Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

छुवाछुत मानव सभ्यताको कलङ्क हो : राष्ट्रपति पौडेल

२० शनिबार , जेठ २०८०३ बर्ष अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्क भएको बताएका छन् । उनले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानवीय गरिमाविरुद्धको अपराध भएको भन्दै त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना दिँदै राष्ट्रपति पौडेलले छुवाछूत प्रथा मानव सभ्यताको कलङ्कको रुपमा रहेकाले यस प्रथाको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले जातीय छुवाछुत प्रथाको विरुद्ध सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन संघ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सुरक्षा निकायलगायत सामाजिक संघसंस्थालाई शुभकामना संदेश मार्फत आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछूतरहित राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्नुका साथै आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

उनले विसं २०६३ मा मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरेको बताउदै संविधानले सबै प्रकारका विभेद र छुवाछूतको अन्त्य गरी समानुपातिक र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको बताए । 

संविधानले सबै प्रकारका विभेद र छुवाछूतको अन्त्य भएको घोषणा गरेपनि विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारण अझै पनि जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य हुन नसकेको भन्दै यसलाई अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन् ।