एक्लो जीवन कति कष्टकर हुन्छ भन्ने कुरा मैले धेरै बुझिसकेँ । मेरो बा को उमेर छँदाको त्यो संघर्ष जुन आमा मरेपश्चात् निकै फिका भयो । हामी सातजना छोराछोरीको पालनपोषण, शिक्षास्वास्थ्य, ब्यावस्थापन त्यति सहज थिएन । पहाडमा हाम्रो खेतीबारी निकै नै थियो । आफ्नो समयमा त पाखोबारीमा बस्ती नै बसाल्नु भएको अरे । त्यसैले त ती बस्तीबाट भारतिय सेनामा भर्ती भएका ठिटाहरूले सम्झना स्वरूप कम्बल, चिनी, चियापत्ती, जीरा ल्याइदिएर बाको खुट्टामा ढोगेको सम्झना आज पनि ताजै छ ।
छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञानले भरिपूर्ण बाले देखेका सपना पूरा त के दशमा दुई हिस्सा पनि गरियो कि नाई अन्योलमा छु । बासँगै आमाका सपना पनि सस्ता होइन अचाक्ली महँगा हुन् त्यो बेला । खेतीपाती र एउटा सानो जागिरले छोराछोरीलाई उच्च शिखरमा पु¥याउन गरेको आँट चानचुने पक्कै होइन । घर सम्हाल्ने आमा, बाहिरफेरो बा एउटाको कामप्रति अर्कोको गुनासो थिएन । खेतबारी, सम्पत्ती, ऋणधन, घर ब्यवस्थापनमा दुबै ताली बराबर बज्थे । आमा कथंकदाचित माइत गइहाले बाले भात पस्रेर खाएको जानिएन । बाटो हेरीरहन्थे । घर सुनसान । घरमा चुरा नबजे घरमा पस्नै मन नलाग्ने अरे । आमा माइती गएको मैले खासै जानिन । भन्नुहुन्थ्यो अरे म घर नभए आगै बाल्दैनन्, कसरी छोडेर हिड्नु ?
घर भनेको रथ हो, त्यो रथ चलाउन दुई पाँग्राको बराबर भूमिका हुन्छ । एउटा कमजोर भयो भने रथ न अगाडी सर्छ न त ब्यालेन्समा रहन्छ भन्ने कुरा राम्ररी बुझेका मेरा बाआमालाई के थाहा थियो र जीवनको उत्तराद्र्ध एक्लो र शुन्य हुनेछ भनेर । हाँसीहाँसी सुखदुखलाई पारिवारीक सदस्य बनाएर रमाएका बालाई ५४ बर्षकै उमेरमा जीवनसाथीबाट छुट्टिनुप¥यो । त्यसपछी बाको एकल कठीन यात्रा ।
बिधुर पिता बनेर बाँच्नु जीवनको सबैभन्दा कठिन कुरा रहेछ । देख्दाभन्दा सामान्य लागेपनि ति भित्री मर्म बुझ्न धेरै कठीन रहेछ । खुशीका कुरा साट्दा त परिवार बसेर हाँस्ने रमाउने गर्दैन भने दुखका कुरा कोसँग साट्ने ? बिधुर बाउसँग बोल्ने, उनीसँग समय कटाउन छोराछोरीलाई समय नहुने र भए पनि नजिक बसेर उहाँका कुरा सुन्न झर्को मान्ने । बिरामी भयो अस्पताल जान समय नहुने । बढी नै भयो अस्पताल पु¥याइदेऊ भन्नु बुहारीको अनुमती बिना सिटामोल नपाउनु कम कष्टकर अवस्था हो र ? आफ्नो समयमा खान जुर्दैन दिनेले जतिबेला आदेश गर्छ त्यतिबेला खाएखा नखाए घिच हुन्छ । कतै डुलेरसमय बिताउन खोज्यो (डुलुवा बुडो गामभरी