काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगाना बल्ल बोल्न थालेका छन्– नेताहरू मुनाफाखोर भ्रष्ट बन्नाले गणतन्त्र जनसंस्था बन्न सकेन ।
ढुंगानाको तर्क छ, जनसंस्थाका रूपमा गणतन्त्र स्थापित हुनसकेन ।
गतहप्ताको बिहीवार एक कार्यक्रममा बोल्दै ढुंगानाले भनेका छन्– नेपालबाट राजतन्त्र विस्थापित भए पनि जनसंस्था स्थापित गर्न सफलता हासिल भएन ।
नेपाल राजसंस्था बिस्थापित भएको नाममात्रको गणतन्त्र हुनपुग्यो । गणतन्त्रमा (गण) जनताको हित हुनुपर्ने हो, जनसंस्था र जनप्रतिनिधिहरू व्यापारीभन्दा पनि मुनाफाखोर हुन गौरव गर्न थाले । राजनीति अनुचित लाभ लिनका लागि भएको छ । राजसंस्था र जनसंस्था नभएको संक्रमणकालीन स्थिति छ । राजनीति व्यापार बन्यो । नेता व्यापारीभन्दा पनि नराम्रो बने । जनसंस्था खोई ?
राजसंस्था गयो, जनसंस्था चाहियो, कहाँ छ जनसंस्था ? हामी राजसंस्था र जनसंस्था पनि नभएको संक्रमणकालको स्थितिमा पुग्यौं । मेरो स्पष्ट भनाइ छ– राजसंस्था नभएको, तर जनसंस्था भएको स्थिति पनि होइन । जनताको शासन भएको अवस्था पनि छैन । नेपालको यथार्थ राजनीतिक स्थिति यही हो । भुटानी शरणार्थी र ललिता निवास प्रकरण हेरौं, लोकतान्त्रिक शासन यस्तै हुन्छ ?