नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश मानिसहरुले कृषि पेशा अपनाउने गरेका छन् । यहाँका किसानहरुले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको पाईन्छ । २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय भई २०६२ साल असार १५ गतेदेखि मनाउना शुरु गरिको असार १५ अर्थात धान दिवस पछिलो अवस्थामा वास्तविकता भन्दा देखावटी बन्न थालेको देखिन्छ ।
यहि असार १५ अर्थात धान दिवस किसानलाई पिरलो नेतालाई रमाइलो भएको दृश्यहरु यसपालिको धान दिवसमा देखिएको छ । यतिबेला धान दिवसको अवसरमा भिभिन्न राजनीतिक दलका नेताहरूले खेतमा धान रोपेर रमाइलो गरेको दृश्यले सामाजिक सञ्जाल छाएको छ । नेताले धान रोप्दै गरेको बिभिन्न दृश्य हेर्दा वास्तविक किसानको खिल्ली उडाएको होकी भन्ने देखिएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले चितवनमा धान रोप्दै गरेको दृश्य देखि हातमा धानको बीउ लिएकि महिला जनप्रतिनिधिलाई बूढो मान्छेले छाता ओढाएको दृश्यले सामाजिक संजाल रंगिएको छ । उक्त दृश्य हेर्दा कतै नेताले आफ्नो दायित्वभन्दा पनि कृषकको उपहास गरेको त हैन भन्ने अनुमान लगाउन सकिन्छ । स्थानीयदेखि संघीय सांसदसम्मले खेतमा धान रोपेका फोटाहरू छरपस्ट देखिएका छन् । के यस्तो देखावटी रमाईलोले देशको कृषि क्षेत्रमा परिवर्तन आउछ ? सोच्ने बेला आएको छ ।
नेताहरुले वर्षमा एक दिन सुटबुट सहित बाजागाजा र फूलमाला लगाएर खेतमा पसेर रमाईलो गर्दैमा कृषिमा परिवर्तन हुन्छ ? नत्र वास्तविक किसानको मजाक उडाउने काम किन भईरहेको छ । के देशले चाहेको परिवर्तन यहि हो ? जुत्ता लगाएर खेतमा धान रोपेको फोटो सामाजिक सञ्जालमा हाल्दैमा आफ्नो दायित्व पुरा हुन्छ ? साँच्चिकै समस्या बुझ्ने हो भने कृषकको न्यूनतम आवश्यकता पूरा गर्न तर्फ उनीहरुको ध्यान जान आवस्यक छ ।
नेताहरुले एक दिन खेतमा गएर धान रोपेको नाटक मन्चन गर्दैमा वास्तविक किसानको समस्याको समाधान गर्न सहयोग पुग्दैन भन्ने सबैलाई थाहा छ । कुन दलको सरकारले कृषकलाई के सुबिधा दियो भनेर प्रश्न गर्ने ठाउँ अनगिन्ती छन । कृषकको नाममा राजनीतिक पहुँचका आधारमा गैरकृषकले लाभ लिइरहेको अहिलेको अवस्थामा नेताहरुको यस्तो शैलीले किसानलाई चोट माथि चोट मात्रै थपेको देखिन्छ । कृषि अनुदान पनि उनै हुनेखाने र राजनीतिक पहुँचवालाले पाउँने गरेको किसानको गुनासो कसले सुन्ने ? तसर्थ सरकार र राजनीतिक दलहरुले कुरा गरेर होइन काम गरेर देखाए मात्रै वास्तविक किसानले बिस्वास गर्ने दिन आउला नत्र देशको नेताहरुको यो चरित्रले 'कागलाई बेल पाक्यो हर्ष न विस्मत' भने जस्तो मात्रै हो ।
तसर्थ सामाजिक संजालमा हैन वास्तविक परिवर्तन चाहने हो भने किसानलाई बाली लगाउन मल, बीउबिजनको ब्यबस्थापन हुनुपर्छ । सिँचाइको ब्यबस्था, उब्जाएको वस्तुको बजार मूल्य, किसानलाई अनुदान लगायतका कुरामा ग्यारेन्टी गरिनु पर्छ । तब मात्र किसान हकहितको महसुस हुनसक्छ । नत्र भू–माफियाको घेराबन्दीमा परेको राज्यले तिनीहरूकै हितमा निर्णय गर्दा कृषक मारमा परेको अवस्थामा धान दिवस मनाउनुको कुनै औचित्य छैन ।