चाहारेको छ बेलुकाको बुहार्तन ।) घरमा बस्यो एकशब्द बोलिदिने कोही हुदैन । जीवनसँगिनीको काजक्रिया उम्केकै दिन छोराबुहारीले आफ्नो आफ्नो गर्ने भनेर कसौँडी र कचौरा भाग लाउन थालेदेखी शुरू गर्दारहेछन् । बिधुर बा का एक्ला दिन । कहिलेकाँहि टाउको दुखेर भाउन्न हुँदा टाउको अँठ्याइदेउ भन्ने मान्छे हुँदैन । ज्वरोले इन्तु न चिन्तु हुँदा निधार छामीदिने मान्छे नहुने रहेछ । आज सकिन लुगा धोइदेउ कसलाई भन्नु । यो एक्लोपनले त मान्छेलाई पागलै बनाउँदो रहेछ ।
अझ गाह्रो त त्यो बेला हुने जुन बेला अरू छोराहरूकहाँ जान मन लाग्छ । एकदिन पुग्दा पनि राम्रो मुखले खान दिन नसक्ने, सन्चोबिसन्चो नसोध्ने, बटारिँदै तिम्रा बाउ के लिन आएका हुन् ? हाम्ले तिनको सम्पत्ति के खाएका छम् र भन्दै सुनाउने गर्छिन बुहारीले । अँश लिने बेला दुनो नछोड्ने छोराबुहारी गर्वसाथ भन्दिन्छन्, तिम्ले हाम्लाई के दिएउ र ? एउटा सिटामोल दिन नसक्ने छोराले आफ्नो ससुरालाई जेठानले माया गरेनन् भनेर जेठानलाई अर्ति दिन्छ ।
समाजका मानिसहरूकै पनि ब्यावहार नितान्त फरक हुने रहेछ । समाजमा ओल्लो घर पल्लो घरका महिलासँग बोल्दा कुदृष्टि राख्यो भन्छन् । न त शिर उठाएर हिड्नु न त झुकाएर साह्रै गाह्रो हुने रहेछ । जीवनका कुनै कठिनाईसँग नहारेको मान्छे एक्लो भएपछी सँसार हार्दो रहेछ । वास्तवमा बिधुर जीवन अत्यन्तै कष्टकर हुने रहेछ । मेरा बाले पनि एक्लो जीवन ३० बर्ष कसरी गुजार्नुभयो त्यो देखेर बिधुर बाको ब्याथा लेख्न मनलाग्यो । ती क्षणहरूमा मैले पनि कति कमजोरी गरेँ आज ती क्षण सम्झिदा मन भत्भत पोलेर आउँछ । प्रायश्चितका लागि न त बा जीउँदो हुनुहुन्छ, न त समय बचेको छ । पश्चाताप सिवाय केही रहेन ।
हिजोका ति खुशी ती पारिवारीक क्षण सम्झेर आफ्नै मन बाहेक सेयर गर्ने ठाउँ शुन्य भएपछी जीवन निरर्थक लाग्दो रहेछ । मैले बाको गाथा लेख्छु भनेको ब्याथा लेख्न पुगेँ । बाआमा हाम्रा लागि भगवानतुल्य छन्, ति बिधुर बाआमाको लागि थोरै पनि समय निकालेर अलिकति समय दिउँ त, कति खुशि हुनेछन् । एक्ला बाआमाको ब्यावहार नितान्त फरक त हुन्छ नै त्यसलाई सहर्ष स्वीकार गरेर मिठो बोलीदिऊँ । उनीहरूलाई सम्पत्ति होइन माया चाहिएको छ । सम्पत्ति सन्तानलाई दिँदा खुशी हुने बाआमालाई मिठो बोली दिन नसक्ने कति नालायक हामी ?
समाजमा भएका एकल बा हुन् वा आमा सबैलाई सबै सन्तानले थोरै समय दिऊँ, बा आमा खुशी हुनेछन्, हामीले दुःखी हुनुपर्ने छैन । आशीर्वाद मिल्नेछ ।