प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैलेख जिल्लाको प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । बुधवार प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको निरीक्षण गरेका हुन् ।
बुधबार मा अवस्थित नेपाल संस्कृत विश्वविद्यालय दाङको पाँचौं दीक्षान्त समारोहमा उपस्थित भएर उक्त कार्यक्रमालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड दैलेखको प्राकृतिक ग्यास उत्खनन क्षेत्रमा पुगेका थिए ।
उक्त प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारी लिएका थिए । उक्त क्षेत्रको निरीक्षण गर्नुअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए ।
प्रधानमन्त्री बुधवार दाङ र दैलेखमा आयोजित कार्यक्रमहरूमा सामेल भएर कार्यक्रम सम्पन्न गरी बुधवार साँझ काठमाडौँ फर्किएका थिए ।