सुनकोशी तेश्रो जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा जारी नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा बंगलादेशले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने निर्णय गरेको हो ।
आगमी ६ महिनाभित्र नेपाल र बंगलादेशले हस्ताक्षर गरेर सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको छ ।
सुनकोशी तेश्रो जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त हस्ताक्षर हुने ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा ६८३ मेगावाटको जलाशययुक्त सुनकोशी तश्रो जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको बताइएको छ । यो आयोजनाबाट वाषिर्क रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुनेमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने अनुमान छ ।
२०७९ भदौ पहिलो साता आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले स्थलगत अवलोकन भ्रमण गरेका थिए ।
भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिवरहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माणअघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताएका थिए ।
सुनकोशी तेस्रो मात्र नभई १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत लगानी गर्न बंगलादेश इच्छुक रहेको सचिव हबिबुर रहमानले बताएका थिए । साथै २०७५ साउन २५ गते भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि नेपालले बंगलादेशसमक्ष ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव गरेको थियो ।