Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आफ्नो असफलता स्वीकार गर्नु नै निकास

०७ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

स्वयम्भुनाथ कार्की
साधारणतया सय दिनको समयलाई सरकारको मधुमास काल भनिने गरिन्छ। नेपालको तराई भनिने मैदानी क्षेत्रमा जनजीवन ठप्प भएको अवस्थाले यो मधुमासकाल पुरा गरिसक्यो। बीचमा परेका दशै, तिहार, र छठ जस्ता लामा पर्वले केही खुकुलो अनुभूति भए पनि आन्दोलनको निरन्तरता भंग भएको छैन। नेपालको निर्माणसँगै नेपालीमा कायम रहेको भावनात्मक एकता चर्किने खतरा टड्कारो देखा पर्दैछ। सुरक्षा घेरामा रहने र कुनै अभावले हतपत नछुने नेताहरुले यो ठूलो कुरा नदेख्नु कुनै अचम्मको हैन। रुघालाग्दा समेत 'एयर एम्बुलेन्स' चढेर सिंगापुर, बैंकक वा मेदान्ता अस्पताल, दिल्ली पुग्ने नेताहरुले सर्वसाधारणको पीरमर्का, पीडा कसरी बुझ्छन् र? आधा बिहार र उत्तरप्रदेशको पेट भर्दै आएको नेपालको खाद्यान्न उत्पादन बहुदलकालमा चामल आयात गर्ने अवस्थामा पुगेको कुरा स्विकार गर्न नचाहेको सत्य हो। त्यही धान उत्पादन पनि केही मौसमको मार अनि बाँकी राजनीतिको मारले आधा भन्दा कम हुँदैछ। त्यही आधा भएको उत्पादन भित्र्याउन पनि दाई गर्ने र बोक्ने साधनहरु चलाउने इन्धनको अभावले गर्दा कठिन भएको छ। 'मरे माथी कात्रो थप' भने झैं रवी बालीको रुपमा खेती गरिने गहुँ छर्न हम्मे हम्मे पर्ने अवस्था छ। इन्धन, कच्चामालको अभावले यातायात र उद्योग नराम्ररी प्रभावित भएका छन् भने मल र बिउबिजनको अभावले कृषि उत्पादनमा दुस्प्रभाव पारिसकेको छ।
अभिव्यक्तिमा अश्लिलता , अभद्रता नबार्ने हो भने गालीका त्यस्ता शव्दहरुको बर्षा हुने थियो जसलाई पचाउन कठिन पर्दछ। तैपनि जमघट, कोणसभा, छलफल आदिमा समाजका भद्र भनेर लब्ध प्रतिष्ठितहरुको मुखबाट यस्ता शव्दहरु फुस्किने क्रम शुरु भइसक्यो। सम्पूर्ण प्रणालीको असफताको यो भन्दा पक्का प्रमाण अरु कुनै हुन सक्दैन। अब उपलब्धिको रट नै लगाई रहनु, ९० प्रतिशतको दम्भ नै पाल्नुको कुनै अर्थ छैन। यो उपलब्धिहरुसँग असहमतहरुले मुलुकको कानूनको नाताले तितो दवाई सरह संविधान मानेका छन्, तर यसैको पक्षमा ठूला कुरा गर्नेहरु नै आलोचनामा उत्रिसकेका छन्।
राष्ट्रको जीवनको कुनै एक यस्तो क्षेत्र छैन जहाँ १२ बुँदेको आधारमा भएका कामहरुले सकारात्मक प्रभाव छोडेको होस्। कसैले मुलुकको भविष्यमा सानो भन्दा सानो उज्यालोको झिल्को पनि देखेका छैनन्। जनशक्तिहरु त विदेश पलायन भएर रोजीरोटी कमाउन थालेको लामो समय भई नै सक्यो। अब विस्तारै सानाबाट सुरु भएर सबै उद्योगीहरु कि पलायन हुने कि समाप्त हुने अवस्था देखा पर्दैछ। किसानहरुको फलफुल तरकारीहरु बारीमा नै कुहिन सुरु भइसकेको छ। भुईचालोले तहसनहस भएको जनजीवन सम्हालिन नपाउँदै आसन्न विकराल अनिकाल देख्न थालिएको छ। निकासको बाटोको रुपमा भिषण भाषण र अर्कालाई गालीगलौज देख्नेहरुको जमातले शताव्दियौदेखिको नेपालीको सामाजिक सौहार्द्रता तहसनहस हुँदैछ। सम्पूर्ण असफलताको योभन्दा ठूलो प्रमाणपत्र अन्य के हुनसक्छ र? तै पनि जिम्मेवारहरु हेलिकप्टरको सयरमा गएर त्यहाँ उपस्थितहरुको सामुन्ने आँखाको आँसु पुछेको 'गोहीको आँसु' झैं अभिनय गर्दछन् भने मुलुकको यो भन्दा ठूलो दुर्भाग्य अरु हुँदैन। त्यसैले अब असफता स्विकार गर्न एक निमेष पनि ढिलो गर्नु ठिक हुँदैन।
यस्तो विकराल स्थितिमा पहिलेको अवस्थामा फर्कने काम सर्वमान्य नै हो। अंग्रेजीको शव्द 'स्टाटस को एन्टे' जसको अर्थ पूर्ववत स्थितिमा राख्नु, अनेकौं पटक प्रयोगमा आएको शव्द हो। पूर्ववत अवस्थामा जानको निमित्त कुन अवस्थासम्म भन्ने कुरामा भने बहस हुन सक्ला तर फर्कनै पर्दछ भन्ने कुरामा कुनै शंका नै छैन। यसै किसिमको आवाजहरु मुखर पनि हुन थालिसकेको छ। त्यस्ता आवाजको सम्मान गरेर काम थालिन ढिला गरिनु हँुदैन।  
विगतका दशकौंदेखि भएका अनेकौ प्रयोगहरु र तिनीहरुको असफलताले मुलुक थिलथिलो भइसकेको छ। अब नयाँ वा नौलो कुनै प्रयोग बाँकी रहेको छैन, न जाँचेर हेर्ने कुनै नेताको परीक्षण नै बाँकी छ, न अन्य कुनै पात्र नै छ। मुलुक अभूतपूर्व संकटमा छ। त्यसैले यो अवधिमा विगतका समयमा अपेक्षाकृत राम्रो गरेको पात्रलाई मुलुक सुम्पेर थप क्षतिबाट बचाउनु नै बुद्धिमानी ठहर्छ। चाहे राजा महेन्द्रको ११ बर्ष १ महिना १६ दिनको समय होस वा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, जनताले र मुलुकले कम हण्डर खाएको समय त्यही नै हो। हो, यो अवधिमा राजनैतिक नेताहरुले खानुसम्म हण्डर खाएका हुन् तर तिनले शिक्षा लिएनन्। वर्तमानमा नेताहरुको निमित्त स्वर्ग भएको मुलुक जनताको निमित्त कष्टकर भएको छ। त्यसैले निकासको एकै बाटो छ, नेताहरुले  असफलता स्विकार गरेर स्थान खाली गरिदिनु।