नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने गोरखाका कुमाल समुदायलाई एकै ठाउँमा व्यवस्थापन गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष ९ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
उक्त जलविद्युत आयोजनाले नै गोरखाका विभिन्न १० स्थानमा कुमाल समुदायलाई स्थानान्तरण गर्ने प्रस्ताव गरेको छ । तर, अलग्याएर राख्दा कुमाल समुदाय नयाँ ठाउँमा स्थापित हुन नसक्ने र उनीहरुको पहिचान पनि गुम्ने भएकाले एकै ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने कुमाल अगुवाहरुको माग रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले कुमाल नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटेर ज्ञापनपत्र बुझ्दै यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठुलो भएको बताए । उनले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार सँधै दृढ रहेको उल्लेख गरे ।
भेटमा प्रधानमन्त्री प्रचण्डले म कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु भन्दै सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाल लगायतको टोलिले प्रधानमन्त्रीसँग भेट गरेको थियो ।