प्रधानमन्त्री प्रचण्डप्रति कांग्रेस नेता शेखरले गम्भीर आशंका व्यक्त गर्दै सुन तस्करी प्रकरणमा प्रचण्डप्रति प्रश्न उठाएका छन् । पहिले राजस्वले, अहिले सीआइवीले अनुसन्धान गर्नसक्ला र ? उनको प्रश्न छ । पहिले आफ्नै पूर्व स्वकीय सचिव नवराज ढुंगाना प्रमुख रहेको राजस्व अनुसन्धानमा फाइल थियो, अहिले सीआइवीलाई दिइएको छ । नेता शेखरको आशंका छ– सेटिङ मिलाइएको त होइन ? सुनकाण्डको खुलासाका विषयमा सञ्चारमाध्यमले खोज्नुपर्ने उनको सुझाव रहेको छ ।
शेखरले भनेका छन्– ‘एउटा प्रकरण निस्किन्छ, त्यो इश्यु अघि बढाउँदै अर्को इश्यु आउँछ, पहिलाको इश्यु साइड लाग्छ । भुटानी शरणार्थीपछि ललितानिवास जग्गा प्रकरण आयो । भुटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालको बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनै पनि काण्ड निष्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन् ।