काठमाडौं । नक्कली नोटको बिगबिगीले राष्ट्र बैंकलाई झस्काएको छ, प्रहरी नेपालमै बन्छ कि भारत वा अन्यत्रबाट नक्कली नोट आइरहेको छ भनेर खोजतलासमा लागेको छ । खासगरी सीमा सहरहरुमा नक्कली नोटको त्रास बढेकाले भारतमा छापेर नेपालमा चल्तीमा ल्याएको हुनसक्ने अनुमान छ । केही नक्कली नोट राजधानीमा पनि फेला परेको प्रहरी बताउँछ ।
गतहप्ता प्रहरीले ५ सय दरका १ सय ६० थान नक्कली नोट बरामद गरेको थियो । ललितपुरबाट मकवानपुर स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी बताउँछ । नोट कहाँबाट आयो ? बाहिर कति गयो ? नक्कली नोटमा को को संलग्न छन् भन्ने अनुसन्धान भइरहेको छ । गत वैशाख १० गते ३६ वर्षीय जीवन तामाङलाई नक्कली नोटसहित पक्राउ गरिएको थियो । यसअघि कास्कीको मार्दी गाउँपालिका थाहा चोक नजिकैबाट १८ हजार नक्कली नोट भेटिएको थियो ।
नक्कली नोटसहित ४७ जना समातिएका छन् । नक्कली नोटको कारोवारमा १५ जना विदेशी पनि संलग्न देखिएका छन् । बिग्रदो अर्थतन्त्रमा नक्कली नोट आतंकले अरु अराजकता फैलाउने खतरा बढेको छ ।