प्रभुराम शर्मामार्फत दिएर गएको कुटनीतिक बृत्तमा बाक्लै चर्चा छ ।
मेजर जनरल युईले प्रधानसेनापति शर्मासँग गम्भीर वार्ता गरेका छन् । दुईपक्षीय हित र आपसी चासोका विषयमा विचारविमर्श हुनु र सेना सेनावीचको सुमधुर सम्बन्ध नविकरण हुनु स्वभाविक हो । तर यो नेपालको राजनीति तरल अवस्थामा रहेको, प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने मिति तय भइसकेको स्थितिमा भएको यो सैनिक भ्रमणलाई निर्क अर्थपूर्ण मानिएको छ ।
जनरल एण्डी ५ दिनका लागि ८ जना सीमा सुरक्षासम्बन्धी विज्ञ, विशेषज्ञसहित नेपाल आएका हुन् । यो टोलीलाई उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए । त्यसपछि यो टोली भेटवार्ता र सम्बन्धका विविध आयामबारे निकै व्यस्त रहेको थियो । यो टोलीले पोखरा एयरपोर्ट, सैनिक संग्रहालय, कमाण्ड तथा स्टाफ कलेज, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रबारे जानकारी लियो ।
हो, यस्ता उच्चस्तरीय भ्रमणबाट सम्बन्धमा थप प्रगाढता आउँछ । चीनले नेपाललाई चिनियाँ नागरिकको गन्तव्य मुलुकको सूचीमा राखेकाले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्छ । तर यतिमात्र यो टोलीको भ्रमणबारे बुझ्न अल्पज्ञान हुनेछ ।
खासगरी संसदले एमसीसी पास गरेपछि, आइपीएसको चर्चा र चीनको बीआरआई कार्यान्वयन गर्न नेपालले आनाकानी गरिरहेको सन्दर्भमा यो भ्रमणलाई विश्लेषण गरिनुपर्छ । नेपालले प्राथमिकता तोकेको छ तर कार्यान्वयन गरिसकेको छैन । स्मरणीय के पनि छ भने ४ वर्ष अघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न गरेर फर्कने बेलामा चीनविरोधी गतिविधि भए धुलोपिठो पारिदिने अभिव्यक्ति सार्वजनिक भएको थियो । क्वाड बन्नु र क्वाटमा जापान, कोरिया, अष्ट्रेलियाले सुरक्षा चासो देखाउँदा चीन सशंकित छ । त्यसमाथि नेपालमा अमेरिकी र भारतीय भूमिका बढ्नुले पनि चीनले सुरक्षा चासो हाम्रा पनि छ है भनेर नेपाललाई सचेत गराउन पनि यो स्तरको भ्रमण भएको बुझाइ बिज्ञको छ । नेपालमा अन्य शक्तिराष्ट्रको झैं चीनका गतिविधि पनि बाक्लिएको अनुभव गर्न सकिन्छ । भारतले ३ तहका पूर्वसेनाप्रमुखलाई ताइवान पठाउनु, युक्रेन मामिलामा नेपालसँग चीनको मित्र रुस चिढिनु र नेपाललाई सचेत गराउन मेजर जनरलको टोली पठाएको नेपालका प्रधानमन्त्री र सेनाप्रमुखलाई खरो कुरा राख्नकै लागि हो भनिदैछ ।
चीनले नेपालमा आवाज उठेअनुसार सबै नाका खोल्ने नीति लिएको छ । नेपाल चीन सीमाक्षेत्रमा विशेष आर्थिक योजना पनि लागू गर्दैछ । चीनको सुरक्षा चासोमा नेपालले के गर्छ, यो अहं प्रश्न हो ।
केही हप्ताअघि दलाई लामाको जन्मदिन नेपालमै खुला रुपमा मनाइनु, केही सांसद र कुटनीतिक सहभागिता हुनुलाई पनि चीनले गम्भीर रुपमा लिएको छ । यसबारे चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको पनि बुझिएको छ ।
यसैवीच चीनले एक्सपोमा उपराष्ट्रपतिलाई चीनमा महत्व दिएर पनि सन्देश दिएको छ । समष्टीमा चीनको यसप्रकारको भ्रमण र भूमिकाले आगामी दिनमा नेपालमा हाम्रो चासो छ, चासो बढ्छ भन्ने सन्देशलाई नेपालले नबुझ्नु अपरिपक्वता हुनेछ ।