काठमाडौं । माओवादी नेता लोकेन्द्र विष्ट मगर मन्त्री भए, राजनीतिबाट वाक्क भएपछि दाङमा गएर ड्रागन खेतीमा रमाउन थाले । अहिले उनले भियतनामबाट समेत विरुवा ल्याएर ड्रागन खेती गरिरहेका छन्, लाखौं लाख कमाइरहेका छन् । उनी भन्छन्– म सन्तुष्ट छु ।
एसपी दीपक पोख्रेल गाउँले पुलिस भनेर चिनिने, घर झापा, कर्मथलो मोरङ, झापाका बाँझो खेतीमा ड्रागन खेती गर्ने योजना बनाए । अन्ततः उनले खेती सुरु गरे, श्रीमतीले साथ दिइन् । आफैले गाई पालेर मलको जोहो पनि मिलाए । उनका अनुसार ३० किलो एउटा पिल्लरबाट वार्षिक उत्पादन हुन्छ, १ बिगामा १ हजारजति पिल्लर अट्छन् । १ बिगामा ३० टन उत्पादन हुन्छ । ३० टन फल हार्वेस्ट गर्दा १५० रुपैयाँ किलोले बेच्दा ४५ लाख हुन्छ । कृषिमा यस्तो किसिमको आम्दानी छैन तर क्यालकुलेटरमा हिसाब गरेर मात्रै हुँदैन । भाइरस पनि लाग्छ । समयमै मल र पानीको व्यवस्था गरियो भने कुहिने रोग लाग्दैन । अहिले उनी आफूले उत्पादन गरेका ड्रागन फल चीन पठाउने र बढी मुनाफा कमाउने सुरमा देखिन्छन् ।