भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँचसय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् । अहिलेको आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले उक्त कुरा बताएका हुन् ।
उनले ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्दा बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिने र भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी समेत गरेका छन् । उनले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र बिचौलियाले बोरामा लुकाएर राख्ने गरेको बताए ।
सदस्य देवकोटाले घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाएर राखेकाले अहिले अर्थतन्त्रमा समस्या आएको हो भन्दै रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् भनि माग गरेका छन् । बजारबाट सबै नोट खिच्नसके यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको उनको भनार्य थियो । नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारी मात्रामा घटेको, उद्योगी व्यवसायी धराशयी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए ।
सदस्य देवकोटाले आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको समेत उल्लेख गरेका छन् ।