गान्तोक, “मानिस उमेरले मात्र सानो र ठूलो हुन्छ । विचारले म पनि तपाईंहरूमध्येकै एकजना तपाईंहरूजस्तै मान्छे हुँ । हाम्रो एउटै मात्र उद्देश्य छ । त्यो उद्देश्य हो, सिक्किमलाई राम्रो बनाउने, राम्रो सिक्किम बनाएर भावीपीढ़ीलाई जिम्मा लगाउने ।” उक्त आशय एसडीएफ अध्यक्ष तथा नाम्ची–सिङ्गीथाङ समष्टिका विधायक पवन चामलिङले पार्टी पदाधिकारीहरू समक्ष व्यक्त गरेका हुन् ।
अध्यक्ष चामलिङ “सिक्किम बचाउन एसडीएफ पार्टीले आरम्भ गरेको महाअभियान ‘सिक्किम बचाऔं अभियान’ हो, र यस महाअभियानको जिम्मेवारी वहन गर्नका निम्ति ठूलो सङ्घर्ष, मिहिनेत र त्याग चाहिन्छ” भनेका छन् ।
यसै क्रममा उहाँले सिक्किमेली जनतालाई अन्याय, अत्याचार, शोषण, दमन र आतङ्कबाट मुक्ति दिलाएर शान्ति एवं सुरक्षा दिने सिद्धान्त र उद्देश्य भएको एकमात्र पार्टी एसडीएफ हो र सिक्किमेली जनता अन्याय, अत्याचार र आतङ्कको विरोधमा लड्न डराउनुहँदैन भनेर बुझाएका छन् ।
सिक्किम बचाउने र सिक्किमेली जनताको हक–अधिकारको सुरक्षा गर्ने अन्तिम अवसर भनेको २०२४ को चुनाउ हो । यो आउँदो चुनाउ सिक्किम मास्ने र बचाउने माझको चुनाउ हुनेछ । जनमत सङ्ग्रह गर्ने चुनाउ हुनेछ यो ।