आगमी आर्थिक वर्षको बजेट जनतामुखी बनाउन नेपाली काँग्रेसका सांसदहरुले जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित बजेट बनाउन सांसदहरुले नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सुझाव दिएका हुन् ।
गत सोमवारबाट संघीय संसद भवनमा शुरु भएको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । बैठकपछि सञ्चारकर्मीहरसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै बैठक केन्द्रित भएको बताए । उनले सानो पूँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउँदै बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय सहित माग राखेको बताए ।
बजेट महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा केन्द्रित हुनुपर्ने सांसदहरुको सुझाव थियो । उक्त बैठकमा अर्थमन्त्री डा. महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए ।