भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिईने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्रि श्रेष्ठले बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउदै गलत गर्ने जो कोहि कारबाहीको भागीदार बन्ने बताए । उनले अब कसैले पनि राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति नपाउने बताए । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ रहेको छ ।
गरिबीको दुश्चक्रमा पिसिएका आम जनताले अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन नसकेको अवस्थामा ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्ने बताउदै मन्त्री श्रेष्ठले पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उनको गुनासो थियो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ प्रहरी,प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले लाउके वा बिचौलियाको कुरा नसुनेर सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्ने बताए । मिटरब्याज पीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ नपाएको भन्दै मिटरब्याजी सामाजिक अपराधीमा अझै नदरिएको र यसको अन्त्यका लागि प्रहरी,प्रशासनिक निकाय र स्थानीय तहका प्रतिनिधिमा थप प्रतिबद्धता आवश्यक रहेको उनको भनाई रहेको थियो ।