प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा लागेकाले कुनै पनि सम्झौता नगरिने बताएका छन् । पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसको कार्यक्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
बुधबार बिहान दिवङ्गत नेता पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढेको बताए । उनले सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने आशंका गरेको देखिएको बताउदै सरकार ठुलो कुरा नभएकाले भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए ।
उनले पूर्वमन्त्री स्व.पौडेलको स्मरण गर्दै जनताको बीचमा स्थापित गराउन शिक्षामन्त्रीको जिम्मेवारी दिएको र उनले आफ्नो जिम्मेवारी पुरा पनि गरेको बताउदै डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका र आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेकाले यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी काँधमा आएकाले समाजवादी मोर्चा बनाउँदै समाजवादको मौलिक बाटो खोजिरहेको बताए ।
नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्दै अगाडी बढ्ने बताए । स्मृति दिवस कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरूको उपस्थिति थियो ।