नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो बेलुकी पक्राउ परेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।
काठमाडौंको बुढानीलकण्ठ पासीकोटबाट पक्राउ परेका रायमाझीलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । छोरा सन्दिप पक्राउ परे पनि पक्राउ पूर्जी जारी भएपछि टोपबहादुर भने फरार रहेका थिए ।
टोपबहादुर रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । सोही आरोपमा पक्राउ परेको उनलाई अदालतले म्याद दिएपछि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । उक्त शरणर्थी प्रकरणमा उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन भने पक्राउ परेकाहरु माथि जिल्ला अदालतबाट म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।