Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सुरक्षा व्यवस्थामा गम्भिर खतरा

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

सुरक्षा व्यवस्थामा गम्भिर खतरा

काठमाडौं । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर त्रुटी भएको छ, तत्काल नसच्याउने हो भने विश्वले नेपालको सुरक्षा व्यवस्थामा संशय गर्नेछ, भर पर्ने छैन । गणतान्त्रिक लोकतन्त्र व्यवस्था राम्रो हो, नेतृत्व असक्षम भयो, राजनीतिको मूल प्रदूषित भएपछि सम्पूर्ण शासन व्यवस्था नै दुषित हुनेरहेछ भन्ने ओम्नी, यति, वाइडबढी जहाज, ललितानिवास जग्गा काण्डमात्र होइन, शरणार्थीका नाममा मान्छे बेच्ने उद्यम चलाएको राजनीतिक अपराधबाट सावित हुन पुगेको छ ।
प्रष्ट छ, राजनीतिमा कांग्रेस, माओवादी र एमालेवीच प्रतिस्पर्धा छ, एकले अर्कोलाई खुइल्याउनकै लागि सिद्धान्त, नीति, निष्ठा, इमानदारिता समेत परित्याग गरेका छन् । कुनै बेला एमाले माओवादी मिलेर कांग्रेस सिध्याउँदै थिए, यतिबेला कांग्रेस र माओवादी मिलेर एमाले सिध्याउँदैछन् । प्रजातन्त्रवादी र जनवादी मिलेर एमालेलाई मटियामेट पार्न खोज्नु प्रतिषोधको राजनीति पन्पिनु हो, यस्तो राजनीतिले नेतालाई लाभ होला, सत्ता हासिल होला, देशका लागि विपत्तिबाहेक केही प्राप्त हुनेवाला छैन ।
बालुवाटारको ललिता निवास जग्गा काण्डपछि भुटानी शरणार्थीलाई अमेरिका पठाइदिने लोभ देखाएर अरवौं ठगी गर्ने गिरोह राजनीतिमै छन् । एमसीसी माग्ने हुन्न भन्ने, हुन्छ भनेर पास गर्ने र बीआरआईमा उदासीन रहेर व्यक्तिगत र पार्टीगत शुभलाभ हासिल गर्ने जाली काम गर्ने पनि राजनीति गरिरहेकै छन् । यिनले देशमा कसरी शान्ति र समृद्धि ल्याउलान् ।
यति नै बेला एयरपोर्टबाट २६औं पल्ट इलेक्ट्रिक सिगरेट, सवारी साधनको ब्रेकसुका नाममा सुन तस्करीको ठूलै काण्ड पर्दाफास हुनपुगेको छ । सत्ताधारीले चलाउने हो प्रशासन, सुरक्षा निकाय । हरेकपल्ट प्रशासक र सुरक्षा निकायको मिलिभगतमा १ सय ५५ किलोसम्मको सुन तस्करी भइरहेको रहेछ । ७ थरिको वर्दी र बिना वर्दीका कर्मचारी चौबिसै घण्टा तैनाथ रहने अन्तर्राष्ट्रिय एयरपोर्टमा  अर्थ र गृह मिलेरै तस्करी हुनपुगेकोमा शंका गर्न सकिन्न तर कसैले पनि जिम्मेवारी नलिएर साना कर्मचारी फसाएको देखिन्छ । थप अनुसन्धानले पनि सानालाई ऐन, ठूलालाई चैन हुने अवस्था बन्दै गएको बताइन्छ ।
सेटिङ मिलाएर सत्ताधारी निकट मानिने कर्मचारीलाई वर्षौदेखि एयरपोर्टमा खटाएको देखिन्छ । माओवादी निकट अरूण पोखरेल, प्रचण्डका पूर्व निजी सचिव बरिष्ठ भन्सार अधिकृतमा झंकनाथ ढकाल, प्रमुख अध्यागमन अधिकृतमा माओवादी निकट रामबन्धु सुवेदी, सुरक्षा अधिकृतमा नारायणकाजीका चाकरीदार मानिएका डीआइजी अर्जुन चन्द ठकुरी, अर्थमन्त्रीको सिफारिसमा भन्सार महानिर्देशकमा शोभाकान्त ढकाल खटाइएको हो । विमानस्थल प्रमुखमा पर्यटन मन्त्रीले खटाएका प्रतापबाबु तिवारी छन् । यति भएपछि सुन तस्करी जाँचपास भएरै एयरपोर्टबाट बाहिरिएकोमा कस–कसले जिम्मेवारी लिनुपर्छ, स्पष्ट हुँदैन र ?
सुन छाडिने दिन सेटिङ मिलाएरै सुरक्षा प्रमुख र भन्सार अधिकृत विदामा बसेका थिए । यो कागताली होइन । यति ठूलो सुनकाण्डमात्र होइन, नेपालको सुरक्षा प्रवन्धमै प्रश्न उठ्ने खालको तस्करीबारे विशेष छानबिन हुनपर्ने सवाल उठेको छ । यदि एयरपोर्ट सुरक्षित छैन भन्ने कुरा विश्वमा फैलियो भने नेपाल तस्कर, माफियामात्र होइन, आतंककारीको पनि डेरा बन्नपुग्नेछ । सुरक्षा निकायलाई राजनीतिकरणबाट मुक्त नराख्ने हो भने विश्वले प्रशंसा गर्ने नेपाली सुरक्षा निकायको मानमर्दनमात्र हुनेछैन, देशकै इज्जत धुलिसात हुनसक्छ भन्ने विज्ञका धारणा सुनिन थालेको छ ।