पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नेपालको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपाल कृषि प्रधान देश भने पनि कृषकले समयमा मल पाएका छैनन् । यसमा कम्पनीले किन ध्यान नदिएको हो ? साल्ट ट्रेडिङ कर्पोरेसनमा सामानको आपूर्ति र विक्रीवितरणको अवस्था लगायत विषयमा आधारीत रहेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठसँग खबरहबका लागि पुष्पाञ्जली बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :
साल्ट ट्रेडिङ नुनको बिक्री वितरणमा मात्र अल्झियो, अरु वस्तुलाई खासै ध्यान दिएन भन्ने गुनासो सुनिन्छ । किन होला ?
साल्ट ट्रेडिङको स्थापना २०२० सालमा नेपाल सरकार र निजी क्षेत्रका नुन व्यापारीको संयुक्त लगानीमा स्थापना भएको संस्था हो । साल्ट ट्रेडिङ कर्पोरेशन नामबाट स्थापना भएको यो संस्थाले नुनकै कारोबार गर्दै आएको हो । तर, पछिललो समय हामीले अन्य वस्तुको पनि कारोबार गरिरहेका छौँ । अहिलेसम्म आइपुग्दा चिनी, चामल दाल तेल, गेडागुडी, रासायनिक मल, बिउ र अखबरी कागजलगायत अन्य वस्तुको समेत व्यापार गर्दै आएका छौँ ।
साल्ट ट्रेडिङलाई लिएर पहिला जनस्वास्थ्यसँग जोडेर प्रश्न गरियो, अहिले के छ अवस्था ?
पहिला नुनमा आयोडिन धेरै भयो भन्ने विषयमा प्रश्न उठेको हो । उत्पादनस्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम चाहिन्छ, बजारसम्म आउँदा ३० पीपीएम र घरसम्म पुग्दा र पकाइसकेपछिको खानामा १५ पीपीएम हुनुपर्छ भन्ने छ । त्यस कारण ५० पीपीएम भन्दा कमको नुन ल्याउँदा नेपाल सरकारले कारवाही गर्छ । अर्कोतर्फ नेपालमा समुद्र नभएको कारण सामुद्रिक खाना छैन । यसको अर्थ नुनको विकल्प पनि छैन । नेपालमा आयोडिनको कमीबाट लाग्ने गलागाँड, लुलोलंगडो हुने लगायतका समस्या कम भएका छन् । त्यो घट्दा न यी समस्याहरू बल्झिने हुन् कि भन्ने प्रश्न पनि आइरहेका छन् ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर कृषकहरुले समयमा मल पाएका छैनन् । यसमा कम्पनीले किन ध्यान नदिएको ?
सरकारले २०६९ सालपछि मल वितरणसम्बन्धी काममा साल्ट ट्रेडिङलाई समावेश गरेको हो । यसमा नेपाल सरकारको ३० प्रतिशत अनुदानमा हामीले काम गर्ने हो । ७० प्रतिशत कृषि सामग्री कम्पनीलाई दिने हो । नेपालको आवश्यकता अनुदानको मलले मात्र पूर्ति हुन सक्दैन । हाम्रोमा मलका लागि बजेट नै अपुग छ । अहिले नेपाल सरकारले मलको कोटा थप गरेको अवस्था छ । यसमा हामी निरन्तर सजग छौँ । सरकारले ९२ हजार मेट्रिक टन मल फेरि ल्याउनु भनेर थप कोटा दिएको छ । सबै मल असोजभित्र आउँछ । नेपालमा वार्षिक रुपमा लगभग ५ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । अहिलेको मौज्दात ६०/७० हजार मेट्रिक टन मात्र छ । यो वर्षको असोजसम्म किसानलाई मलको समस्या हुँदैन ।
अहिले गाउँमा मल ढुवानी कसरी गरिरहनु भएको छ ?
