एनआरएनको ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको समृद्धिका लागि सरकार एनआरएनसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । उपप्रधान तथा रक्षामन्त्री खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित एनआरएनको ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उक्त प्रतिबद्धता जनाएका हुन् ।
नेपाल सरकार गैरआवासीय नेपाली संघ (एनआरएन) संग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको मन्त्री खड्काले बताए । खड्काले ओमानको मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिएका छन् ।
एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैरआवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने बताउदै सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताएका थिए ।
उनले सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको बताउदै संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको बताए । साथै, छिट्टै नियमावलीको काम सक्ने गरि काम सुरु गर्ने र विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको जानकारी दिएका थिए ।
मन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरेका छन् । एनआरएनको ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार सम्पन्न हुने बताईएको छ ।