निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने हल्ला सेलायो, माघ १ गते लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट निर्माण गर्ने कार्यारम्भ भएको छ। यो उत्तम खबर हो। नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले त्रिभुवन विमानस्थल जत्तिकै ३ हजार मिटर लामो धावनमार्गसहितको सुविधा सम्पन्न एयरपोर्ट बनाउन काम थाल्नुले हवाई उद्योगमा निकै हौसला बढेको देखिन्छ। एयरपोर्टमा हुनुपर्ने सुरक्षा पोस्ट, कार्गौ भवन, एयरपोर्ट एक्सेस सडक, बाह्य सडक, अग्नि नियन्त्रण भवन, मर्मसम्भार भवन, फ्यूल सेन्टर लगायतका जे जति विषयहरुको आवश्यकता हुनेछ, ती सबै निर्माण कम्पनीले बनाइदिन मञ्जुरी गरेको छ। यसको अर्थ त्रिभुवन विमानस्थल बाहेक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अर्को वैदेशिक ढोका हुनेछ। यो विमानस्थल निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरु सिधै आउन सक्नेछन् भने अनेक कारणले काठमाडौं अवतरण हुन नसकेर डाइभर्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय विमानहरुलाई नेपालमै लैण्ड गर्न दिने थप सुविधा प्राप्त हुनेछ। यो विमानस्थल निर्माण गर्न आगामी सन २०१७ अर्थात ३ वर्ष पनि लाग्नेछैन। एडीवी, ओएफआइडी र नेपाललगायतको लगानी रहने यो निर्माणमा ६ अर्व २२ करोड रुपैयाँ लगानी हुनेछ र स्पेनको ठेकेदारलाईसमेत उछिनेर चिनियाँ कम्पनीले यो निर्माण कार्यको जिम्मेवारी पाएको हो। सोझै विदेशीहरुलाई लुम्बिनीसँग जोड्ने भएकाले नेपालको पर्यटन उद्योगका लागि लाइफ लाइन मानिएको छ। तर, चीनका लागि यो सबैभन्दा महत्वपूर्ण योजना हो। चीन जसरी पनि नेपालको पर्यटन, निर्माण, हाइड्रोलगायतका क्षेत्रमा लगानी गर्न चाहन्छ र सकभर नेपाल–भारत सीमामा हुने कुनै पनि उद्यम आफैले गरिदिन चाहन्छ। केही समयदेखि चीन आक्रामक आर्थिक लगानी गर्ने उद्देश्यसहित नेपाल प्रवेश गरेको छ। हो, चीन तिब्बतको सुरक्षाका लागि नेपाललाई अहं मान्छ तर क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रतिस्पर्धामा अब्बल हुनका लागि समेत चीन नाफा भन्दा पनि आफ्नो प्रभावशाली उपस्थिति नेपालमा देखाउन खोजिरहेको छ। खुला रुपमा चीनले भनेको छ– चीनको विकासको लाभ नेपालले उठाउन सक्नुपर्छ। हामी नेपाललाई सन २०२२ सम्ममा विकाशशील हुने लक्ष्यमा सघाउन चाहन्छों। चीनका विदेशमन्त्रीले समेत नेपाल भ्रमण गरेर ठूलै धनराशीको सहयोग दिएर गएका छन् र चीनका राष्ट्रपति नै नेपाल आउने कार्यक्रम बन्दै गएको छ। मात्र नेपालको राजनीतिक अस्थिरताले त्यो कार्यक्रमलाई रोकिरहेको हो। नेपाली नेताहरुले स्थिरता दिने हो भने नेपाललाई सहयोग गर्न विश्व प्रतिस्पर्धा सुरु भइसहेको छ। दिनेले दिन खोजेरमात्र के गर्ने, हामी लिन तैयार छैनौं भने? नेपाललाई प्रगतिपथमा लाने राजनीतिक इच्छाशक्ति ब्यूँझनै सकेन।