गाउँपालिकाको सिफारिषमा कृषि मन्त्रालयबाट कोटा छुट्ट्याइएको हुन्छ, त्यसको आधारमा नै हामीले रासायनिक मल वितरण गर्ने हो । तर बाहिरबाट मल आयातको हकमा सबै ठाउँमा वीरगञ्जबाटै लैजानुपर्छ, कलकत्ताबाट मात्रै मल आउने भएकाले वीरगञ्जबाटै ल्याउनुपरेको हो । यसो हुदाँ मलको ढुवानी महँगो पर्छ । आम नागरिको हिसाबले अर्थ व्यवस्थालाई नीतिगत हिसाबले लानु राम्रो हुन्छ। नीति नियमहरू नारामा मात्र लगाएर हुँदैन । काम गरेर देखाउनुपर्ने जिम्मेवारी सरकारसँग छ ।
बीउबाहेक कृषिउपजसँग सम्बन्धित अन्य के कस्ता कारोबार गरिरहनुभएको छ ?
साल्ट ट्रेडिङकै लगानीमा मोरङमा सुगर मिल खोलिएको छ । त्यसको फार्ममा हामीले उन्नत जातको उखु खेती गरेका छौं । हामीले गहुँको बीउको प्रशोधनका साथै ‘कन्ट्र्याक्ट फार्मिङ’ गरिरहेका छौं । गहुँको बीउ पनि वितरण पनि गरिरहेका छौं । हामीले साल्ट ट्रेडिङकै आफ्नै जग्गामा मोरङ सुगर मिल कम्पनी छ । चिनी उत्पादन मिल चाँहि पुरानो भएकाले अहिले बन्द गरीएको छ । श्रमिक अभावले समयमै उखु काट्न नसकिने र काटेर लगेपछि सुक्ने डरले यान्त्रीकरणमा धेरै पैसा खर्च भएको छ । हामीले उखु रोप्ने र काट्ने कामका लागि मेशिन र उपकरणमा निकै पैसा खर्च गरिसकेका छौं । यो क्षेत्रमा सरकारको लगानी पुगेको छैन । तर खासमा जानुपर्ने यान्त्रीकरणमै हो । सरकारले अहिले कृषि मन्त्रालयमार्फत सानो सानो कुरामा अनुदान दिने होइन ।
हाल साल्ट ट्रेडिङ कम्पनीले कति जनालाई रोजगारी दिएको छ त ?
साल्ट ट्रेडिङ मा मात्रै स्थायी र अस्थायी गरेर लोडरअनलोड गर्ने कामदारको संख्या हटएर ५०० भन्दा बढी मानिसले रोजगारी पाइरहेका छन् । वर्किङ युनिटले नुनलगायत सामान प्याकिङ गर्ने गर्छ । त्यसमा पनि हामीले ३०० भन्दा बढी कर्मचारी राखेका छौँ । जसमा ९० प्रतिशतभन्दा बढी महिला सक्रिय छन् । गोरखकाली रबर उद्योगमा पनि नेपाल सरकारपछिको ठूलो साझेदार हामी नै हौं । तर, त्यो अहिले बन्द छ । बुटवल धागो कारखानामा पनि हाम्रो लगानी छ । यो उद्योग सञ्चालनमा आएपछि साल्ट ट्रेडिङ अन्तर्गत रोजगारी पाउनेको संख्या थपिन्छ । वित्तीय क्षेत्रतिर सनराइज बैंकमा हाम्रो शेयर छ । सगरमाथा र लुम्बनी इन्स्योरेन्स मर्ज भएर बनेको सगरमाथा लुम्बनी इन्स्योरेन्स कम्पनीमा पनि हाम्रो शेयर छ ।
कम्पनीको वार्षिक सरदर कारोबार कतिसम्म हुने गरेको छ ?
साल्ट ट्रेडिङको मात्र हिसाब गर्ने हो भने पहिला १०–११ अर्बको हुन्थ्यो । गत वर्ष कोभिडपछि घटेर ८ अर्ब जति भएको थियो भने यस वर्ष बढ्ने अपेक्षा छ ।
प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १२ : ३३ बजे
@khabarhub.com