दुवै खुट्टा विना सगरमाथाको सफल आरोहण गरेको हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल आरोहण गर्दा व्यहोर्नुपर्ने प्रकियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताएका छन् । सगरमाथाको आरोहण पछि काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दे उनले उक्त कुरा बताएका हुन् ।
पूर्वगोर्खा सैनिक हरि बुढामगरले पत्रकार सम्मेलन मार्फत सगरमाथा चढ्दाको अनुभव बताउँदै अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताए ।
हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा काम गर्ने लक्ष्य रहेको र अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्न लागि पर्ने उनको भनाई थियो ।
उनले आफ्नो अनुभव सुनाउँदै सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना भएपनि मौसम खराबीको कारण सफल हुन नसकेको बताए । साथै शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव भएको बताएका थिए ।
सगरमाथा चढ्ने क्रममा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको बताउँदै आरोही बुढामगरले दुवै खुट्टा गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको बताए ।
आरोही बुढामगरलाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले खादा ओडाएर सम्मान गरेका थिए । सगरमाथाको सफल आरोहण पछि काठमाण्डौं फर्किएका बुढामगरलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समेत भव्य स्वागत गरेको थिए ।