Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राजनीति पर्चामा, नाङि्गने चर्चामा :

३० सोमबार , कार्तिक २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ
कस्तो समय आयो, समयसँगै सभ्यता आयो। राजनीति पर्चामा सिमित हुनथाल्यो, नाङि्गने युवतीहरु चर्चामा छाउन थाले। ज्योति मगरले त गर्नु गरिन्– कि रेखाको चल्छ, कि देखाको चल्छ भनेर लुट्नु चर्चा लुटिन्। गाली गर्नेहरुले गरे, बालाजु उद्दान पुगेकी ज्योतिलाई चुल्ठ्याएको समाचार पनि आयो, तर तिहारको द्यौशीमा उनैले सारी माथिसम्म सारिन, माथिको पनि मकै छोडाएझें छोडाएको युवामात्र होइन, बुढाले पनि हेर्नु हेरे। स्कूल जाने युवतीहरु डान्स क्लव जान्छन्, प्रहरीले पक्राउ गरेर अभिभावकलाई बुझाइदिन्छ तर तिनै स्कुले छात्राहरु भन्छन्– हामीले जे गरे पनि यी ढिडेलाई के मतलव? रत्नपार्क अथवा ठमेलतिर पक्राउ पर्ने युवतीहरु पनि भन्छन्– हामीसँग बेच्ने केही छैन, जे छ त्यही बेच्ने हो। पेट पाल्नैपर्‍यो, बालबच्चा, बुढाबुढी पाल्नैपर्‍यो, यौन नबेचेर के बेच्ने? काम छैन, पेटमा जाउलो कसरी हाल्ने? खिलराज रेग्मीको सरकारको पालामा एआईजी रहेकी पार्वती मगरले खुलेआम भनिदिइन्– अव रेडलाइट इलाका तोकेर यौन व्यवसाय बिधिसम्मत पार्न अवेर गर्नहुन्न। त्योभन्दा अघिल्लो पटक गृहमन्त्री रहेका वामदेव गौतमले पोखराबाट स्पष्टै भनिदिएका थिए– यौन व्यवसाय कानुन बनाउन आवश्यक भइसक्यो। तर, बनेन। कसैले बनाउने प्रयास पनि गरेनन्। अहिले शक्ति बस्नेत भन्ने जनयुद्धकारी व्यक्ति गृहमन्त्री बनेका छन्। माओवादीको १० वर्षे जनयुद्धमा होमिएका हजारौं युवतीहरु यतिबेला राजमार्गमा यौन बेचेर पेट पालिरहेका छन्। बन्दुक बोकाएर सत्तामा पुगेकाले तिनको हेरविचार गरेन। अव कानुनसम्म बनाएर यौन व्यवसायलाई सुरक्षित र पुलिसको भयबाट मुक्त पारिदिने काम गर्छन् कि हेर्नु बाँकी छ।
प्रत्येक दिन दोहोरी साँझदेखि क्लव अथवा होटेलहरुमा युवायुवती खुब नाच्छन्। युवाहरू नाच्न सोखिन हुन्छन्, नाच्न पाउनुपर्छ तर नाच्ने नाममा लगाएका लुगा फुकाल्दै फुकाल्दै उन्मत्तताको हद पार गरिदिएको पनि देख्न सकिन्छ। जुन क्लव अथवा होटलमा बढी उन्मत्तता हुन्छ, बजार उसैले ओगट्छ। नेपालका जुनसुकै सहरमा यौन यसैगरी खरिदविक्री भइरहेछ, बोलकबोलमा चढिरहेको छ।     देशभक्तिको कुरा गर्नेहरु आत्तिन्छन् र भन्छन्– यस्तो नाङ्गो नाच र बैंशको व्यापारले भोलि कस्तोयुवा समाज तैयार होलान्। युवाहरू देशका भविष्य भन्ने अनि यौनबजारमा चुलुम्मै डुबाउने वातारण बिकसित हुँदा पनि केही नगर्ने? यौन व्यवसाय जति कडाइ गर्‍यो उति फस्टाउने अफिमको खेतीजस्तो छ। आज काट्यो, मैदान बनाइदियो, महिनादिनभित्रै गाँजाको बोट हरियो भएर हल्कन्छ। नेपालमा यौन यस्तै दिनदिनै हल्कदै र बढ्दै जाने व्यापार बनेको छ।
यस्तो झण्डै झण्डै उदाङ्गो नाच पश्चिमी संस्कारमा सुहाउला। नेपालजस्तो पूर्वीय दर्शनमा बाँचिरहेको र यो दर्शनलाई पश्चिमी संस्कृतिमा ढाल्दै जान दिंदा हाम्रो मौलिक पहिचान र अस्तित्व कायम रहन सक्ला? कुनै पनि देशको आफ्नै खालको पहिचान हुन्छ। नेपालको पहिचान संसारका लागि आश्चर्यपूर्ण छ र विश्वजगत त्यही संस्कार र संस्कृति हेर्न लालायित भएर धुइरीरहेको छ। के हामी यस्तो नाच नाचेर यौन पर्यटनलाई बढावा दिदैछौं कि पश्चिमी संस्कारलाई अपनाएर नेपाली संस्कारलाई बिस्थापित गर्दैछौं? यसतिर संस्कृतिविदहरुले पनि मौनता साधेका छन्। आधुनिकता चाहिन्छ, आधुनिकताका नाममा देखाउन जरुरी छ र?
युवायुवतीहरूले बिना हस्तक्षेप जीवन जीउन पाउनुपर्छ। स्वच्छन्दको नाम नङ्गा हुनु हो र? यसरी युवाहरू पश्चिमी गीत घन्काएर आफ्ना शरीरका सभ्यताहरूलाई फुकाल्दै जाने हो भने घरपरिवारको अनुशासन कायम रहन सक्नेछैन। जब घरपरिवारमा अनुशासन हुँदैन, समाज बिच्छृङ्खल उच्छृङ्खल बन्दै जानेछ। यस्तो समाजले देशको अस्तित्व, महिमा र गरिमालाई खण्डित र मण्डित पार्दै जानेछ। अनि कसरी देशको पहिचान कायम रहन सक्छ। हामी पानीमा चिनी घोलिएझैं पश्चिमी संस्कारको समुद्रमा घुलित भएर बिलाउन लागेका त छैनौं?
अमेरिकाको लशभेगास सिटीमा यस्तै नङ्गा नाच हुन्छ र क्यासिनोका लागि चर्चित छ त्यो सिटी। के हामी नेपालमा त्यही जीवनशैली भित्र्याउन लागिरहेका छौं? आजका युवायुवतीहरू यसरी उन्मत्त भैरव बनेर यौन उत्तेजना फैलाउने नाचलाई प्रश्रय दिइरहेका छन् भने यसपछिका पुस्ताले सिक्ने यही हो र पछ्याउने संस्कार पनि यही हो। यस्तै नाचले निम्त्याउने हो, मादक पदार्थको दुरुपयोग, ट्यापे संस्कार र आपराधिक मानसिकता। हामी नराम्ररी बिनासतिर धकेलिदैछौ।