प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आगमी जेठ १७ गते भारत भ्रमणमा जाने तयारी सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते देखि २० गतेसम्म ३ दिनका लागि भारत भ्रमणमा जाने लगभग तय भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी रहेको बुझिएको छ । भ्रमणका क्रमणका क्रममा छलफल गर्ने विषयमा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गरेको बताइएको छ ।
त्यसैगरि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशको सहमतिमा चाँडै नै मिति तय बताइएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएदेखि नै भारत भ्रमणको चर्चा चलेपनि नेपालमा राजनीतिक स्थिरता हुन नसकेको कारण भारत भ्रमण ६ महिना ढिलो भएको थियो ।